मुग्लिङ-पोखरा सडक स्तरोन्नति सुस्त हुँदा यात्रुलाई सास्ती

पाँच वर्षमा सक्नुपर्ने काम तीन वर्षमा मात्र १५ प्रतिशत भौतिक प्रगति, पश्चिम खण्डको प्रगति मात्र ६ प्रतिशत
विमल खतिवडा

काठमाडौँ — दैनिक सवारी चाप अत्यधिक हुने पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकखण्ड स्तरोन्नतिको काम थालेको तीन वर्षमा भौतिक प्रगति भने २० प्रतिशत पनि पुगेको छैन । आँबुखैरेनी–जामुने पहिले (पूर्वी) र जामुने–पोखरा दोस्रो (पश्चिम) गरी दुई खण्डमा विभाजन गर्दै ०७७/७८ मा यसको ठेक्का लगाइएको हो । पश्चिम खण्डको काम सन्तोषजनक नभएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बताए । 


‘त्यसैले यस खण्डमा के गर्ने भनेर छलफलका क्रममा छौं, सकेसम्म ठेकेदारलाई अनुरोध गरेर, दबाब दिएर, चिठी लेखेर भए पनि ठेक्का सक्ने हो,’ सडक निर्माणमा देखिएका समस्या र भइरहेको ढिलाइबारे राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले आयोजना गरेको छलफलमा मन्त्री ज्वालाले भने, ‘यति गर्दागर्दै पनि नमाने र काममा प्रगति नबढाए ठेक्का तोड्नुको विकल्प छैन ।’

आँबुखैरेनीदेखि पोखरासम्मको दूरी ८०.३३ किमि छ । यसको ठेक्का आर्थिक वर्ष ०८१/८२ भित्र सकिसक्नुपर्ने गरी १३ अर्ब ६ करोड रुपैयाँमा लिइएको हो । तर अहिलेसम्म यस खण्डको सडक निर्माणमा भौतिक प्रगति १५.३७ प्रतिशत मात्र छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडकलाई ४ देखि ६ लेनमा स्तरोन्नति र ७ ठूला तथा २२ साना पक्की पुल निर्माण गर्ने गरी ठेक्का लगाइएको हो । पहिलो (पूर्वी) खण्ड आँबुखैरेनी–जामुनेको ठेक्का चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले लिएको हो ।

अहिलेसम्म यो खण्डमा भौतिक प्रगति २४.५ प्रतिशत छ । यसको दूरी ४१.४५ किमि छ । दोस्रो (पश्चिम) खण्ड जामुने–पोखरा सेती पुलसम्मको ठेक्का यान हुई कन्स्ट्रक्सनले लिएको हो । यसको अहिलेसम्मको भौतिक प्रगति ६.२५ प्रतिशत छ । यो खण्डको प्रगति सोचेअनुरूप नभएपछि सडक विभागले ठेक्का तोड्ने तयारी गरेको छ । यसको दूरी ३८.८८ किमि छ ।

समग्रमा प्रगति सन्तोषजनक नरहेको आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक उमेशबिन्दु श्रेष्ठले बताए । ‘अहिलेसम्म आयोजनाको भौतिक प्रगति १५ प्रतिशत मात्र छ,’ उनले भने, ‘तर सन्तोषजनक छैन, पश्चिम खण्डमा त झन् कामै भएको छैन ।’ सहरी खण्डमा २० किमि ६ लेन सडक बन्नेछ । ग्रामीण क्षेत्रमा ४ लेन सडक ६० किमि बन्नेछ ।

‘पूर्वी खण्डमा राम्रै प्रगति छ,’ उनले भने, ‘पश्चिम खण्डको काम सुस्त छ, अहिलेसम्म यो खण्डमा सडक कालोपत्र गर्ने तयारीसम्म छैन ।’ ठेकेदारले कालोपत्र गर्नका लागि आस्फाल्ट प्लान्टसमेत नल्याएको उनको भनाइ छ । पूर्वी खण्डमा असारसम्म ७ किमि सडक कालोपत्र गर्ने गरी तयारी भए पनि पश्चिम खण्डमा अहिलेसम्म तयारी नै नगरिएको आयोजनाले जनाएको छ ।

