लिखु-२ आयोजनाको सुरुङमा पानी बन्द गर्न निर्देशन

टीकाप्रसाद भट्ट

रामेछाप — लिखु-२ जलविद्युत् आयोजनाको सुरुङ चुहिएर बस्ती जोखिममा परेपछि विद्युत् विकास विभागले पानी तत्काल बन्द गर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक चिरञ्जीवी चटौतले आइतबार जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी ग्लोबल हाईड्रोपावर एसोसियट लिमिटेडलाई पत्राचार गरी परीक्षणका लागि सुरुङमार्फत पठाइएको पानी केही समयका लागि बन्द गर्न निर्देशन दिएका हुन् ।

लिखु-२ आयोजनाको सुरुङमा पानी बन्द गर्न निर्देशन

आइतबार नै जिल्ला प्रशासन कार्यालय रामेछापले गृहसचिवलाई पत्राचार गरी सुरुङको पानी बन्द गर्न निर्देशनका लागि अनुरोध गरेको थियो ।

एमवी दुगड समूहको लगानीमा संचालित ५५ मेघावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले सुरुङ परीक्षणका लागि पानी हालेपछि रामेछापको उमाकुण्ड गाउँपालिका-१ गुम्देलको पेकरनासमा सुरुङभन्दा तल जताततै पानी चुहिँदा मानव वस्ती उच्च जोखिममा परेको छ । १५ दिनदेखि गाउँभन्दा माथिबाट जताततै पानी निस्किएपछि स्थानीय त्रसित बनेका छन् । उक्त बस्तीमा ४२ परिवार छन् ।

आयोजनाबाट परीक्षणका लागि सुरुङमा पानी हालेपछि घरबस्ती डुबाउने गरी पानी चुहिएको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीय ईश्वरी कार्कीका अनुसार ४२ मध्ये १२ परिवारको घरमा जानेसमेत बाटो छैन । खेतबारी धसिएका छन् । पानी बढ्दै गएकोले उनीहरु घरमा बस्न छाडेका छन् ।

स्थानीयले जलविद्युत् उत्पादक कम्पनीको कार्यालयमा तालाबन्दी गरी तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन् । तर, आयोजनाले उक्त पानी सुरुङबाट चुहिएको नभई मूल फुटेको जवाफ दिएर पन्छिने गरेको स्थानीयको गुनासो छ ।

स्थानीय प्रशासनको आग्रहमा विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणका विज्ञबाट सुरुङ र चुहिएको पानीको अवलोकन गर्ने काम भइरहेको छ । स्थानीयले आइतबारसम्मको अल्टिमेटम दिई प्रारम्भिक प्रतिवेदन दिन टोलीलाई आग्रह गरेका थिए । आइतबार अपराह्नसम्म पनि प्रारम्भिक प्रतिवेदन विज्ञ टोलीले बुझाएका छैनन् । शुक्रबार प्रभावित क्षेत्रमा पुगेर फर्केकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार केही परिवार मर्कामा परेको बताइन् । ‘सुरुङ चुहिएकै हो, त्यो पनि थोरै हैन, ठूलो मात्रामा,’ निरौलाले भनिन्, 'विपतका हिसाबले गाउँ उच्च जोखिममा छ ।'

प्रभावित क्षेत्रमा प्रजिअ पुग्दा आयोजना संचालकहरु सम्पर्कमा आउन नचाहेको, स्थानीय प्रशासनको आग्रहलाई बेवास्ता गरी सुरुङमा पानी हाल्ने कार्य नरोकेको र स्थानीयको समस्यामा आयोजना गम्भीर नभएको आरोप निरौलाले लगाइन् ।

निरौलाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले सुरुङ चुहिँदा बढेको सुरक्षा संवेदनशीलतालाई समेत दृष्टिगत गरी तत्काल आयोजनालाई परीक्षणका लागि पठाइएको पानी बन्द गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही आधारमा सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले गृहसचिवलाई आइतबार निर्देशनका लागि अनुरोध गरेका थिए ।

‘विद्युत् विकास विभागले आयोजना प्रवर्द्धक कम्पनीलाई आइतबार नै निर्देशन दिएको छ,’ घिमिरेले भने, 'यो ठूलो उपलब्धि हो ।' निर्देशनबमोजिम आयोजनाले तत्काल सुरुङमा पानी पठाउन बन्द गर्नुपर्ने र केही दिन चुहिएको पानीको निगरानी गरेपछि थप समन्वय गरेर अघि बढ्ने घिमिरेले बताए ।

स्थानीयले कहिल्यै पानीको मूल नफुट्ने क्षेत्र र पहराबाट समेत पानी झरिरहेकोले बस्ती पहिरोले पुर्ने आशंका गरेका छन् । 'हामीलाई सुरक्षित स्थानमा सारियोस् भन्ने मात्र हाम्रो एक सुत्रीय माग हो,' कार्कीले भनिन् ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले लिखु-२ आयोजनाको कारण स्थानीय बासिन्दाले दुई सातादेखि त्रसित बनिरहेको बताए । 'आयोजना थालेदेखि नै स्थानीयलाई थिचोमिचो थियो,' सुनुवारले भने, 'अहिले त बासै उठाइदिने भयो ।'

प्रकाशित : जेष्ठ १४, २०८० २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?