कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

गाउँगाउँमा कुटीर उद्योग

डीआर पन्त

डडेलधुरा — नारद जोशी हरेक दिन ७ किलोसम्म लोक्ता कुटेर सुकाउँछन । सात किलो लोक्तामा मुस्किलले एक किलो नेपाली कागज बन्छ । प्रकृया पनि लामो छ । उनीसँग कागज बनाउने आधुनिक मेसिन छैन । हातले नेपाली कागज बनाउने सामग्री उनले दुई लाख आफैं लगानी गरेर खरिद गरेका हुन् ।

गाउँगाउँमा कुटीर उद्योग

एक वर्षदेखि उनले हरेक महिना ४० किलोसम्म कागज उत्पादन गर्न थालेका छन् । उनले उत्पादन गरेको नेपाली कागज बिक्री गर्न भने दौडधुप गर्नु पर्दैन । ‘आधुनिक मेसिन भए बर्षमा दुई/चार लाख कमाउन सकिन्थ्यो’ जोशीले भने ‘महाभारतको यो जंगलमा लोक्ता जति पनि छ, तर हातले कागज बनाउँदा समय र परिश्रम निकै बढी लाग्छ ।’ हातले उत्पादन गरेको कागजले घर खर्च र नुन तेल चलेको उनले बताए । महाभारतको सबैभन्दा उचाइमा रहेको उनको गाउँ लेकुडा आसपासको जंगलमा लोक्ता जति पनि छ, पर्याप्त सदुपयोग हुन सकेको छैन ।

मनकुमारी बुढाले अल्लो प्रशोधन गरेर धागो बुन्न थालेको एक वर्ष भएको छ । एक वर्षदेखि उनले अल्लोको धागोमाक्र बनाएर बित्री गर्थिन् । तर यस पटक गाउँपालिकाले अढाइ महिनाको कपडा बुन्ने तालिम दिएपछि डडेलधुराको भागेश्वर गाउँपालिका १ पुवालेककी बुढासँगै गाउँका एक दर्जन अरु महिलाले पनि अल्लोको कपडा बुनेर आम्दानी गर्न थालेका छन् । जनजातिमात्र बसोबास गर्ने पुवालेकमा अल्लोबाट बनेको कपडा बिक्री गर्ने व्यवस्था गाउँपालिकाले गरिदिएको छ । आधुनिक मेसिन, तालिम र बिक्रीवितरणको व्यवस्था पालिकाले गरेपछि जिल्लाको सबैभन्दा दुर्गममा रहेको पुवालेकका जनजाति बेफुर्सदी भएका छन् । कोही अल्लो काटेर ल्याउँछन्, कोही अल्लो सोहर्ने काम गर्छन् भने पालैपालो गरेर मेसिनमा धागो र कपडा बुन्ने गर्छन् ।

भागेश्वर गाउँपालिकाकाको महाभारत क्षेत्रको अर्को ३ नम्वर वडाका बासिन्दाले भने निगालोका डोका, डाला र सामग्री बनाउने कुटीर उद्योग सुरु गरेका छन् । जंगलमा पाइने निगालोबाट विगतमा परम्परागत पेशा भएका दलित समुदायले मात्र डोका, डालो र अन्य सामग्री बनाउने गर्थे । गाउँपालिकाले महाभारत क्षेत्रका बासिन्दालाइ प्रशिक्षण दिएपछि अहिले वडा नम्वर ३ को माथिल्लो भेकका गाउँमा निगालोबाट विभिन्न सामग्री बनाउने आधा दर्जन बढी समूहमा आधारित कुटीर उद्योग स्थापना भएका हुन् ।

‘पालिकाले दिएको तालिम र सहजीकरणपछि काम सुरु गरेको छोटो अवधि मात्र भएको छ’ भागेश्वर ३ लेक गाउँका धनबीर थापाले भने ‘बाहिरबाट व्यापार गर्न आउनेभन्दा गाउँमै उत्पादन भएका सामग्री आधाभन्दा बढी सस्तो मूल्यमा बिक्री गर्न सकिने रहेछ ।’ जंगलमा कच्चा पदार्थ जति पनि छ, समुदायमा सबैले मिलेर काम गर्दा उत्पादन पनि सस्तो हुने र बिक्री पनि सहज हुने उनको अनुभव छ ।

