कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पहाडमा पनि फैलिँदै तरबुजा

झापाका अर्जुन प्रसाईंले लमजुङमा पनि समथर फाँट देखेपछि तराईमा फल्ने तरबुजा र खरबुजालाई पहाडमै फलाए
आश गुरुङ

लमजुङ — झापाको गौरीगञ्ज गाउँपालिका–१ चौंरीबजारका अर्जुन प्रसाईं ३१ वर्षका भए । सानै उमेरदेखि कामको सिलसिलामा लमजुङ आएका उनी अहिले राइनास नगरपालिका–५ तीनपिप्लेमुनि चेपेनदी किनारमा तरबुजा फलाउँदै छन् । ०६२ मा लमजुङ आएका उनी सुरुमा घर बनाउने कटपिस ढुंगाको काममा लागे ।

पहाडमा पनि फैलिँदै तरबुजा

बेसीसहरदेखि मर्स्याङ्दीको ङादीसम्म पुगेका उनी अहिले पूर्वी क्षेत्रको राइनास चेपे नदीको बगरमा छन् । राइनासमा पनि उनी कटपिस ढुंगा बनाउने काममै पुगेका हुन् । तराई जस्तो समथर फाँट देखेपछि उनले ३ वर्षअघि नयाँ कामको सुरुवात गरे । तराईमा फल्ने तरबुजा र खरबुजालाई पहाडमै फलाए ।

प्रसाईंले स्थानीयको १ सय रोपनी जग्गा वार्षिक १ लाख रुपैयाँ भाडामा लिएका छन् । पहिलो वर्ष तरबुजा फल्यो । गतवर्ष चैतमा परेको असिनाले लग्यो । यस वर्ष उनले ६० टन फलाएर १ किलोको ३० रुपैयाँका दरले बिक्री गरेका छन् । यसबाट उनलाई १८ लाख रुपैयाँ आम्दानी भएको छ । उनले सिजनअनुसार गोलभेंडा र काँक्रो पनि फलाउँदै आएका छन् । गतवर्ष एक गह्रामा रोपेको काँक्रोबाट ४० हजार रुपैयाँ आम्दानी भयो । गोलभेंडाबाट ९० हजार आम्दानी भयो । असिनाले सताउने भएकाले यसवर्षदेखि टनेल निर्माण थालेका छन् ।

पहिलो वर्ष करिब ३० लाख रुपैयाँ लगानी गरेको बताउने उनले गतवर्ष १६ लाख रुपैयाँ लगानी गरेको बताए । यस वर्ष पनि पोहरकै हाराहारीमा लगानी गरेको उनको भनाइ छ । उनले सिँचाइका लागि २ वटा पोखरी बनाएका छन् । मोटरले चेपेबाट पानी तानेर पोखरीमा राखेका छन् । पोखरीबाट खर्बुजाको जरा–जरासम्म पुग्ने गरी बिछ्याइएको पाइपमार्फत प्लास्टिकमुनिको जमिन सिँचिएको छ । टनेल निर्माणका लागि केही ठाउँमा फलाम तथा कंक्रिटका पोल बनाइएका छन् । कंक्रिटकै पोल बनाएर जग्गा बारिएको छ । यसमा हरियो जाली लगाइएको छ ।

लमजुङको राइनास नगरपालिका–५ तीनपिप्ले बजारमुनि चेपे नदी किनारमा अर्जुन प्रसाईंले फलाएको तरबुजा । तस्बिर : आश गुरुङ/कान्तिपुर

भारतबाट बीउ ल्याएर तरबुजा र खरबुजाका बिरुवा उमार्ने काम उनैले गर्छन् । ‘खरबुजा तातो ठाउँमा हुने फल हो । यहाँ तातो अलि कम छ । तराईमा साढे २ महिनामै खान मिल्छ । यहाँ ३ महिना लाग्यो,’ उनले भने । माघ तेस्रो साता रोपेको खरबुजा चैत तेस्रो सातातिरबाट मात्रै खान मिल्ने भएको उनले जनाए । त्यसपछि जेठ पहिलो सातासम्म रहन्छ । बारीमा किरन, सरस्वती, विशाला र प्रसाईं जातका खरबुजा फलेको उनले बताए । पहेंलो बोक्रा भएको खरबुजालाई उनले प्रसाईं नाम दिएका छन् । ‘गाढा हरियो, हरियोमा सामान्य सेतो धर्सा भएको, ठूलो आकारको, बोक्रा पहेंलो रङ भएको खरबुजा फलाएका छौं,’ उनले भने ।

लमजुङमा तराईबाट खरबुजा आउँदैन । लमजुङका हरेक बजार, तनहुँको डुम्रे–दमौली हुँदै पोखरासम्म आफूले फलाएको खरबुजा पुगेको प्रसाईंले बताए । ‘सबै जना लाहुरे हुनैपर्छ, विदेश जानैपर्छ भन्ने होइन । यहाँ पनि सोच्ने हो भने केही गर्न सकिन्छ । कृषि पनि छ है, कति विदेश मात्रै खट्ने ?’ उनले भने, ‘पहाडमा पनि केही गर्न सकिन्छ । अरूलाई पनि प्रेरणा होस् भनेर गर्न खोजेको हुँ ।’

यस कार्यमा आफ्नै दाइ सूर्य प्रसाईं र लमजुङको बेंसीसहर–३ गाउँसहरका मीतदाइ रवि अधिकारीले आर्थिक, भौतिक, नैतिक सबैमा साथ दिएका छन् । ‘विदेश जाने सोचाइ नआएको होइन । विदेश जाँदा मान्छे दसैंमा खसीबोका छानेजसरी छान्छन् । सामान्य कामदारमा जाँदा पनि दुनियाधारी गरेर जानुपर्छ, बरु आफ्नै माटोमा केही गर्छु भनेर बसें । घरपरिवार उतै (झापा) छन् । सानै उमेरदेखि यतै बसेकाले मलाई यतैको माटोको माया लाग्यो,’ उनले भने ।

एउटा लहरामा ३ वटासम्म फल लाग्छ । एउटा खरबुजा मात्रै साढे ९ किलोको फलेको भेटेको उनले जनाए । युवकले गरेको कृषिकर्म उदाहरणीय रहेको राइनास नगरउपप्रमुख पुष्पराज खनाल बताउँछन् । ‘उनका उमेरका युवा अहिले यहाँ खोज्दा भेटिँदैनन् । तर झापाका युवाले यहाँ आएर रहरलाग्दो खेती गरेका छन् । राज्यले हेर्नुपर्छ,’ उनले भने ।

आफ्नै आँखाअगाडि प्रसाईंले रहरलाग्दो खेती गरे पनि स्थानीय तहबाट भने प्राविधिक सहयोगबाट अन्य काम गर्न गराउन कार्यविधिले नमिल्ने खनालको भनाइ छ । गतवर्ष भरखर फलेको खरबुजा सबै असिनाले चुटेपछि प्रसाईंले यस वर्ष बिमा गरेका छन् । यसमा संघीय सरकारले ८० र प्रदेश सरकारले २० प्रतिशत अर्थात् ३७ हजार रुपैयाँ सहयोग गरेको कृषि ज्ञान केन्द्र प्रमुख वरिष्ठ बाली विकास अधिकृत सुदीप खतिवडाले जनाए । यस वर्ष पनि टनेलका लागि सहयोग गर्ने कार्यक्रम रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ १३, २०८० ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?