भारतीय सीमावर्तीमा पेट्रोलको मूल्य २२ रुपैयाँ सस्तो हुँदा यताका पम्पमा कारोबार सुक्यो

माधव ढुंगाना

भैरहवा — नेपालभन्दा सिमावर्ती भारतीय बजारमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि यताका पेट्रोल पम्पको व्यवसाय सुकेको छ । सीमापारि मूल्य सस्तो भएपछि इन्धन भर्न ढुवानी तथा साना सवारीसाधन उतै जाने गरेका छन् । उता सस्तो भएपछि पेट्रोलियम पदार्थको भन्सार छलेर खुला सिमानाबाट अवैध आयात हुन थालेको र सिमावर्ती जिल्लाका पम्पहरुको व्यवसाय ७५ प्रतिशतसम्म घटेको पेट्रोलियम व्यवसायीले दाबी गरेका छन् । 

सीमावर्ती क्षेत्रमा रहेको मूल्य अन्तरका कारण व्यवसाय नै तहसनहस हुन थालेको पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष तथा व्यवसायी हिमाल गैरेले बताए । ‘पेट्रोलियम पदार्थको मूल्यअन्तरले कारोबार खुम्चिँदै जान थालेको छ । पहिलेको तुलनामा ७५ प्रतिशत कारोबार घटेको छ’ उनले भने, ‘नेपाली सीमा क्षेत्रबाट भारततर्फ इन्धन भर्न जानेको लर्को लाग्ने गरेको छ ।’

यतिबेला भारतीय पम्पहरुमाभन्दा नेपालमा पम्पमा पेट्रोल प्रतिलिटर २२ रुपैयाँ र डिजेलमा १० रुपैयाँ मूल्य बढी छ । सीमावर्ती भारतमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५३ नेपाली रुपैयाँ र डिजेल १ सय ४५ रुपैयाँ छ । नेपालका पम्पमा भने पेट्रोल प्रतिलिटर १ सय ७५ र डिजेल १ सय ६५ रुपैयाँ छ । मूल्यमा भएको फरकले तराईका क्षेत्रका सडक किनारामा मिनरल वाटरको बोतलमा पेट्रोल र ग्यालेनमा डिजेल बिक्रीका लागि राख्ने गरिएका छन् । ढुवानीका लागि भन्सार तथा सिमावर्ती भारतका ट्रान्सपोर्ट कम्पनीमा पुग्ने नेपाली ट्रक, निजी जिप कार, मोटरसाइकल भारतीय पम्पमा पुगेर ट्याकी भरेर फर्किने गरेका छन् ।

औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान ढुवानी गरेर नेपाल आउने भारतीय मालवाहक गाडी तथा भन्सार सुविधामा नजिकको नेपाली बजारसम्म आउने भारतीय मोटरसाइकल, जिप, कार भ्यान लगायतका सवारी साधनले भारतबाटै इन्धन ट्याकी भरेर नेपाल आउने गर्छन् । यसरी नेपाल आउने कतिपय भारतीय सवारीसाधनले नेपालमा आएर ट्याङ्कीमा ल्याएको तेल बिक्री गर्ने गरेको र अवैध कारोबार बढेको व्यवसायीको दाबी छ ।

‘मूल्य फरकका कारण नेपाली ट्रक तथा निजी सवारी साधन नजिकको भारतीय पम्पमा इन्धन भर्न जानेको संख्या ठूलो छ, यतापट्टिका व्यवसाय धारासयी हुन थालेका छन्’ एसोसिएनका लुम्बिनी प्रदेश संयोजक प्रेम न्यौपानले भने, ‘यो प्रवृत्तिलाई जिम्मेवार निकायले आवश्यक पहल गर्नुपर्छ ।’ भैरहवा भन्सार कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको चैतसम्मको तुलनामा यो वर्षको सोही अवधिमा डिजेल २५ र पेट्रोलको आयात १२ प्रतिशतले घटेको छ । तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ को चैत महिनासम्म ५ अर्ब २१ करोड ९४ लाख रुपैयाँ मूल्यको ६१ हजार २ सय ७२ किलोलिटर डिजेल आयात भएको थियो भने, चालु आवको चैतसम्ममा ४ अर्व १७ करोड ६४ लाख रुपैयाँ मूल्यको ४६ हजार २ सय ६० किलोलिटर आयात भएको छ ।

