भन्सारमा सन्दर्भ मूल्य खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्छ: चेम्बर

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सले भन्सार महसुल प्रयोजनका लागि सन्दर्भ मूल्य खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन सरकारलाई सुझाएको छ । ‘विश्व ब्यापार संगठनबाट निर्धारित मूल्यांकन पद्धतिमा रहेर भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्दछ,’ चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले भने । 

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष मल्लले राजश्व घटिरहेको सन्दर्भमा कर प्रशासनलाई चुस्त बनाउनुपर्नेमा जोड दिए । नेपाली उत्पादनको गुणस्तर परीक्षणका लागि भन्सार नाकामा अन्तर्राष्ट्रियस्तरको क्वारेन्टाइन ल्याबको उचित व्यवस्थापन गरेर आयात निर्यातलाई प्रभावकारी बनाउन उनले सरकारलाई सुझाव दिए । भन्सार कार्यालयको कारणले हुने ढिलाइमध्ये डेमरेज, डिटेन्सन तिर्नुपर्ने अवस्था पनि रहेकाले ती विषय निराकरण हुनुपर्ने चेम्बरले जनाएकाे छ ।

सीमामा हुने अवैध व्यापारलाई निरुत्साहित गरी कर राजश्वको दायरामा ल्याउनुपर्ने मल्लले सुझाव दिए । ‘सोको लागि बिल लिने/दिने व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्छ,’ उनले भने, ‘करको दर वृद्धि गरिनु भन्दा दायरा बढाइनुपर्छ । यसका लागि नागरिकता वितरण गर्दा पान कार्डसँगै दिनुपर्छ ।’ भन्सार कार्यालयहरुमा प्रज्ञापन पत्र दर्ता देखि सामान जाँचपास हुने अवस्थासम्म सबै प्रक्रियाहरु कम समयमा छिटो र झन्झट रहित सम्पन्न गर्न एकद्धारा प्रणाली लागू गरिनुपर्ने उनकाे माग छ ।

सरकारले दिने निर्यात अनुदानलाई लक्षित वर्गमा पुर्‍याउनुपर्नेमा चेम्बरले जोड दिएको छ । कर राजस्वका सम्बन्धमा स्थानीय तहले आफूखुसी कर निर्धारण गर्दा उद्योग व्यवसाय चलाउन समस्या भएको व्यवसायीकाे गुनासाे छ । सीमा नाकाहरुमा हुने चोरी निकासीले राजस्व संकलनको लक्ष्यमा गम्भीर असर परेको व्यवसायीहरुले बताए । कृषिमा आधुनीकिकरण गरी उत्पादन बढाउन कृषि कार्यमा प्रयोग हुने यन्त्र, उपकरण र आधारभूत प्रयोगका वस्तुमा आगामी बजेटमा भन्सार तथा कृषि सुधार शुल्कमा पूर्णतः छुट हुनुपर्ने समेत व्यवसायीले माग गरेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०८० १५:१३
प्रतिक्रिया
पठाउनुहोस्

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु,एक घाइते

अवधेशकुमार झा

राजविराज — सप्तरीको सखडा सडक खण्डमा शुक्रबार अपराह्न भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा छिन्नमस्ता ३ का १८ वर्षीय श्यामकुमार यादव र ३० वर्षीय विकासकुमार खंग रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सख्त घाइते भएका श्यामकुमार र विकासकुमारलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइएकोमा उपचारका क्रममा दुबै जनाको मृत्यु भएको हो ।

दुर्घटनामा स्थानीय अजयकुमार खंग घाइते भएका छन् । राजविराजबाट सखडातर्फ जाँदै गरेको प्र २–०१–००२–प २५६० नम्बरको मोटरसाइकल छिन्नमस्ता ३ स्थित नर्सिङ थान नजिकै बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकलमा तीन जना सवार थिए । घाइते अजयको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १२, २०८० १५:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×