अतिकम विकसितबाट स्तरोन्नति हुँदा नेपाललाई पर्ने प्रभावबारे महासंघ अध्यक्ष र राष्ट्रसंघ आवासीय संयोजकबीच छलफल 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हाना सिंगर–हमदीबीच अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा नेपाललाई पर्ने प्रभावबारे छलफल भएको छ । अतिकम विकसित मुलुकबाट नेपालको स्तरोन्नति हुँदा पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्न ढकालले सिंगरलाई आग्रह गरे ।

साना तथा मझौला उद्योग व्यावसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँग समन्वयका विषयमा सहकार्य गर्नेबारे पनि दुई संस्थाका प्रमुखबीच छलफल भएको छ । छलफलमा सिंगरले दिगो विकासका लक्ष्य कार्यान्वयन सम्बन्धमा भइरहेका प्रगतिबारे जिज्ञासा राखेका थिए ।

महासंघको नयाँ नेतृत्वले अघि सारेका पाँच प्रमुख प्राथमिकताबारे पनि ढकालले अवगत गराएका थिए । महासंघको नयाँ नेतृत्वले आर्थिक संकट समाधानको लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

सो अवसरमा आवासीय संयोजक हाना सिंगरले महासंघका अध्यक्षले राखेका विषयलाई आफूले महत्त्वका साथ लिएको बताइन् । आवासीय संयोजक हानाले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोका रुपमा हेरिएको उल्लेख गरिन् । स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार फार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुत्त राष्ट्रसंघले सहकार्य गर्न सक्ने उनको भनाइ छ ।


प्रकाशित : जेष्ठ ११, २०८० १९:०८
प्रतिक्रिया
पठाउनुहोस्

गाउँले यार्सा खोज्न जाँदा १४ गाउँ सुनसान

राजबहादुर शाही

मुगु — मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय यार्सा खोज्न पाटन गएपछि १४ वटा गाउँ सुनसान भएका छन् । मुगु, कार्ति, किम्री, ताखा, खारी, रिउस, पुवा, माग्री, मह, सेरोक, रिउसलगायत १४ गाउँका महिला, पुरुष र ५ वर्ष उमेरभन्दा माथिका बालबालिका यार्सा खोज्न पाटन उक्लिएपछि घर बस्ती सुनसान भएका हुन् ।

पशुचौपाया नभएका स्थानीयहरू घरमा ताला लगाएर यार्सा टिप्न पाटनतिर हिँडेका छन् भने घरमा पशुचौपाया भएका स्थानीयहरू एक जना गोठालो घरमा छाडेर सम्पूर्ण परिवार नै यार्सा खोज्न हिँडेका छन् ।

सबै स्थानीय यार्सा टिप्न पाटनतर्फ लागेपछि गाउँ सुनसान भएको मुगु गाउँका सोनाम तामाङले बताए । उनले भने, ‘गाउँमा हिँड्न नसक्ने वृद्धवृद्धा, सुत्केरी तथा गर्भवती महिला र बालबालिका मात्र छन् ।’

कोरोना महामारीले चार वर्षदेखि यार्सा टिप्न नपाएकाले यो पटक धेरै पाइने र बढी पैसा कमाउन सकिने लोभले गाउँ नै छाडेर स्थानीय यार्सा टिप्न पाटनतर्फ लागेका हुन् ।

चामल, मैदा, नुन, तेल, चाउचाउलगायत खाद्यवस्तु बोकेरै एक महिनासम्मका लागि यार्सा टिप्न पाटन हिँडेका छन् । कक्षा ५ देखि १० कक्षामा अध्यायरत विद्यार्थीहरू पनि पैसाको लोभले यार्सा टिप्न पाटन जाँदा विद्यालय पनि सुनसान भएका छन् ।

यार्सा खोज्ने सिजनमा गाउँबस्ती सुनसान हुने मुगुम कार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले यार्सा टिप्न पाटन गएका स्थानीय करिब एक महिनापछि गाउँ फर्किने बताए ।

प्रकाशित : जेष्ठ ११, २०८० १९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×