प्रधानमन्त्रीलाई जुट उद्योगीको आग्रह : भारतले लगाएको एन्टी डम्पिङ शुल्क हटाउन पहल गर्नुस्

विराटनगर — आफ्नो उत्पादन निकासी गरेवापत सात वर्षदेखि भारतलाई एन्टी डम्पिङ महशुल तिर्दै आएका सुनसरी मोरङ औद्योगिक क्षेत्रका जुट उद्योगीले भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष उक्त शुल्क हटाउने पहल गर्न आग्रह गरेका छन् ।

भारतमा नेपाल र बंगलादेशले जुटका तयारी वस्तु निकासी गर्दै आएका छन् । तर बंगलादेशी उत्पादनमा एन्टी डम्पिङ शुल्क छैन । नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले नेपाली उत्पादनमा मात्र सात वर्षदेखि एन्टी डम्पिङ शुल्क लाग्दा बजारमा प्रतिस्पर्धा गर्न नसकी उद्योग नै संकटमा परेको बताए ।
गत वर्ष सात अर्ब मूल्य बराबरको नेपाली तयारी जुटका सामाग्री भारत निकासी भएको थियो । चालु वर्ष आठ अर्ब मूल्य बराबरका सामाग्री निकासी गर्ने लक्ष्य उद्योगीको छ । ‘भारतले एन्टी डम्पिङ महशुल हटाउने हो भने नेपालबाट वार्षिक सरदर आठ अर्ब मूल्यका जुटका तयारी वस्तु सहज निकासी हुने स्थिति बनाउँछौं’ गोल्छाले भने ।
जुट उद्योगीले सरकारसँग पटक पटक तयारी वस्तुमा भारतले लगाउँदै आएको एन्टी डम्पिङ महशुल हटाउन पहल गर्न आग्रह गर्दै आएपनि अहिलेसम्म प्रभावकारी प्रयास नै भएको छैन । ‘भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री दाहाललाई भेटेर नै एन्टी डम्पिङ शुल्क हटाउन पहल गर्न आग्रह गरेका छौं’ गोल्छाले भने ‘प्रधानमन्त्रीले यसपालिको आफ्नो भ्रमणका क्रममा उक्त शुल्क हटाएर छाड्ने आश्वासन दिनुभएको छ ।’
नेपालबाट हेसियन, सुतली, ब्याग लगायतका जुटका तयारी वस्तु भारत निकासी हुँदै आएको छ । ती वस्तुमा भारतले सन् २०१६ देखि कम्तीमा दुईदेखि चार प्रतिशतसम्म एन्टी डम्पिङ शुल्क लगाउँदा नेपाली उद्योगले उक्त शुल्कका नाममा वार्षिक सरदर ३० करोड भारतलाई तिर्दै आएका छन् ।
भारतले यसअघि नेपाली जुटका तयारी वस्तु निकासीमा साढे १२ प्रतिशत काउन्टर भ्यालु ड्यूटी (सीभीडी) लगाएको थियो । त्यसवापत उद्योगीले करिव २० करोड रुपैयाँ भारतबाट फिर्ता पाउनुपर्नेमा त्यो पनि पाएका छैनन् । सुनसरी मोरङ औद्योगिक क्षेत्रमा सबैभन्दा बढी मजदुरलाई रोजगारी दिने जुट उद्योगले आवश्यक पर्नेमध्ये ७० प्रतिशत कच्चा जुट भारत र बंगलादेशबाट आयात गरेर तयारी वस्तु भारत निकासी गर्दै आएका छन् । तिनै वस्तुमा नेपाली जुट उद्योगले भारतलाई एन्टी डम्पिङ शुल्क तिर्दा बंगलादेशका उत्पादनलाई छुट छ ।
सुनसरी मोरङ औद्योगिक क्षेत्रमा स्थापना भएका ११ मध्ये हाल अरिहन्त, रघुपति, स्वस्तिक, बाबा र नेपाल जुट उद्योग सञ्चालनमा छन् । ती उद्योगमा १२ हजार ५ सय मजदूर कार्यरत छन् । नेपालबाट ६ उद्योगले आफ्नो उत्पादन भारत निकासी गर्दै आएका छन् । ‘बंगलादेशका १६ वटा जुट उद्योगको उत्पादन भारत निकासी हुन्छ’ स्वस्तिक जुट उद्योगका सञ्चालक रमेश राठीले भने ‘तर बंगलादेशका उद्योगको उत्पादनमा भारतले एन्टी डम्पिङ शुल्कमा छुट दिएर विभेदकारी नीति लागू गरेको छ ।’
प्रकाशित : जेष्ठ १२, २०८० १३:३८