साताको सेयर समीक्षा : होटलमा उच्च वृद्धि, कुन उपसमूह कति बढे ?

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से गत साता बन्द हुँदा १८७७ अंकमा थियो । यो साता करिब ८२ अंक बढेर १९५९ अंकमा बन्द भएको छ । कारोबार भएका चारै दिन नेप्से परिसूचक हरियो रहृयो । पहिलो दिन आइतबार ५.८, सोमबार ८.१, मंगलबार ५१.३ र बुधबार १६.४ अंक बढ्यो । कारोबार रकम पनि यो साता बढ्यो ।

मंगलबार एकै दिन २ अर्ब २० करोड रुपैयाँसम्मको कारोबार भयो । शिवम् सिमेन्ट, नेपाल टेलिकम, एनआईसी एसिया बैंक, हिमालयन डिस्टिलरी, राष्ट्रिय बिमा कम्पनी यो साता कारोबारका आधारमा शीर्ष स्थानमा रहे । सेयर बजारको परिसूचक नेप्से साताभर ४.३६ प्रतिशत मात्रै बढ्दा धेरैजसो उपसमूह त्योभन्दा धेरै बढे ।

होटल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै १२.७ प्रतिशत बढ्यो । यस उपसमूहमा पर्ने सबै कम्पनीको मूल्यमा उच्च वृद्धि हुँदा यो उपसमूह सातामा सर्वाधिक बढ्यो । होटलपछि धेरै बढ्ने उपसमूहमा उत्पादन तथा प्रशोधन रहृयो । यो उपसमूह १०.९८ प्रतिशत बढ्यो । बैंकिङ उपसमूहको वृद्धिदर भने सबैभन्दा सुस्त देखिएको छ । सो उपसमूह साताभर जम्मा १.९ प्रतिशत मात्रै बढ्यो । बजारको पुँजीकरण २८ खर्ब ५८ अर्बमा कायम भएको छ ।

जेठ १ गते (गत साताको सोमबार) नेप्से १८१८ अंकमा बन्द भएको थियो । त्यसयता कारोबार भएका सबै दिन बजार बढ्दै गएको छ । हाललाई १८१८ अंकमा टेवा पाएर बजार उक्लिएको छ । यसअघि पटक पटक यहीं आसपासमा टेवा पाउँदै आएको बजारको आगामी लय भने कसैले एकीन गर्न सक्दैन । तर सोमबार सार्वजनिक हुने बजेट भाषणले सेयर बजारका लागि लिने अनुकूल वा प्रतिकूल नीतिले आगामी साताको बजार धेरै हदसम्म प्रभावित हुन सक्नेछ ।

हाललाई ब्याजदर घट्न थालेको प्रभाव सेयर बजारमा देखिएको केहीको विश्लेषण छ । जेठ महिनामा मात्रै ०.२२ प्रतिशत विन्दुले औसत कर्जाको ब्याजदर घटेको नेपाल बैंकर्स संघको तथ्यांक छ । आगामी दिनमा पनि ब्याजदर घट्दै जाने देखिन्छ । हरेक महिना कर्जाको ब्याजदर पछिल्लो तीन महिनाको औसत आधार दरका आधारमा परिवर्तन गर्दै जानुपर्ने राष्ट्र बैंकको निर्देशनपछि असारमा पनि ब्याजदर केही घट्न जानेछ । ४.२ प्रतिशतबाट स्प्रेड दर असार मसान्तसम्म ४ प्रतिशतमुनि झार्नुपर्ने व्यवस्थाले साउनमा ब्याजदर झन् बढी घट्ने अनुमान गरिएको छ । यसले गर्दा बजारलाई केही हदसम्म सकारात्मक वातावरण बनेको छ ।

यो साता कुन उपसमूह कति बढे ?

उपसमूह

गत साताको अंक

यो साताको अंक

वृद्धिदर प्रतिशत

बैंकिङ

१२२२

१२४६

१.९६

विकास बैंक

३५०७

३५९३

२.४५

जलविद्युत्

२३६३

२४२८

२.७५

निर्जीवन बीमा

८७६२

९५५८

९.०८

जीवन बीमा

९४९१

१०१०२

६.४३

माइक्रोफाइनान्स

३३६१

३६१२

७.४६

व्यापार

२०८६

२२३०

६.९०

होटल, पर्यटन

३५५७

४००९

१२.७०

अन्य

१३४३

१४०१

४.३१

उत्पादन

४४३४

४९२१

१०.९८



प्रकाशित : जेष्ठ १२, २०८० १६:०६
प्रतिक्रिया
पठाउनुहोस्

पशुपतिको जलहरीबारे छानबिन समिति गठन गर्न सांसद दाहालको माग

'मैले संसदीय मर्यादा उल्लंघन गरेको छैन । बरु ओलीज्यूले नै २ घण्टाको अभिव्यक्तिमा हरेक ५ मिनेटमा संसदीय मर्यादा उल्लंघन गर्नुहुन्छ ।'
कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संसद्‍मा पशुपतिनाथको जलहरीमा पित्तल लगाइएको घटनाबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन् । शुक्रबारको संसद्‍मा आफूले यसबारे प्रश्न उठाउँदा संसदीय मर्यादा उल्लंघन नभएको उनको भनाइ छ ।

शुक्रबार सांसद दाहालले यसबारे प्रश्न उठाउँदा नेकपा एमालेका सांसदहरूले आपत्ति जनाउँदै संसद्‍ अवरुद्ध पारेका थिए । सांसद दाहालले भने बरु एमाले अध्यक्ष केपी ओलीले नै संसद्‍मा बोल्दा संसदीय मर्यादा उल्लंघन गर्ने गरेको आरोप लगाए । संसद्‍ अवरुद्ध भएपछि पत्रकारहरूसँग बोल्दै सांसद दाहालले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सांसद दाहालले संसदीय मर्यादा उल्लंघन गरेको भन्दै एमालेले आपत्ति जनाएकोमा जवाफ दिँदै सांसद दाहालले भने, 'बरु केपी ओलीज्यूले नै २ घण्टाको अभिव्यक्तिमा हरेक ५ मिनेटमा संसदीय मर्यादा उल्लंघन गर्नुहुन्छ ।'

'मैले प्रश्न उठाउँदा व्यक्तिमाथि किटान गरेको छैन । तत्कालीन प्रधानमन्त्रीको रुपमा केपी ओलीज्यूले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ भनेको मात्रै हुँ । संसदीय छानबिन समिति गठन गरौं न त । त्यो सुन कसले खायो ? उहाँहरूले आपत्ति जनाउनुपर्ने कुनै आधार छैन,' सांसद दाहालले भने, 'उहाँको सरकारको पालामा भएका भ्रष्टाचारका घटनाको छानबिन गरौं भनेर फहरिस्त बुझाउने क्रममा मैले पशुपतिको जलहरी लगाउँदा भएको अनियमितताको पनि प्रसंग उठाएको हुँ ।'

उक्त योजनामाथि पहिले नै मुद्दा परेको स्मरण गराउँदै सांसद दाहालले त्यस क्रममा ११ किलो सुन नभेटिएको दाबी गरेका छन् । संसद्‍मा दाहालले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने भन्दै एमाले सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएका थिए ।

प्रकाशित : जेष्ठ १२, २०८० १६:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×