स्मार्ट टेलिकम अगाडि सिम र रिचार्ज कार्ड फालेर बिक्रेताले गरे प्रदर्शन

काठमाडौँ — स्मार्ट टेलिकमका सिम र रिचार्ज कार्ड बिक्रेताले बुधबार कम्पनीको कार्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । उनीहरूले स्मार्टका नयाँ सिमकार्ड र रिचार्ज कार्ड भुइँमामा फालेर विरोध जनाएका हुन् । स्मार्टको नेटवर्क बन्द भएपछि
आफूहरूले खरिद गरेको रिचार्ज र सिमकार्ड बिक्री नभएको र कम्पनीले क्षतिपूर्ति नदिँदा लगानी डुब्ने अवस्था आएको भन्दै व्यवसायी र विक्रेता आन्दोलनमा छन् ।

स्मार्ट टेलिकम अगाडि सिम र रिचार्ज कार्ड फालेर बिक्रेताले गरे प्रदर्शन

'यी काम नलाग्ने रिचार्ज र सिमकार्ड अब हामीले के गर्ने ?' विरोधमा सरिक सिन्धुलीका बिक्रेता गोविन्द घिमिरेले भने, 'आन्दोलनमा आउने हामी सबैसँग दुई /तीन लाख रूपैयाँ बराबरको कार्ड छ । स्मार्ट टेलिकम बन्द भएपछि ती कार्ड के गर्ने ? एक/दुई महिना सेवा बन्द नगरिदिएको भए रिचार्ड कार्ड बिकेर प्रयोग पनि भइसक्थे ।' स्मार्ट टेलिकमको रिचार्ज तथा सिम कार्ड बेच्ने आधिकारिक बिक्रेता घिमिरेले आफूहरू सरोकारवाला सबै निकायहरूमा धाइसक्दा पनि कुनै सुनुवाइ नभएको बताए । सेवा सञ्चालनमा ल्याइदिए मात्रै पनि समस्या समाधान हुने उनको भनाइ छ ।

अनुमतिपत्र नवीकरण नगरेर खारेजीमा परेको स्मार्टलाई नियामक नेपाल दूरसञ्चार प्राधिकरणले वैशाख २१ मा नियन्त्रणमा लिएको थियो । कम्पनीको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल प्राधिकरणको अधिनमा आए पनि कम्पनीले संस्था/सर्वसाधारण व्यक्तिलाई तिर्न/बुझाउन बाँकी बक्यौता भने स्मार्ट स्वयंले व्यहोर्नुपर्ने प्राधिकरणको ठहर छ । प्राधिकरणले अनुमति पत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम स्मार्टको सम्पत्ति नियन्त्रणमा लिएको हो । प्राधिकरणले नियन्त्रणमा लिने भएपछि स्मार्टको सेवा माघदेखि नै अवरुद्ध हुन थालेको र अहिले ठप्प नै रहेको व्यवसायी बताउँछन् ।

'सम्पत्ति र पूर्वाधार सबै प्राधिकरणको नियन्त्रणमा आउने तर बक्यौता भने कम्पनीले नै तिर्नुपर्ने कस्तो व्यवस्था हो ?' अर्का बिक्रेता पवन सापकोटा भन्छन्, 'प्राधिकरणले स्मार्टसँगै सहमति गर भन्छ । स्मार्टले आफ्नो बैंक खाता प्राधिकरणको अधिनमा गइसकेकाले केही गर्न सकिँदैन भन्छ । हामी सञ्चार मन्त्रालयमा समेत गयौं । तर एकले अर्कोलाई देखाएर हाम्रो समस्या समाधान गरिरहेका छैनन् ।'

बिक्रेताहरूले 'रिचार्ज कार्ड फिर्ता लेऊ, स्मार्टको नेटवर्क खुलाऊ, सम्पत्ति व्यवस्थापन नियमावली खारेज गर' भन्दै नारा लगाएका थिए । स्मार्टका अधिकारीलाई नभेटेसम्म जिल्ला नफर्किने उनीहरूको भनाइ छ । बिक्रेताले यसअघि स्मार्ट टेलिकमका अध्यक्ष सर्वेश जोशीको घर घेराउसमेत गरेका थिए । 'उनले थन्किएका रिचार्ज कार्डको सिरियल नम्बर लिएर आऊ, पैसा फिर्ता गरिदिन्छौं भनेका थिए तर आज देखा परेका छैनन्,' सापकोटाले भने, 'हामीले बिक्री हुन बाँकी कार्डहरू लिएर आएका थियौं । तिनै कार्ड कार्यालयअगाडि फालेका हौं ।' उनका अनुसार करिब ५३ करोड रुपैयाँ बराबरको रिचार्ज तथा सिमकार्ड बिक्रेतासँग फसेको छ ।

प्रकाशित : जेष्ठ १७, २०८० १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?