टिकटकले टाको नामक आफ्नै एआई च्याटबट ल्याउने

काठमाडौँ — टिकटकले आफ्ना प्रयोगकर्तालाई कन्टेन्ट र भिडियो खोज्न सघाउने उद्देश्यले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित आफ्नै च्याटबट ल्याउने तयारी गरेको छ । कम्पनीले बिहीबार दिएको जानकारीअनुसार फिलिपिन्समा परीक्षण शुरू गरिएको च्याटजीपीटीजस्तै उक्त च्याटबटको नाम 'टाको' रहने छ । अन्य धेरै प्रविधि कम्पनीहरूलेजस्तै जेनेरेटिभ एआईलाई आफ्नो प्लाटफर्मको हिस्सा बनाउने पहलमा रहेको टिकटकले जनाएको छ ।

टिकटकले टाको नामक आफ्नै एआई च्याटबट ल्याउने

टिकटकको प्रतिस्पर्धी प्लाटफर्म स्न्यापले यसअघि नै ओपनएआईसँगको सहकार्यमा 'माई एआई' नामको च्याटबट सुविधा अघि सारेपछि दबाबमा रहेको वाइटडान्स (टिकटकको स्वामित्व भएको कम्पनी) ले फिलिपिन्सका केही प्रयोगकर्ताहरूमा यो परीक्षण गरेको अनुमान गरिएको छ । गत महिना अमेरिकाको प्याटेन्ट एन्ड ट्रेडमार्क अफिसमा टिकटक टाकोलाई 'टेक्स्ट र आवाजको सहायताले कन्टेन्ट खोज्न सक्ने सफ्टवेयर' भनेर निवेदन दिएपछि नै वाइटडान्सको जेनेरेटिभ एआई प्लाटफर्मबारे चर्चा सुरू भएको थियो ।

अहिलेलाई प्रारम्भिक चरणको परीक्षणको मात्रै योजना रहेको कम्पनीले स्पष्ट पारेको छ । आफ्ना विभिन्न फिचर र सुरक्षा चासोका कारण संसारका कैयौं देशसँग अमेरिका, क्यानडा लगायतका देशमा बढ्दो प्रतिबन्ध सामना गरिरहेको उक्त कम्पनीले एआईमा बढेको चासोलाई अवसरको रूपमा प्रयोग गर्न खोजेको बताएको छ । कम्पनीले एआई प्लाटफर्म बनाउन कति लगानी गरेको छ भन्ने स्पष्ट नभए पनि बाइटडान्सले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित 'लार्ज ल्याङ्वेज' मोडल निर्माणमा सयौं मिलियन डलर लगाएको विज्ञहरूको अनुमान छ ।

एक्स्पेडिया, बिङ लगायतका ठूला प्लाटफर्महरूले यसअघि नै आफ्ना प्लाटफर्महरूमा एआई च्याटबटलाई सामेल गरिसकेका छन् । फेसबुक म्यासेन्जर, व्हाटस्एप, स्ल्याक, वीच्याट, स्काइप, अमेजन एलेक्सा लगायत कम्पनीहरू पनि ठूलो लगानी र तयारीका साथ आफ्नै एआई फिचर र च्याटबट ल्याउने दौडमा छन् । यसै वर्ष मात्रै माइक्रोसफ्टले २ अर्ब, अमेजनले १ अर्ब, मेटाले १० अर्ब र अमेजनले ४ अर्ब डलर एआईसम्बन्धी खोज र विकासमा लगाउनेगरी घोषणा गरिसकेका छन् ।

आफ्ना १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको टिकटक वर्ष २०२२ को सबैभन्दा नाफामूलक एपमध्ये एक हो । युवा र कम उमेरका प्रयोगकर्तामाझ बढी लोकप्रिय रहेको यसका प्रयोगकर्ताले औसत ९० मिनेट प्लाटफर्ममा बिताउने गरेको र प्रभावशाली व्यक्ति वा संस्थासँगै भ्रामक वा तोडमोड भएका सूचना फैलाउन पनि सजिलो माध्यम बन्ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

प्रकाशित : जेष्ठ १२, २०८० १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?