एप्पलले सार्वजनिक गर्‍यो साढे ४ लाख मूल्यको भिजन प्रो हेडसेट

आईओएस १७, म्याकबुकका पछिल्ला भर्सन, एआई रिसर्च सेन्टर स्थापनाको घोषणा
एजेन्सी

काठमाडौँ — कुपर्तिनो, क्यालिफोर्नियास्थित आफ्नो मुख्यालय एप्पल पार्कमा आयोजित वार्षिक वर्ल्डवाइड डेभलपर्स कन्फेरेन्समा एप्पलले ३ हजार ४९९ अमेरिकी डलर पर्ने मिक्स्ड-रियलिटी हेडसेटसहित आईओएस १७, म्याकबुक कम्प्युटरका पछिल्ला भर्सनलगायत प्रविधि सार्वजनिक गरेको छ ।

एप्पलले सार्वजनिक गर्‍यो साढे ४ लाख मूल्यको भिजन प्रो हेडसेट

निकै हल्लाखल्ला र उत्सुकताबीच अर्को वर्ष बजारमा ल्याउने भनिएको यो भर्चुअल रियालिटी हेडसेटमार्फत टीभी हेर्न, फेसटाइम गर्न र एक्सेल स्प्रीडसिट पढ्न मात्रै नभएर अन्य एपहरूमा जान र ईमेलसमेत लेख्न/पठाउन सकिने एप्पल प्रमुख टिम कुकको दाबी छ । एप्पल वाच र एअरपडबाहेक लगभग एक दशकमा कुनै उल्लेख्य नयाँ उत्पादन सार्वजनिक नगरेको एप्पलले आफ्नो भिजन प्रो हेडसेटलाई 'अगमेन्टेड रियालिटी' को संज्ञा दिएको छ । यो उत्पादन कता-कता स्की खेलको क्रममा लगाइने गगल्सजस्तो देखिन्छ ।

बजारमा अहिले उपलब्ध अन्य भर्चुअल रियालिटी हेडसेटभन्दा उल्लेख्य महँगो देखिएको यो उत्पादनले प्रयोगकर्ताको वरिपरिको वातावरण र भर्चुअल रियालिटीलाई मिसाएर नयाँ अनुभव दिने र फरक रूपमा इमर्सिभ वातावरणमा सिनेमाको अनुभव गर्न मिल्ने उत्पादकको दाबी छ । मेटाले केही समयअघि सार्वजनिक गरेको यस्तै भर्चुअल रियालिटी हेडसेटको मूल्य ४४९ अमेरिकी डलर छ । न्युयोर्क टाइम्सले एप्पलको यो घोषणालाई मेटाभर्समा एप्पलको औपचारिक प्रवेशको रूपमा विश्लेषण गरेको छ ।


सोही समारोहमा एप्पलले आफ्नो सफ्टवेयर आईओएस १७ को पनि घोषणा गरेको छ । केही महिनापछि प्रयोगकर्तामाझ उपलब्ध हुने र हाल बेटा भर्सनमा रहेको यो पछिल्लो आईओेएसले संचारका कल, कन्ट्याक्ट, म्यासेज, टाइपिङलगायत एकदमै आधारभूत पक्षहरूको सुधारमा जोड दिएको कम्पनीले जनाएको छ । नेमड्रप, जर्नल एप सम्बन्धी फिचर थपिएको यो भर्सनमा स्ट्यान्डबाइजस्ता बजारमा यसअघि नै आइसकेका फिचरहरूलाई पनि समावेश गर्ने एप्पलको योजना छ । साथै, अटोकरेक्ट फिचरले च्याटजीपीटीजस्तै ल्याङ्वेज मोडलमा आधारित सुझाव दिनसक्ने जानकारी कार्यक्रममा गराइएको थियो ।

यसअघि नै उपलब्ध आफ्ना उत्पादनहरूमा नयाँपन दिने क्रममा एप्पलले नयाँ म्याकबुक एअर, म्याक स्टुडियो र म्याकबुक प्रो कम्प्युटरहरू सार्वजनिक गरेको छ । आफ्नो चिरपरिचित १३ इन्चको म्याकबुक एअरको सट्टा १ हजार २९९ डलर मूल्यको १५ इन्चको म्याकबुक एअर बजारमा ल्याउने घोषणा एप्पलले गरेको छ । यस्तै, अझै सुधारिएको १ हजार २९९ अमेरिकी डलर मूल्य पर्ने सानो आकारको म्याक स्टुडियो, एटके भिडियोलगायत अत्यन्तै जटिल ग्राफिक्स प्रोसेस गर्न उपयोगी ६ हजार ९९९ डलरको म्याक प्रो अल्ट्रा मेसिन सो अवसरमा सार्वजनिक गरिएको थियो । यीमध्ये धेरैमा एप्पलले आफ्नो पछिल्लो एमटू चिप प्रयोग गरेको जानकारी दिएको छ । यस्तै, एप्पल वाचमा भने प्रयोगकर्ताको मानसिक वा शारिरीक स्वास्थ्यसम्बन्धी नयाँ फिचरहरू थपिएको र प्रयोगकर्ता तनावमा रहँदा जानकारी दिनेगरी सुधार गरिएको कम्पनीले दाबी गरेको छ ।

सो कार्यक्रम भइरहँदा एप्पलको सेयर मूल्यमा केही गिरावट आएको थियो । झन्डै डेढ लाख व्यक्तिले प्रत्यक्ष सहभागिता जनाएको भनिएको यो समारोहमा लगानीकर्ताहरूले नयाँ म्याकबुक एअर वा नयाँ आइप्याड प्रो लगायत नयाँ हार्डवेयर प्रोडक्टहरू सार्वजनिक हुने अनुमान गरेका थिए । तर सफ्टवेयर-केन्द्रित रहने डेभलपर्स कन्फरेन्समा सीमित मात्रा र उच्च मूल्यको हार्डवेयर सार्वजनिक हुनु, आर्थिक मन्दी र एप्पलको आयवृद्धि अपेक्षाकृत नहुँदा सेयर मूल्यमा सानो अंकले गिरावट आएको थियो ।

कार्यक्रममा एप्पलले आर्टिफिसियल इन्टेलिजेन्स रिसर्च सेन्टर र एआई फाउन्डेसन स्थापना गर्ने घोषणा गर्नुका साथै आईओएस १६ मा सीरीमा प्राइभेसीसम्बन्धी थप सुरक्षा, हेल्थ र होमकिट एपमा रहने वैयक्त्तिक विवरण र अन्य एपहरूले संकलन गर्ने डेटाको सुरक्षाबारे थप प्रबन्धहरू गरिने बताएको छ । आफ्ना सिस्टम र प्रोडक्टहरूमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढाइरहेका एप्पललगायत प्रविधि कम्पनीहरूलाई पछिल्लो समय विभिन्न सरकारहरूले सम्भावित जोखिमबारे सतर्क रहन र सावधानी अपनाउन निर्देशन दिइरहेका छन् ।

प्रकाशित : जेष्ठ २३, २०८० ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?