त्यस्तै पोहोर सो अवधिमा पेट्रोल ४ अर्ब ५५ करोड २६ लाख रुपैयाँको ५३ हजार ३ सय २४ किलोलिटर आयात भएकोमा अहिले ४७ हजार १ सय केएल आयात भएको छ । आयात कम हुँदा पोहोरको तुलनामा डिजेलमा ८३ करोड र पेट्रोलमा २५ करोड राजस्व संकलन घटेको छ । नजिकको भारतीय रेलवे स्टेसनसम्म नेपाली नम्बरका हलुका सवारी साधन लैजान छुट छ । नेपाल आयात हुने नुन, फलाम, कोइला, चामल लगायतका सामान रेलको र्याकबाट भारतीय रेलवेस्टेसनसम्म आउने भएकाले नेपाली मालवाहक गाडी त्यहाँसम्म ढुवानीका लागि जाँदा उतै इन्धन भर्ने गर्छन् ।

रुपन्देहीको भलवारीस्थित नेपाल आयाल निगमको लुम्बिनी प्रदेश कार्यालयको तथ्याकंले पनि पेट्रोलियम पदार्थको कारोबारमा ह्रास आएको देखिन्छ । निगमका प्रदेश प्रमुख जगदिशप्रसाद यादवले विगतमा भन्दा पेट्रोलमा २४ र डिजेलमा ३० प्रतिशतसम्म खपत घटेको बताए । ‘सिमावर्ती क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यमा थोरै मात्र अन्तर पर्नासाथ कारोबारमा असर पारिहाल्छ’ यादवले भने, ‘अन्तर नपर्नेगरी पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने अधिकार निगमको केन्द्रीय कार्यालयलाई मात्र छ ।’


प्रकाशित : जेष्ठ १२, २०८० १२:४२
प्रतिक्रिया
पठाउनुहोस्

सत्ता पक्षबाटै गलत आरोप लगाइएको भन्दै एमालेले गर्‍यो प्रतिनिधिसभा अवरोध

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिनिधिसभा बैठकमा सत्ता पक्षका सांसदहरूले प्रतिपक्षी दलका नेताले भ्रष्टाचार गरेको भनेर निराधार आरोप लगाएको भन्दै एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठकमा अवरोध सिर्जना गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेकोमा एमाले सांसदहरूले त्यसभन्दा अगाडि भ्रष्टाचारको निराधार आरोप लगाइएको विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै बैठक अवरुद्ध पारेका हुन् ।

बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्तारुढ दल माओवादी सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीमाथि झुटो आरोप लगाएको बताए । माओवादी सांसद दाहालले ओलीले पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी राखेको भने गलत प्रचार गरेको प्रमुख सचेतक गिरिको भनाइ छ ।

एमाले संसदीय दलको उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङले कारबाही गर्ने स्थानमा बसेर आधारहीन कुरा राख्न नहुने बताए । उनले भने, 'सत्तापक्षको तर्फबाट जिम्मेवार एकजना सांसदले जुन कुरा राख्नुभयो त्यो आधार छैन । गैरजिम्मेवारपूर्ण छ । आफू सरकार चलाइराख्नुभएको छ । सम्पूर्ण डाडुपन्यु छ । सरकार सबै कुरा थाहा पाउँछ । संसद्को रोस्ट्रममा उभिएर भन्नुभयो, सुनको जलहरीको नाममा पित्तलको जलहरी चढाएर भ्रष्टाचार भएको छ ।' कि प्रमाणित गर्नुपर्ने नत्र गलत आरोप लगाउन नपाइने उनको भनाइ छ, 'दूधको दूध पानीको पानी होस् र सुनको जलहरी होइन भने प्रमाणित होस् । यदि होइन भने प्रमाणित गर्नुपर्छ कि पर्दैन ।'

त्यस्तै सत्तारुढ दल माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संसद्लाई व्यवस्थित ढंगले चलाउनुपर्ने बताए । उनले भने, 'हामी संसद्‍मा छौं । हामी संसदलाई व्यवस्थित रूपमा अघि बढाउने कुरा गरिरहेका छौं । हामी प्रमुख प्रतिपक्ष दलमा विषय बोल्न पाइन्छ । यो देशमा जसरी भ्रष्टाचार भइरहेका विषय भइरहेको छ । यो कार्यक्रममा राख्छ ।'

प्रकाशित : जेष्ठ १२, २०८० १२:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×