३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सुर्तीजन्य पदार्थमा कर बढाउन माग 

काठमाडौँ — सरोकारवालाहरुले सुर्तीजन्य पदार्थमा कर बढाउन माग गरेका छन् । विश्व धुम्रपानरहित दिवसको अवसरमा बुधबार एक्सन नेपालले आयोजना गरेको कार्यक्रममा सुर्तीजन्य पदार्थमा गत वर्षभन्दा करिब ५ प्रतिशतले करको दर घट्ने देखिएपछि सरोकारवालाहरुले विरोध जनाएका हुन् । 

सुर्तीजन्य पदार्थमा कर बढाउन माग 

हरेक वर्ष मे ३१ का दिनमा विश्व धुम्रपानरहित दिवस मनाइन्छ । यो वर्ष विश्व स्वास्थ्य संगठनले ‘हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन’ भन्ने मूल नारा राखिएको छ ।

विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्न कम्तीमा ७५ प्रतिशत कर लगाउनु पर्छ भनेको छ । एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले नेपालले बढाउनु पर्ने करको दर झन् घटाउन थालेको बताउँदै भने, ‘सरकारले कुपोषण खाद्य सुरक्षा सुधार र थप पौष्टिक खाद्य उत्पादन गर्नेतिर ध्यान नदिई सुर्तीजन्य पदार्थको उत्पादन तथा उपभोगलाई संरक्षण गर्ने नीति अवलम्बन गरेको देखिन्छ ।’

उनकाअनुसार बजेटमा ज्यादै न्यूनरुपमा (२.५ देखि ४ प्रतिशतसम्म) कर वृद्धि गरेको देखिए पनि मुद्रास्फिति दर ७.८ प्रतिशतले वृद्धि हुँदा करको दर घट्ने भएको हो । यसअघि पनि दक्षिण एशियामा सबैभन्दा कम कर (३३.२५ प्रतिशत) लगाउने नेपाल नै रहेको थियो । ‘सरकारले यसपटकको बजेट भाषणद्वारा अवलम्बन गरेको नीतिले खाद्यान्न झन् झन् महँगो हुँदै जाने र सुर्तीजन्य पदार्थको मूल्य झन् सस्तिदै जाने अवस्था सिर्जना गरेको छ । यसलाई सच्याइनुपर्छ,’ चन्दले भने ।

सुर्तीजन्य पदार्थको सेवनले विश्वमा हरेक वर्ष ८० लाखभन्दा बढी मानिसहरुको मृत्यु हुने विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को‌ सर्वेक्षण २०१९ काअनुसार नेपालमा कुल जनसंख्याको झण्डै २९ प्रतिशत मानिस धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्छन् ।

सुर्तीजन्य पदार्थको खेती गर्दा, उत्पादनको क्रममा र प्रयोगपश्चात् उत्सर्जन हुने फोहरले जल, वायु र जमिन प्रदूषित हुन्छ र मानव स्वास्थ्यको साथै समग्र वातावरणमा प्रतिकूल प्रभाव पार्दछ ।

प्रकाशित : जेष्ठ १७, २०८० १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?