८ महिनामा विद्युत् पहुँच १ प्रतिशत मात्र बढ्यो


काठमाडौँ — देशको कुल जनसंख्यामध्ये पाँच प्रतिशतमा अझै पनि बिजुलीको पहुँच पुगेको छैन । ०७९/८० को आर्थिक सर्वेक्षणअनुसार ०७९ फागुनसम्म (वैकल्पिक ऊर्जासहित) ९५.० प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ । ०७९ असारसम्म ९४.० प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको थियो । फागुनसम्म १ प्रतिशत मात्र वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ । ८ महिनामा प्रतिव्यक्ति विद्युत् खपत ३२५ प्रतिघण्टाबाट बढेर ३५१ पुगेको छ ।


०७९ असारमा २१९० कुल जडित विद्युत् क्षमता फागुनसम्म २१.७ प्रतिशतले वृद्धि भएर २६६६ मेगावाट पुगेको उल्लेख छ । जसमा जलविद्युत्बाट २४४९, सौर्य प्लान्टबाट ७५.०४, थर्मल प्लान्टबाट ५३.४, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ८२ र चिनी मिलबाट सहउत्पादन प्रविधिमार्फत ६ मेगावाट विद्युत् उत्पादन गरी २६६६ मेगावाट पुगेको सर्वेक्षणमा उल्लेख छ ।
नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा सञ्चालित विद्युत् परियोजनाबाट ६६१, प्राधिकरणको सहायक कम्पनीमार्फत ४७८ र निजी क्षेत्रबाट सञ्चालित विद्युत् परियोजनाबाट १५२७ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको छ । विद्युत् खपतमा भने गार्हस्थ्यतर्फका ग्राहक धेरै छन् । गत फागुनसम्म ३६.६ प्रतिशत गार्हस्थ्य, ३०.७ प्रतिशत औद्योगिक, ६.७ प्रतिशत व्यापारिक, १५.९ प्रतिशत निर्यात र १०.१ प्रतिशत बिजुली अन्य क्षेत्रमा खपत भएको छ ।
०७९ असारसम्म प्रसारण लाइन (६६ केभी र त्यसभन्दा माथि) ४ हजार ५७३ सर्किट किमि तथा वितरण लाइन १ लाख २३ हजार ५ सय ५७ सर्किट किमि रहेकामा ०७९ फागुनसम्म ५ हजार ६६९ सर्किट किमि वितरण लाइन (३३ केभी र त्यसभन्दा कम) १ लाख ३६ हजार ५ सय ९५ सर्किट किमि पुगेको सर्वेक्षणमा उल्लेख छ । यस अवधिमा भारतबाट १ हजार ११ गिगावाट घण्टा विद्युत् आयात भएको छ भने १ हजार ५३ गिगावाट घण्टा बराबरको बिजुली निर्यात भएको छ ।
प्रकाशित : जेष्ठ १५, २०८० ०७:१७