कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बगरमा लटरम्म लहरेबाली 

दशकअघिसम्म यहाँका नदीनालाका बगरमा खेती गर्न भारतीय आउँथे, तिनैबाट स्थानीयले खेती गर्न सिके 
भवानी भट्ट

कञ्चनपुर — तराई भूमि, त्यसमाथि जेठ । टन्टलापुर घाम र उखरमाउलो गर्मी स्वाभाविक हो । लालझाडी गाउँपालिका–४ मा पर्ने दोदा नदीको बगरमा टाढैबाट देखिन्छन् फुसका छाप्रा । एउटा छाप्रोमुनि निदाइरहेका थिए ७० वर्षीय दानसिंह गिरी (राना) । वरिपरि लहरे तरकारी बाली लगाइएका छन् । त्यही नगदेबाली रुँग्न रातभरि जाग्राम बस्छन् । दिनमा छाप्रोमुनि निदाउँछन् ।

बगरमा लटरम्म लहरेबाली 

बगरमा गिरीका जस्तै दर्जनौं छाप्रा छन् । सबैका बगरखेती छन् । उनीहरू गिरी जसरी दिनमा सुत्छन् । रातमा जाग्राम बस्छन् । बगरैभरि तरबुजा, लौका, फर्सी, काँक्रा र करेला लटरम्मै फलेका छन् । यतिबेला दोदा बगर यी नगदेबालीले हराभरा छ । गिरी परिवारले एक बिघाभन्दा बढी क्षेत्रमा तरकारी खेती गरेका छन् । सबैभन्दा बढी तरबुजा खेती छ । यतिबेला यी बाली बिक्री गर्न भ्याइनभ्याइ छ । बिहान झिसमिसेमै बारीबाट टिप्ने र गाउँभरि डुलेर बिक्री गर्ने गर्छन् । ‘बिहान टिपेर ट्र्याक्टर भरेर गाउँगाउँ डुलाएर बिक्री गर्छौं,’ दानसिंहका छोरा मोलसिंहले भने, ‘बुवाले बारी कुर्छन्, हामी बिक्री गर्छौं ।’

तराईमा गर्मी बढेसँगै तरबुजाको माग बढिरहेको छ । मोलसिंह बिहानै ट्र्याक्टर भरेर गाउँगाउँ डुल्छन् । सबै बिक्री भएपछि घर फर्किन्छन् । कुनै बेला ट्र्याक्टर खाली हुन दुई/तीन दिन लाग्ने उनी सुनाउँछन् । ‘लौका फर्सी बारीबाटै बिक्छ, तरबुजा बेच्न गाउँगाउँ डुल्नुपर्छ,’ मोलसिंहले भने, ‘अहिले भारतबाट पनि तरबुजा आइरहेको छ, त्यसका कारण हाम्रो उत्पादनले राम्रो मूल्य पाएको छैन ।’ उनका अनुसार अहिले बजारमा तरबुजाको मूल्य प्रतिकिलो ३० रुपैयाँ छ । थोकमा बिक्री गर्दा १०/१२ रुपैयाँ मात्र पाइन्छ । उनले महेन्द्रनगरस्थित सब्जीमण्डीमा पनि तरबुजा नपुर्‍याएका होइनन् । त्यहाँ प्रतिकिलो ७ रुपैयाँ मात्रै पाए । लालझाडीबाट महेन्द्रनगर पुर्‍याउन भाडा प्रतिकिलो ३/४ रुपैयाँ लाग्छ ।

मोलसिंहको परिवार २०६४ मा दोदा नदीको बाढीले विस्थापित भएको थियो । अहिले बगर खेती गरिरहेकै ठाउँमा उनको दुई बिघा जमिन थियो । दोदामा आएको भीषण बाढीले सबै जमिन बगर बनायो । त्यसपछि उनको परिवार नजिकैको कञ्चन सामुदायिक वनमा छाप्रो बनाएर बस्न थाल्यो । त्यही बगरको जमिनमा अहिले तरकारी खेती गरिरहेका हुन् ।

