कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षा नहुँदा धानको बिउ राख्न पाएनन् किसान 

नवीन पौडेल

नवलपुर — वर्षा नहुँदा पूर्वी र पश्चिम नवलपरासीका किसानले धानको बिउ राख्न पाएका छैनन् । जेठको तेस्रो साता सकिँदा समेत बिउ राख्न नपाएपछि किसान चिन्तित छन् । असारको पहिलो सातासम्म बिउ नछर्ने हो भने रोपाइँ ढिलो हुने र उत्पादनमा ह्रास आउने उनीहरूको भनाइ छ ।

वर्षा नहुँदा धानको बिउ राख्न पाएनन् किसान 

‘जेठ महिनाको मध्य समयमा वर्षा हुनुपर्ने हो । केही वर्षअघि आकासे पानीको भरमा धानको बिउ राख्ने गरिन्थ्यो, अहिले खडेरी पर्यो’ कावासोती १७ का नारायण पौडेलले भने, ‘सिचाइँ सुविधा हुनेले राखेको बिउ पनि चर्को घामले पानी तातेर उम्रनेमा शंका छ ।’ एक हप्ता देखि चर्को घाम र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ । यसको प्रत्यक्ष प्रभाव किसानलाई परेको हो ।

धान रोप्न ढिलाई हुँदा उत्पादन राम्रो नहुने किसानको अनुभव छ । कृषि ज्ञान केन्द्र कावासोतीका प्रमुख गोपाल शर्मा लामिछानेका अनुसार धानको बिउ राख्ने समयमा पानी नपर्नु र अत्याधिक गर्मी बढ्नाले खेतीपातीमा समस्या भएको छ । पम्पबाट पानी तानेर सिचाइँ गर्नलाई नदी तथा तलाउको सतह घटेको छ, वर्षातको पानी नपरेका कारण किसान समस्यामा परेको लामिछानेले बताए । अब एक साता पानी नपर्ने हो भने रोपाइँको उपयुक्त समय नै घर्किने उनले बताए । पूर्वी नवलपरासीमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । एक वर्षमा असार र चैत गरेर दुई पटकसम्म किसानले धान खेती गर्ने गर्दछन् ।


प्रकाशित : जेष्ठ २१, २०८० १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?