सासेक हाइवे इम्प्रुभमेन्ट प्रोजेक्ट फेज–१ अन्तर्गत आँबुखैरेनी–पोखराको ठेक्का भएको हो । ठेकेदारले काम सकेपछि एक वर्षसम्म त्रुटि सच्याउने अवधि रहन्छ । त्यसपछि बाँकी ५ वर्षसम्म सडक बिग्रे मर्मतसम्भार गर्ने दायित्व पनि निर्माण व्यवसायीकै हुनेछ ।

मुग्लिङदेखि आँबुखैरेनीसम्म मर्स्याङ्दीको पारिपट्टिबाट नयाँ सडक बनाउने अवधारणाअनुसार डिजाइनको काम सकिएको छ । वारिपट्टि साँघुरो, चट्टान धेरै र मर्स्याङ्दी पावर हाउस रहेकाले त्यहाँ नजिकै निस्किने गरी ५ किमि सडक पारिबाट निर्माण गरिनेछ । ८.२ किमि दूरी रहने सडक वारिपारि दुई–दुई लेनको हुनेछ ।

उक्त सडकमा देखिएका समस्या र निर्माण भइरहेको ढिलाइबारे केही दिनअघि राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा छलफल भएको थियो । छलफलमा पूर्वतयारीको काम नसकिँदै ठेक्का गर्दा आयोजनामा समस्या हुने गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।

‘मुग्लिङ–पोखरा, बुटवल–नारायणगढ सडक विस्तारमा हाम्रोतर्फबाट धेरै गल्ती भएको छ, समयमै साइट क्लियर गर्न सकेनौं,’ उनले भने, ‘भोलि यही कारणले विदेशी ठेकेदारले क्षतिपूर्ति दाबी गरे भने ठूलो रकम तिर्नुपर्छ, पूर्वतयारीबिना ठेक्का लगाउनु गलत छ ।’

प्रकाशित : जेष्ठ १२, २०८० ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

एकै गाउँका ६ युवा सगरमाथामा

गोर्खा लाप्राकका सन्दीप गुरुङ, युक्त गुरुङ, सुमन गुरुङ, बिसबहादुर गुरुङ, रामबहादुर गुरुङ र इमान गुरुङले एकै सिजनमा चुमे सर्वोच्च शिखर
हरिराम उप्रेती

गोरखा — धार्चे गाउँपालिका–४ लाप्राकका सन्दीप गुरुङ सानैदेखि मनास्लु क्षेत्र भ्रमणमा आएका पर्यटकसँग झुम्मिन्थे । क्याम्प ट्रेल गर्दै मनास्लु जाने पर्यटकको बास लाप्राकमा हुन्थ्यो, कक्षा ६ पढ्दै सन्दीपले उनीहरूको भरिया बनेर लार्केपास गर्ने अवसर पाए ।

त्यसपछि ट्रेकिङ क्षेत्रमै जीवन बिताउने योजना बुनेका उनी एलएलसीपछि पर्यटकको भरिया बनेर ट्रेकिङ क्षेत्रमा होमिए । भरिया बनेको दशक नबित्दै २५ वर्षीय सन्दीपले सगरमाथाको सफल आरोहण गरेका छन् । उनले गत वैशाख २३ मा सर्वोच्च शिखर चुमेका हुन् ।

‘हिमाल आरोहण गर्न धेरै चुनौती छ,’ सन्दीप भन्छन्, ‘ट्रेकिङ क्षेत्रमा लागेपछि ६ हजार मिटर उचाइको ६ वटा पिक चढेको छु, त्यही अनुभवले सगरमाथा चढ्न सकेकामा गर्व लागेको छ ।’ उनले इलिट एक्सपेड कम्पनीमार्फत हिमाल आरोहण गरेका हुन् । अब पाकिस्तानको केटु र ब्रोडपिक आरोहण गर्ने उनको योजना छ ।

यसै वर्षको सिजनमा सन्दीपसहित लाप्राकका ६ युवाले सगरमाथाको सफल आरोहण गरेका छन् । युक्त गुरुङ, सुमन गुरुङ, बिसबहादुर गुरुङ, रामबहादुर गुरुङ र इमान गुरुङले गतसाता सर्वोच्च शिखर चुमेसँगै गाउँभरि चर्चा भएको छ ।