बर्खायाममा दोदाको त्रास उस्तै रहन्छ । बर्सेनि धनजनको क्षति भइरहेको छ । हिउँदयामदेखि वैशाख–जेठसम्म दोदाको बगर यसरी तरकारी खेती थलो बनेको छ । बाढीले विस्थापित धेरैजसो परिवार अहिले बगर खेतीमा जुटेका छन् । दशकअघिसम्म यहाँका नदीनालामा बगरखेती गर्न भारतीय नागरिक आउँथे । तिनीहरुबाटै नदीकिनारमा बसोबास गरेर खेती गर्न स्थानीयले सिकेका हुन् । अहिले बगरमा तरकारी खेती गर्ने सबै स्थानीय छन् ।

‘दोदा नदीमा मात्रै ३ सय बढी परिवारले बगर खेती गरेका छन्,’ डाँडा जाँइका नन्दराम रानाले भने, ‘हरेक परिवारले दुई–तीन कट्ठादेखि एक/डेढ बिघामा खेती गरेका छन् ।’ उनका अनुसार धेरैजसोले विगतमा आफ्नै जमिन भएको क्षेक्रमा बगर खेती गरिरहेका छन् । नन्दरामले ५ कट्ठामा तरबुजा खेती गरेका छन् । वैशाखसम्म ६० हजारको बित्री गरेको उनले जनाए । अझै आधा बेच्न बाँकी छ । उनी आफ्नो उत्पादन साइकलमा राखेर गाउँगाउँ डुल्दै बिक्री गर्छन् । कतिपय घरमै किनेर लैजाने गर्छन् ।

लालझाडी–४ को डाँडा जाँई र सिखलपट्टि जोड्ने दोदामा निर्मित झोलुंगे पुल छेउमै सिठ्ठो रानाले पाँच कट्ठामा बगरखेती गरेकी छिन् । डाँडा जाँइमा बस्ने उनले नदीपारि सिखलपट्टितर्फ बगर खेती गरेकी हुन् । फागुन अन्तिम साता परेको असिनाले उनको तरबुजा खेतीमा क्षति पुर्‍यायो, जसका कारण ढिलो गरी उत्पादन सुरु भएको छ । सिट्ठोले भरखरै १५ हजारको तरबुजा बिक्री गरेको सुनाइन् । उनका श्रीमान् शारदा रोजगारीका लागि भारतको सिमलामा छन् । त्यसैले थोरै मात्र बगरखेती गरेका जनाइन् ।

बगरखेतीमा धेरै युवा लागेका छन् । कतिपय लामो समय भारतमा ज्यालामजदुरी गरेर फर्केका पनि छन् । कोरोना संक्रमणका बेला घर फर्किएकाहरु तरकारी खेतीबाट आम्दानी गरिरहेका छन् । बगरमा उत्पादन भएको तरकारी ग्रामीण भेगमा नगद र गहुँसँग पनि साटिने गरेको छ । नगद नहुनेले गहॅुँसँगै साट्ने गरेको सिट्ठो बताउँछिन् । तरबुजा प्रतिकिलो ३० तथा फर्सी, लौका र काँक्रा २०–३० रुपैयाँमा बिक्री भइरहेको छ । ‘दिनभरि एक बोरा तरकारी बिक्री गरेर एक बोरा नै गहुँ जम्मा हुने गरेको छ,’ सिट्ठोले भनिन् । वस्तु विनिमयको परम्परागत शैली पनि हो । बाढीले विस्थापित परिवारले यही बगरखेतीबाट खाद्यान्नको जोहो गर्ने गरेका छन् ।

राजमार्गमा बिक्री केन्द्र

पूर्वपश्चिम राजमार्गमा पर्ने वनहरा नदीमा पुल छ । पूर्वतर्फ कृष्णपुर र पश्चिमतर्फ शुक्लाफाँटा नगरपालिका पर्छ । यो क्षेत्र प्रायः सुनसान रहन्छ । यतिखेर भने पुलको दुवैतर्फ गुलजार बनेको छ । बिहानदेखि साँझसम्म मेला लागेको हुन्छ । पुलको दुवैतर्फ र सडकको दायाँबायाँ लहरै छाप्रा बनाइएका छन् । छाप्रामा तरबुजा राखिएका छन् । यही तरबुजा बेच्ने र किन्नेको भीडले वनहरा पुल क्षेत्रमा चहलपहल बढेको हो । बगरमा गरिएको तरबुजा, काक्रा, फर्सी, लौका र करेला उत्पादन गरिन्छ । त्यही उत्फादन सडक किनारमा बसेर बिक्री गर्दै आएका छन् ।

