२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

व्यापारी फकाउँदै चोभार सुक्खा बन्दरगाह

भन्सारपास नभएका १९ सय ५० सवारी वीरगन्जमा
राजु चौधरी

काठमाडौँ — काठमाडौंबाट हुने व्यापारलाई व्यवस्थित, सहजीकरण र प्रतिस्पर्धी बनाउन सरकारले चोभारमा सुक्खा बन्दरगाह बनाउने निर्णयअनुसार दशकअघि विश्व बैंकसंँग सम्झौता गर्‍यो । ०७५ माघ ३ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको बन्दरगाह निर्माण सकिएको करिब १० महिनापछि ०७८ चैत २२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले यसको औपचारिक उद्घाटन गरे । तर पनि चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा चल्न सकेको छैन ।

व्यापारी फकाउँदै चोभार सुक्खा बन्दरगाह

भन्सार प्रक्रियाका लागि दैनिक २/३ वटा सवारी मात्रै आएका छन् । डेढ अर्ब रुपैयाँभन्दा बढी लागतमा बनेको बन्दरगाह सुस्त भएपछि नेपाल इन्टरमोडल यातायात विकास समिति व्यापारी फकाउनमा लागेको छ । भन्सार प्रक्रियाका लागि चोभार आइदिन निजी क्षेत्रका छातासंगठन उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलाई उसले फकाइरहेको छ । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन, नेपाल ट्रक यातायात व्यवसायी महासंघ र नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाललाई पनि आग्रह गरेको छ ।

‘बन्दरगाह सञ्चालनका लागि अधिकतम प्रयास गरिरहेका छौं, सम्बन्धित सबै पक्षसँग छलफल गरिरहेका छौं,’ समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘निजी क्षेत्रका छाता संगठन, काठमाडौं र ललितपुर महानगरपालिका तथा ट्राफिक प्रहरीसँग छलफल गरेका थियौं । अन्य निकायसँग पनि छलफललाई तीव्र पारेका छौं ।’

सोमबार नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालसँग भएको छलफलमा वीरगन्ज एकीकृत जाँचचौकी र वीरगन्ज सुक्खा बन्दरगाहमा रहेका सवारी चोभारमा ल्याउन आग्रह गरिएको उनले जनाए । समितिका अनुसार वीरगन्ज भन्सारमा करिब १९ सय ५० सवारी रोकिएका छन् । गाडी बिक्री नभएपछि एक वर्षदेखि रोकिएका छन् । तिनको भन्सार पास गर्न २ सय ५० प्रतिशत शुल्क लाग्छ । बैंकले ऋण प्रवाह नगर्दा व्यापारीले गाडी किन्न अर्डर आएपछि मात्रै भन्सार छुटाउने गरेका छन् । तिनै सवारीलाई चोभार बन्दरगाहमा ल्याइदिन आग्रह गरिएको गजुरेलले बताए ।

‘वीरगन्जमा रोकिएकामध्ये कम्तीमा ४/५ सय गाडी चोभारमा ल्याउन भनेका छौं । काठमाडौं ल्याउन सबै कानुनी प्रक्रियाको व्यवस्था भइसकेको छ,’ उनले भने । समितिका अनुसार अन्य बन्दरगाहको तुलनामा चोभारको पार्किङ शुल्क पनि तुलनात्मक रूपमा करिब २५ प्रतिशत सस्तो रहेको समितिले जनाएको छ । ०७९ फागुनमा व्यवसायीले पनि वीरगन्ज भन्सारमा रोकिएका सवारीसाधन चोभारस्थित सुक्खा बन्दरगाहमा ल्याउन सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

नाडाका अध्यक्ष ध्रुव थापाले चोभारमा वीरगन्ज र भैरहवा भन्सार कार्यालयबाट ५ सय गाडी राख्न दिन माग गरेका थिए । भन्सार विभागले पनि सोहीअनुसार छलफल थालेको थियो । समितिले पनि करिब ३ सय गाडी चोभार पठाइदिन भनेको थियो । तर, सवारी आउन सकेनन् । पछिल्लो समय समितिले यसका लागि पुनः सक्रियता बढाएको छ ।

तेस्रो मुलुकबाट आयातित गाडी वीरगन्ज नाकाबाट सिधै चोभार सुक्खा बन्दरगाहसम्म गुडाएर ल्याउनसमेत अनुरोध गरिएको गजुरेलले बताए । छलफलमा नाडाका पदाधिकारीले नयाँ गाडीको आयातका लागि चोभार सुक्खा बन्दरगाहबाट भन्सार जाँचपास हुने गरी नयाँ एलसी खोलिएको जनाएका छन् । सोहीबमोजिम नयाँ गाडी चोभार सुक्खा बन्दरगाह काठमाडौंमा भन्सार जाँचपास हुने बताइएको छ । ‘सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्न निजी क्षेत्रको साथ, सहयोग र अपेक्षा चाहिन्छ । सोहीअनुसार निजी क्षेत्रसँगको छलफल तीव्र बनाएका छौं,’ गजुरेलले भने ।

भैरहवा सुक्खा बन्दरगाहमा दिनको औसतमा करिब ३ सय ५० वटा सवारी, वीरगन्ज एकीकृत जाँचचैकीमा दैनिक ६ सय वटा सवारी भन्सार चेकजाँचका लागि आउने गरेको समितिको दाबी छ । विराटनगर सुक्खा बन्दरगाहमा दिनको करिब २ सय, काँकडभिट्टा सुक्खा बन्दरगाहमा करिब १ सय ५० र तातोपानी सुक्खा बन्दरगाहमा करिब १५ वटा आउने गरेको समितिले जनाएको छ । तर चोभार बन्दरगाह सुक्खाको सुक्खै छ । व्यवसायीलाई सुविधा दिनकै लागि समितिले ०७९ माघ २५ देखि आन्तरिक टर्मिनसमेत सञ्चालन गरेको छ । तर, पनि व्यवसायी आकर्षित हुन सकेका छैनन् ।

सरकारले बनाउन लागेको फास्ट ट्र्याकको काम समयमै नसकिँदा चोभार बन्दरगाहमा काम नभएको हो । फास्ट ट्र्याकका लागि ००८ मा टेन्डर भएको थियो । तर, अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । फास्ट ट्र्याक सञ्चालनमा आए काठमाडौंमा दैनिक ५ सय कन्टेनर आउने समितिको दाबी छ ।

प्रकाशित : जेष्ठ १३, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?