युक्तले गत मंगलबार सातौंपटक सगरमाथाको शिखर चुमेर गुरुङ समुदायबाट सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने रेकर्ड राखेका छन् । उनले पनि इलिट एक्सपेड कम्पनीमार्फत आरोहण गरेका हुन् । उनले २२ वर्षको उमेरमा पहिलो पटक सन् २०११ मा सगरमाथा आरोहण गरेका थिए । त्यसपछि २०१७, २०१८, २०१९ तथा २०२२ मा दुई पटक सगरमाथा शिखर चुमेका थिए । ‘ट्रेकिङ क्षेत्रमा आबद्ध भएको १८ वर्ष भयो, मिहिनेत गरेपछि फल पाउने रहेछ,’ उनले भने ।


१५ वर्षदेखि ट्रेकिङ क्षेत्रमा आबद्ध २८ वर्षीय रामबहादुरले गत वैशाख २० मा सर्वोच्च शिखर टेकेका हुन् । ‘स्कुल पढ्दैदेखि दसैं–तिहारको बिदामा पर्यटकको भारी बोक्न जान्थ्यौँ, एसएलसी सिध्याएपछि यसै क्षेत्रमा भरिया भएर काम गर्दै पछि गाइड बनेँ,’ उनले भने, ‘काम गर्दै जाँदा अहिले एभरेस्ट पनि चढ्ने मौका मिल्यो ।’ सुरुका पाइला अप्ठ्यारा भए पनि शिखर चुमिसकेपछि छुट्टै आनन्द आउने राम बताउँछन् । अब उनी मनास्लु हिमाल चढ्ने योजनामा छन् ।

२४ वर्षीय ओम गुरुङले पनि यही सिजनमा सगरमाथाको सफल आरोहण गरे । उनले गत मंगलबार दिउँसो २ बजे सगरमाथाको शिखर चुमेका हुन् । गाउँका अग्रजहरूको बाटो पछ्याउँदै ट्रेकिङ क्षेत्रमा जोडिएको उनको भनाइ छ ।


गण्डकी प्रदेशका पहिलो सगरमाथा आरोहीका रूपमा इमानसिं गुरुङको नाम आउँछ । सन् २००० मा सगरमाथाको सफल आरोहण गरेका उनको २००५ मा मनाङको कङगारु हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी निधन भएको थियो ।

यसरी कीर्तिमानी अगुवालाई पछ्याउँदै लाप्राक गाउँका युवा प्रत्यक्ष–अप्रत्यक्ष ट्रेकिङ क्षेत्रमा जोडिएका हुन् । लाप्राकका करिब ६० प्रतिशत स्थानीय पर्यटन तथा पर्वतारोहण क्षेत्रमा छन् । सगरमाथा आरोही, माउन्टेन गाइड, ट्रेकिङ गाइड, असिस्टेन्ट गाइडदेखि सहयोगीको भूमिकामा आबद्ध छन् । लाप्राक घर भएका अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक ४ जना छन् । उनीहरूले नै पर्वतारोहण पथप्रदर्शको प्रशिक्षण गराउँदै आएका छन् । अधिकांश स्थानीयले पर्यटन व्यवसायलाई मुख्य पेसा बनाएपछि धार्चेलाई ‘आरोही गाउँपालिका’ घोषणाको माग पनि उठ्दै आएको छ ।


लाप्राकका अधिकांश युवा ट्रेकिङ क्षेत्रमै आबद्ध भएकाले यो वडालाई आरोहीको गाउँको रूपमा परिचित गराउनुपर्ने धार्चे–४ का रोजन गुरुङ बताउँछन् । ‘एउटै वडाको नौ जनाले सगरमाथा आरोहण गरिसकेका छन्,’ उनले भने, ‘मनास्लु र अरू पिक चढ्ने पनि धेरै छन् । यो गाउँको मात्र नभएर जिल्लाकै गौरवको कुरो हो । यसले गाउँका युवालाई ट्रेकिङ क्षेत्रमा लाग्न अझै उत्साह थपेको छ । लाप्राकलाई आरोही गाउँ घोषणा गर्न पालिका र प्रदेश सरकारले पनि पहल थाल्नुपर्छ ।’

प्रकाशित : जेष्ठ १२, २०८० ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×