‘चैत अन्तिमदेखि तरबुजा, लौका, काँत्रा बेच्न थालेका हौं,’ पुल छेउकै कृष्णपुर–२ वाणी शिविरका शिवलाल रानाले भने, ‘बगरमा जेठ मध्यसम्म फल्छ, त्यति बेलासम्म यहाँ भीडभाड हुन्छ ।’ उनले वनहरा नदीकै बगरमा आधा बिघाभन्दा बढीमा खेती लगाएका छन् । आफ्नै उत्पादन बिक्री गर्न भ्याइनभ्याइ छ । सडकको दुवै छेउमा ५० बढी छाप्रा छन् । टन्टलापुर घाममा त्यही छाप्रामुनि बसेर ग्राहक कुर्ने गर्छन् । महेन्द्रनगर–अत्तरिया सडक खण्डमा चल्ने सवारीसाधनमा यात्रा गर्नेहरु यही ठाउँमा रोकेर किनमेल गर्छन् । एकै फटक धेरै सवारीसाधन रोकिँदा मेला लाग्छ ।

रानाले एक महिनामा एक लाखको तरबुजा बिक्री गरेका छन् । अरू तरकारी बारीबाटै बित्री हुन्छ । चैतमा सुरुको उत्पादन तरबुजा प्रतिकिलो सय रुपैयाँसम्म बिक्री भएको राना बताउँछन् । ‘अब फेरि मूल्य बढ्छ,’ उनले भने, ‘जेठसम्म सयकै हाराहारी पुग्छ ।’ उत्पादन सकिन थालेपछि मूल्य वृद्धि हुने गरेको उनको भनाइ छ । कृष्णपुर–२ वाणीकी शारदा रानालाई यतिबेला दोहोरो कामको बोझ छ । एकातिर घरको रेखदेख गर्नुपर्छ । अर्कोतर्फ बगरको उत्पादन बेच्नुपर्छ । उनले ५ कठ्ठामा तरबुजा लगाएको सुनाइन् ।

चैतयता ५० हजार बढीको तरबुजा बेचेकी छन् । शारदाका श्रीमान् मीनबहादुर रोजगारीका क्रममा भारतको सिमलामा छन् । छोराछोरीसहित घरव्यवहार आफैंले धानिरहेको जनाइन् । थोकमा बिक्री गर्दा आधा मूल्य पाइन्छ । त्यसैले आफैंले बिक्री गर्दा बढी फाइदा हुने गरेको छ ।

कम लागतमा उत्पादन

कञ्चनपुरमा चुरेबाट बग्ने मछेली, दोदा, सुनवरा र चौधर लगायत नदीनालामा बगरखेती भइरहेको छ । यसमा ४ सय बढी परिवार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन् । यसले जिल्लामा तरकारी उत्पादनमा वृद्धिसँगै धेरैलाई स्वरोजगार बनाएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाभरिमा ३० देखि ३५ हेक्टर क्षेत्रफलमा बगरखेती भइरहेको छ । पुस अन्तिमदेखि माघ मध्यसम्म बगरखेती सुरु हुन्छ । त्यतिबेला कृषकले बगरमा नाली बनाउनेदेखि बिउ रोप्नेजस्ता काममा जुट्छन् ।

माघमा रोपेको बाली चैत पहिलो साताबाट उत्पादन सुरु हुन्छ । यो क्रम जेठ अन्तिमसम्मै चल्छ । ‘बगरमा बालुवा मिसिएको माटो निकै मलिलो हुन्छ, उत्पादन पनि राम्रो हुन्छ,’ कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि अधिकृत हरिदत्त जोशीले भने, ‘यसमा सिँचाइ गर्नु नपर्ने भएकाले पनि लागत कम लाग्छ ।’ बगरमा नाली खनेर तरकारी लगाउँदा चिस्यान रहने भएकाले सिँचाइको आवश्यकता हुँदैन । बगरको उत्पादन अर्गानिक पनि हुने गरेको उनले बताए । बगरमा प्रतिहेक्टर १३–१४ मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ । ‘चैतदेखि जेठसम्म तरकारी जिल्ला बाहिरसमेत पठाउने गरिएको छ, यसमा बगरखेतीको पनि योगदान छ,’ जोशीले भने, ‘यहाँ उत्पादन भएको तरकारी सुदूरपश्चिमका पहाडी जिल्लासँगै लुम्बिनी प्रदेशसम्म पुग्ने गरेको छ ।’