संघ, प्रदेश र स्थानीय तहबाट बर्सेनि करोडौं अनुदान लिएर राजनैतिक कार्यकर्ताले स्थापना गरेका ग्रामीण उद्योग खोजेर पनि भेटिँदैनन् । तर भागेश्वर गाउँपालिकाको महाभारत क्षेत्रका बासिन्दाले भने पालिकाले दिएको प्रशिक्षणको भरमा आफ्नै लगानीमा गाउँ/गाउँमा उदारहणीय रुपमा कुटीर उद्योग स्थापना गरेर आयआर्जन गरेका छन् । गाउँपालिकाले बाहिरबाट कच्चापदार्थ आयात गर्न नपर्ने खालका कुटीर उद्योगलाई प्रोत्साहन दिने नीति लिएपछि एक वर्षयता महाभारत वन क्षेत्रका बासिन्दाले गाउँबस्तीमा दर्जनौं यस्ता कुटीर उद्योग स्थापना गरेका हुन् । अल्लो, लोक्ता, निगालो, सिस्नो, झ्याउ जस्ता गाउँघरमै पाइने स्रोतबाट आयआर्जनका कार्यक्रम सुरु गर्न अनुसन्धान गरेर पालिकाले नीति बनाएपछि स्थानीय पनि उत्साहित भएर लागेका छन् । ‘सामुदायिक वनबाट निकै कम मूल्यमा कच्चापदार्थ ठेकेदारहरुले लैजाने गरेका थिए’ वडा नम्वर २ का अध्यक्ष उपेन्द्र जोरा भन्छन् ‘सामान्य प्रयासले गाउँमै यसको सदुपयोग गरेर आयआर्जन कार्यक्रम गर्न सकिने भएपछि कुटीर उद्योग सुरु गरिएका हुन् ।’


पहिलो चरणमा विभिन्न कुटीर उद्योगका लागि प्रशिक्षण दिएर उत्पादन सुरु गरिएको छ । ‘कसले कति उत्पादन गर्छ उत्पादनलाई आधार मानेर अनुदान दिने कार्यक्रम रहेको छ । पहिलो चरणमा उत्साहपूर्वक उत्पादन सुरु भएको छ’ भागेश्वर गाउँपालिकाका कार्यकारी अधिकृत खगेन्द्र भारतीले भने ‘अल्लो र सिस्नोको कपडा, धागो, निगालोवाट बनेका सामग्री, हाते कागज बजारीकरण गर्ने काम पनि पालिकाले आफै गर्ने भएकाले कुटीर उद्योगीलाई कुनै समस्या हुँदैन ।’

अहिले विभिन्न गाउँमा अल्लोको धागो र कपडा उत्पादन सुरु भइसकेको छ । पहिलो चरणमा उत्पादन भएको अल्लोको कपडा, रुमाल, झोला बजारमा पुगिसकेका छन् । भागेश्वर गाउँपालिकाले कच्चापदार्थ आयात गर्न नपर्ने कुटीर उद्योग सुरु गरेपछि महाभारत क्षेत्रका आलीताल र गन्यापधुरा गाउँपालिकाले पनि यस्ता कुटीर उद्योग सुरु गर्न थालेका छन् । दुवै पालिकाले यसै आर्थिक वर्षदेखि महाभारत वन क्षेत्रमा पाइने कच्चापदार्थमा आधारित उद्योगका लागि नीतिगत रुपमा काम अगाडि बढाएको जानकारी दिएका छन् ।

स्थानीयतहले आयआर्जनका कार्यक्रम सुरु गरे पनि सरकारी निकाय भने कानुनी झन्झट देखाएर समस्या सिर्जना गरिरहेको गुनासो कुटीर उद्योगीको छ । वन क्षेत्रमा आधारित उद्योग भएकाले वन डिभिजन कार्यालयहरुले कच्चापदार्थ बाहिर लैजानेहरुसँग मिलेमतो गरी समस्या उत्पन्न गर्न थालेको उद्योगीको अनुभव छ । ‘मैलै हाते कागजको लघु उद्योग स्थापना गर्न खोज्दा वन डिभिजनले निकै दुःख दियो’ बर्तोला नेपाली हाते कागज उद्योगका सञ्चालक नारद जोशीले भने ‘राजनैतिक पहुँच भएपछि जे गर्दा पनि हुने तर आफ्नै वन जंगलमा भएको स्रोतबाट उद्योग स्थापना गर्न खोज्दा डडेलधुराको वन डिभिजनले दिएको दुःख बिर्सन सकिँदैन ।’

‘वनवाट उद्योग दर्ताका लागि चाहिने सिफारिस लिन चार महिना भन्दा बढी लागेको उनले गुनासो गरे । पालिकाले हस्तक्षेप गरेपछि मात्र उद्योग दर्ताको सिफारिस पाइएको पनि उनले बताए । कानुनी झन्झट हुन नदिन पालिकाको वन डिभिजन र आवश्यक परे प्रदेश वन मन्त्रालयसँग नै समन्वय गर्ने भागेश्वर गाउॅंपालिका अध्यक्ष हेमराज चटौतले बताए । ‘सहज तरिकाले ग्रामीण क्षेक्रका बासिन्दा आयआर्जनका कार्यत्रममा जोडिएका छन्, उपलब्धी पनि देखिएको छ’ उनले भने । सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रबाट प्राप्त हुने कच्चापदार्थ स्थानीयले सहज रुपमा प्राप्त गर्न प्रदेश वनमन्त्रालयसँग समन्वय भइसकेको पनि अध्यक्ष चटौतले बताए । उनले भने ‘कानुनी समस्या भएपनि त्यसलाई प्रदेश सरकारबाट सहज तुल्याउने गरी प्रदेश मुख्यमन्त्रीसँग कुराकानी भइसकेको छ ।’


प्रकाशित : जेष्ठ २१, २०८० १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?