साउदी अरेबियाद्वारा तेल उत्पादनमा कटौती, अन्तर्राष्ट्रिय बजारमा महँगियो

एजेन्सी

काठमाडौँ — कच्चा तेल निर्यातमा सबैभन्दा ठूलो मुलुक साउदी अरेबियाले उत्पादनमा कटौती घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्न थालेको छ । साउदी अरेबियाले जुलाइ महिनामा तेल उत्पादन दैनिक १० लाख ब्यारेल कटौती गर्ने घोषणा गरेको छ ।

साउदी अरेबियाद्वारा तेल उत्पादनमा कटौती, अन्तर्राष्ट्रिय बजारमा महँगियो

कच्चा तेल उत्पादक मुलुकहरुको संगठन ओपेक प्लसले उत्पादन कटौतीबारे निर्णय गर्न नपाउँदै साउदीले कटौतीको निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागेपछि साउदी अरेबियाले मूल्यमा स्थिरता कायम गर्ने उद्देश्यले उत्पादन कटौतीको निर्णय गरेको जनाएको छ । यो निर्णयलाई ऊर्जा विश्लेषकहरुले उपयुक्त कदमका रुपमा प्रतिक्रिया दिएका छन् । ‘साउदी अरेबियाले तेलको मूल्य धेरै झर्नबाट जोगाएको छ, यसले तत्काललाई तेल बजारको संभावित संकट टार्न पनि सहयोग गर्छ’ कमनवेल्थ बैंक अफ अस्ट्रेलियाका विवेकधरले रोयटर्सलाई भनेका छन् ।

साउदी अरेबियाको यो निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ केही बढ्न सक्ने विश्लेषकहरुको अनुमान छ । सोमबारदेखि नै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा सोमबार कारोबार भइरहँदा (साँझ ६ बजे) कच्चा तेलको मूल्य २.६ प्रतिशतसम्म बढेको छ । डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७३.६ डलर तथा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७७.९ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपाललाई समेत असर पार्दछ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई प्रत्येक १५–१५ दिनमा प्रशोधित तेलको नयाँ मूल्यसूची पठाउने गरेको छ । आईओसीले पठाउने मूल्य कच्चा तेलको मूल्यमा पनि निर्भर रहन्छ । कच्चा तेलको मूल्य घट्दै जाँदा निगमलाई पनि मूल्य घटेर आउने र बढ्दा बढेर आउने गर्छ । आईओसीले पठाएको सूचीअनुसार नै निगमले उपभोक्ताका लागि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दछ ।

प्रकाशित : जेष्ठ २२, २०८० १८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?