जमिन बगाएपछि बगरमा खेती

बर्दियाको बारबर्दिया नगरपालिका–११ का ७४ वर्षीय श्रीदास थारुले बगरमा व्यावसायिक रूपमा तरबुजा र तरकारी खेती गरी घरगर्जो टार्दै आएका छन् । तीन दशकअघि आएको बबई नदीको बाढीले उनको गुलरिया–४ मा रहेको ४ बिघा ५ कट्ठा जमिन बगाएको हो । त्यही बगरमा खेती गरेर अहिले घरखर्च चलिरहेको उनले जनाए । हिउँदे मौसममा बगरमा तरबुजा र तरकारी खेती गर्छन् । ‘सात महिना अर्थात् मंसिरदेखि जेठसम्म बगरमा तरबुजा र तरकारी उब्जाएर बिक्री गर्छु,’ उनले भने, ‘छोरा–छोरी र नाति–नातिनाको पढाइदेखि स्वास्थ्य उपचार र अनाज किन्न त्यही रकमले काम दिएको छ ।’

बारबर्दिया–११ की ४० वर्षीया आशरानी थारुको जग्गा पनि बबई नदीले बगाएको तीन दशक भयो । नदीले बगर तुल्याएको झन्डै १ बिघा बढी जग्गामा उनले तरबुजा र तरकारी खेती लगाउँदै आएकी छन् । ‘मिहिनेतअनुसारको आम्दानी नभए पनि घरखर्च चलेकै छ,’ उनले भनिन्, ‘बगरमा हिउँदे मौसममा तरबुजाका साथसाथै फर्सी, लौका, करेलालगायत तरकारी पनि फलाउने गरेकी छु ।’

वर्षायाम लागेपछि बगरमा खेती हुँदैन । यहाँ उत्पादित तरबुजादेखि तरकारी थोक र खुद्रा मूल्यमा बिक्री हुन्छ । यहाँका व्यापारी बगरमा उत्पादित तरकारी र तरबुजा खरिद गर्न बगरमै आउँछन् । बगरमा तरबुजा प्रतिकिलो २० देखि २५ रुपैयाँमा बिक्री भइरहेको छ । फर्सी २५ देखि ३० रुपैयाँ प्रतिकिलो र लौका भने १५ रुपैयाँ किलोमा बिक्री भइरहेको छ । उत्पादित तरकारीले बजार पाउँदा ज्यादै खुसी मिलेको किसानहरूले बताए । ‘बजार खोज्दै भौंतारिनु पर्दैन,’ इन्द्रपुरका किसान रामनरेश रायले भने, ‘ताजा तरकारी पाइन्छ भन्दै व्यापारीदेखि सर्वसाधारण बगरमै आई पुग्छन् ।’

पाँच वर्षदेखि बलौटे जमिनमा तरकारी लगाउँदै आएका फुकुराम थारुले मौसमी तरकारी खेतीबाट तीन महिनामा ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको बताए । ‘दुई कट्ठा बगरमा तरकारी खेती गर्छु,’ उनले भने, ‘वर्षायाममा बाढी आउने भएकाले हिउँदमा मात्रै खेती गर्नुपरेको छ ।’ अर्काको बगरमा खेती गरेर कमाएको रकमले छोराछोरीको पढाइका अतिरिक्त घर बनाउन लिएको बैंक किस्ता तिर्न पुगेको उनले सुनाए ।

बगरमा खेती गरेका किसानले प्रतिकट्ठा ४० हजार रुपैयाँसम्म हिउँदमा आम्दानी गरिरहेको सुनाए । चार दशकयता बबई नदीले गुलरिया नगरपालिकाको उब्जनीयोग्य जमिन कटान गर्दै १ सय बिघाभन्दा बढी जमिन बगरमा परिणत गरेको छ । बगरमा उब्जनी गर्दा पनि किसानले निकै सास्ती भोग्नुपरेको जब्दीघाटकी चहारी थारुले गुनासो गरिन् । ‘बगरमै खेती गर्दा पनि सुख छैन,’ उनले भनिन्, ‘दिनरात नभनी खेती गर्‍यो, चोरले हैरान पुर्‍याउँछन् । रातभरि बगरमा जाग्राम बसेर तरबुजा र तरकारी रुँग्नुपर्छ ।’


प्रकाशित : जेष्ठ १४, २०८० १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?