१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कोटेश्वर-तीनकुने सडक निर्माणमा सरकार रमिते भएर बस्दैन : मन्त्री ज्वाला 

काठमाडौँ — ४८ वर्षदेखि समस्याग्रस्त जडिबुटी–कोटेश्वर–तीनकुने सडक विस्तारमा सरकार रमिते भएर नबस्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताएका छन् । बिहान र साँझको समयमा अत्यधिक ट्राफिक जामका कारण नागरिकले सास्ती खेप्नु परे पनि यो समस्या सुल्झाउन सरकारले ४८ वर्षअघि पहल थालेको थियो । तर अहिलेसम्म समस्या समाधान नहुनुको मुख्य कारण मुआब्जा समस्या रहेको मन्त्रालयले जनाएको छ ।

कोटेश्वर-तीनकुने सडक निर्माणमा सरकार रमिते भएर बस्दैन : मन्त्री ज्वाला 

२०३२ सालमा सडक विस्तारका लागि मुआब्जा वितरण गर्न सूचना प्रकाशित गरेको र सरकारले निर्णय गरेको मुआब्जामा जग्गाधनीले चित्त नबुझाएपछि सडक विस्तारको काम अघि बढ्न सकेको थिएन । करिव पाँच दशक लामो समस्या सुल्झाउन मन्त्री ज्वालाले आइतबारदेखि पहल थालेका हुन् । उनले सडक विस्तार र मुआब्जासँग सम्बन्धित सरोकारवालाहरुसँग सिंहदरबारमा छलफल गरेका हुन् । ‘कुनै पनि देशको अवस्था कस्तो भन्ने थाहा पाउन त्यो देशको सडक र यातायातलाई प्रमुख आधार बनाइन्छ, तर अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिँदै गर्दा ट्राफिक जामको सास्तीले हाम्रो सडक र यातायातको चित्र देखाउँछ’, मन्त्री ज्वालाले भने ,‘यो समस्या समाधान गर्न प्रधानमन्त्रीले पनि उच्च चासो देखाउनुभएको छ, अब रमिते भएर दैनिक लाखौं नागरिकको समस्या हेरिरहन सक्दैनौं ।’

छलफलमा मन्त्री ज्वालासहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव बुद्धबहादुर गुरुङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव नरेन्द्र पौडेल, मन्त्रालयका सहसचिव रघुराम विष्ट, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल लगायतको उपस्थिति थियो । उक्त सडक खण्डको समस्या समाधान गर्न मन्त्री ज्वालाले सम्पर्क व्यक्ति नै तोकेका छन् । सरोकारवाला निकायसँग समन्वय गर्न र आवश्यक पहल कदमी लिन सडक विभागका उपमहानिर्देशक विजय जैशीलाई समन्वय व्यक्ति तोकिएको हो ।

प्रकाशित : जेष्ठ १४, २०८० १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?