श्रेष्ठले इसेवाबाट जिते काठमाडौंमा घर

कान्तिपुर संवाददाता

काठमाडौँ — डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत पूर्णबहादुर श्रेष्ठले काठमाडौंमा घर जितेका छन् । 

यूएइमा बस्ने श्रेष्ठले इसेवा मनि ट्रान्स्फरको आधिकारिक फेसबुक पेजमार्फत गरेको प्रत्यक्ष डिजिटल गोलाप्रथामा काठमाडौंमा घर जितेका हुन् । विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तलाको घर जितेका हुन् । श्रेष्ठले यूएईबाट इसेवा मनि ट्रान्स्फरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिट्यान्स् पठाएका थिए ।

इसेवा मनि ट्रान्सफरका निर्देशक डेनियल डि श्रेष्ठले विजेता श्रेष्ठलाई धन्यवाद व्यक्त गरे । इसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहारस्वरुप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो । ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत हरेक महिना सेवाग्राहीको घरसम्म पुगी आकर्षक उपहार प्रदान गरेको निर्देशक श्रेष्ठले बताए ।

कार्यक्रममा बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने अपेक्षा रहेको बताए ।

इसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । इसेवाले सेवाग्राहीहरुलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजारभन्दा बढी क्यास प्वाइन्टमार्फत विप्रेषण भुक्तानी सेवा दिँदै आएको छ ।

इसेवा सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको संस्था हो ।

प्रकाशित : जेष्ठ १२, २०८० २१:१२
प्रतिक्रिया
पठाउनुहोस्

पाल्पा–११ र लिस्नु भिड्ने

कान्तिपुर संवाददाता

पाल्पा — तानसेनमा सोमबार सुरु हुने कर्णेल उजीरसिंह पाल्पा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाल्पा–११ र रूपन्देहीको लिस्नु क्लबबीच प्रतिस्पर्धा हुनेछ । आयोजक पाल्पा फुटबल संघ (एन्फा) ले गरेको ‘ड्र’ अनुसार उद्घाटन खेलमा समूह ‘ए’ रहेका पाल्पा र रूपन्देही भिड्ने भएका हुन् ।

तानसेन टुँडिखेलमा हुने प्रतियोगितामा सहभागी १२ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पाल्पा र लिस्नुसहित फोर ब्रदर्स नवलपरासी (पश्चिम), रोड्स रामपुर एफसी चितवन, गार्डेन फुटबल क्लब पोखरा, वीर गोर्खाली लखनउ भारत छन् । समूह ‘बी’ मा रूपन्देही–११, २८ विघा युथ क्लब नवलपरासी (पूर्व), होराइजन फुटबल क्लब स्याङजा, स्वयम्भू युथ क्लब काठमाडौं, विष्णुपादुका युथ क्लब पोखरा र दी फेमस महिन्द्र दल गण पाल्पा छन् ।

समूह ‘ए’ मा रोड्स रामपुर र गार्डेन पोखराबीचको विजेताले वीर गोर्खालीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । पाल्पा र लिस्नुको बिजेताले फोर ब्रदर्ससँग खेल्नेछ । फाइनल जेठ २७ मा हुनेछ ।

विजेताले ३ लाख र दोस्रोले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने पाल्पा जिल्ला फुटबल संघका अध्यक्ष प्रणयवीर राणाले बताए । म्यान अफ द म्याचले ३ हजार पाउनेछन् । विधागत उत्कृष्टले जनही ६ हजार पाउनेछन् । खेल १३ वर्षसम्मका बालबालिकालाई निःशुल्क प्रवेश दिइने जनाइएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० २१:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×