चक्रपथ दोस्रो खण्ड विस्तारलाई २ अर्ब ७ करोड बजेट 

काठमाडौँ — सरकारले चक्रपथ दोश्रो खण्ड कंलकी–बसुन्धरा विस्तार तथा निर्माणलाई तीव्रता दिने भन्दै २ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अहिले यो खण्डको डिजाइनको काम भइरहेको छ ।

चक्रपथ दोस्रो खण्ड विस्तारलाई २ अर्ब ७ करोड बजेट 

चीन सरकारको अनुदान सहायतामा विस्तार गर्न लागिएको यस खण्डमा सडकले चर्चेको क्षेत्र खाली (साइट क्लियर) गर्ने प्रक्रिया ४ वर्षअघिदेखि नै सुरु भए पनि नसकिँदा थप काम अघि बढ्न सकेको थिएन । साइट क्लियर भए/नभएको सम्बन्धमा मन्त्रीसहितको टोलीले पटक/पटक स्थलगत निरीक्षण गरेपछि डिजाइन अघि बढाइएको हो । तर महाराजगन्जको २ सय ४४ मिटर खण्डमा भने अझै समस्या छ ।

यसमा पछि काम गरिने भएकाले पछि नै समाधान गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । चक्रपथ विस्तारअन्तर्गत नेपाल सरकारले चीनसँग कलंकीदेखि चाबहिलस्थित धोबीखोला पुलसम्मको ११.६ किमि सडक नै विस्तार गर्न आग्रह गरेको थियो ।

चीनसँग सन् २०१८ मा भएको जीटूजी सम्झौतामा भने बसुन्धरासम्म मात्र सडक विस्तार गर्ने उल्लेख छ । सोहीअनुसार चीनले कलंकीदेखि बसुन्धरा कल्भर्टसम्मको २ किलोमिटर खण्डको मात्रै काम गर्ने भएको छ । बाँकी काम तेस्रो चरणको चक्रपथ विस्तारमा समेट्ने सडक विभागले जनाएको छ ।

नेपाल सरकारले दोस्रो चरणमै कलंकीदेखि धोबीखोला (चाबहिल) सम्म निर्माण गर्न माग गरेको थियो । तर चीनले भने यसलाई तेस्रो खण्डमा काम गर्ने उल्लेख गर्दै आएको छ । विनियोजित रकमले नाली, सर्भिस लेन निर्माणलगायतको काम गरिने सडक विभागले जनाएको छ । यसअघि चक्रपथ विस्तारको पहिलो खण्ड कोटेश्वर–कलंकी सडकको चीनले नै ८ लेनमा विस्तार गरिदिएको थियो ।

चीनले ८ लेनमा विस्तार गरेर ०७५ माघमा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो, जसको दूरी १०.३९ किलोमिटर छ । त्यस्तै अर्थमन्त्री प्रकाशशरण महतले आगामी वर्ष ००/८१ को बजेट वक्तव्यमार्फत राष्ट्रिय राजमार्गमा आवश्यकता अनुसार फ्लाई ओभर र अन्डरपास निर्माण गरिने बताए ।

त्यस्तै ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माणलाई तिब्रता दिइने जनाइएको छ । कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डर पास निर्माणको काम अघि बढाइने अर्थमन्त्री महतले बताए ।

प्रकाशित : जेष्ठ १५, २०८० १९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?