कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकी कम्पनीको चिपमा चीनले किन लगायो प्रतिबन्ध ?

राष्ट्रिय सुरक्षामा जोखिम ल्याउन सक्ने' भन्दै चीनले सूचना प्रविधि कम्पनीका सञ्चालकहरूलाई माइक्रोन टेक्नोलोजीसँग चिप नकिन्न निर्देशन दिएको छ ।
सजना बराल

काठमाडौँ — चीनले अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीका उत्पादनमा प्रतिबन्ध लगाएको छ । 'राष्ट्रिय सुरक्षामा जोखिम ल्याउन सक्ने' भन्दै चीनले सूचना प्रविधि कम्पनीका सञ्चालकहरूलाई माइक्रोन टेक्नोलोजीसँग खरिद कार्य नगर्न निर्देशन दिएको छ ।

विश्वका प्रभावशाली देशहरूको संगठन जी-सेभेनको हालै सम्पन्न बैठकले 'सेमिकन्डक्टर चिपको उत्पादन र विकासमा सहकार्य गर्ने र चीनप्रतिको निर्भरता कम गर्दै लाने' लगायत विषयमा छलफल गरेको थियो । त्यसको प्रतिक्रियास्वरूप चीनले अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीका उत्पादनमा प्रतिबन्ध लगाएको छ । चीनको साइबर एडमिनिस्ट्रेसन अर्थात क्याकले आइतबार 'राष्ट्रिय सुरक्षामा जोखिम ल्याउनसक्ने' भन्दै चीनका महत्त्वपूर्ण सूचना तथा अन्य प्रविधिका सञ्चालकहरूलाई माइक्रोन टेक्नोलोजीसँग खरिद कार्य नगर्नुु भन्ने व्यहोराको निर्देशनात्मक विज्ञप्ति जारी गरेको हो ।

अमेरिका र चीनलगायत अन्य विकसित देशबीच केही समययता बढ्दो प्राविधिक तुसको यो पछिल्लो संकेत हो । अमेरिकाले संसद्बाट कानुन नै पारित गरेर चिनियाँ कम्पनीहरूलाई कस्न सुरू गरेको महिनौंपछि चीनले पहिलोपटक कुनै अमेरिकी कम्पनीलाई चिपको विषय लिएर प्रतिबन्ध लगाएको हो । जी-सेभेन बैठकबाट बाहिरिने क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँगको आफ्नो सम्बन्धलाई जोखिम न्यूनीकरण र विविधता बढाउनेतिर लग्ने भन्दै आपूर्ति संयन्त्रको दायरा बढाउने छलफल भएको प्रतिक्रिया दिएका थिए ।

जी-सेभेनको आधिकारिक विज्ञप्तिमा पनि चीनको 'वित्तीय दबाबको अधिक प्रयोग' को आलोचना गरिएको छ । बीबीसीका अनुसार चीन माइक्रोनको प्रमुख बजारमध्ये एक हो र कम्पनीको कूल कारोबारको १० प्रतिशत हिस्सा चीनबाट आउने गरेको छ । सन् २०२२ मा झन्डै ३१ अर्ब डलर कमाइ गरेको सो कम्पनीले लगभग ३.३ अर्ब डलरभन्दा बढीको आम्दानी चीनबाट प्राप्त गरेको उसको प्रतिवेदनमा उल्लेख छ । गएको साता मात्र सो कम्पनीले जापानमा प्रविधि विकासको लागि ३.६ अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो ।

अमेरिकाको वाणिज्य मन्त्रालयले चीनको यो प्रतिबन्धलाई निराधार कदम भएको प्रतिक्रिया दिएको छ । अमेरिकाको सबैभन्दा ठूलो चिप निर्माता माइक्रोनले भने आफूहरूले क्याकको पत्र प्राप्त गरेको र स्थितिको मूल्यांकन गरिरहनुका साथै चिनियाँ अधिकारीहरूसँगको संवाद जारी राख्ने जनाएको छ ।

सन् २०२२ को अक्टोबरमा एक कानुन नै पारित गरेर अमेरिकाले आफ्नो देशका कम्पनीहरूलाई चीनले सैन्य प्रयोजनका लागि दुरूपयोग गर्नसक्ने भन्दै सेमिकन्डक्टर चिप, चिप निर्माण गर्ने उपकरणहरूको आपूर्तिमा प्रतिबन्ध लगाएको थियो । त्यति मात्र नभई आफ्ना नागरिकहरूलाई चिनियाँ सेमिकन्डक्टर उत्पादकहरूसँग काम गर्नमा समेत रोक लगाएको थियो । डिसेम्बरमा फेरि अमेरिकाले सो दायरा बढाउँदै चर्चित याङजे मेमोरी टेक्नोलोजीलगायत चीनका २१ प्रमुख प्रविधि कम्पनीहरूलाई वाणिज्य मन्त्रालयको कालोसूचिमै राखेर प्रतिबन्ध लगाएको थियो । त्यसयता याङ्जेलाई बिनाअनुमति अमेरिकी उत्पादन खरिदमा रोक लगाइएको छ। त्यसलाई पछ्याउँदै जापान, ताइवान, नेदरल्यान्ड्स लगायत देशले पनि ती कम्पनीहरूसँगको कारोबारमा अनौपचारिक प्रतिबन्ध लगाएका थिए ।

कोभिड-१९ को महामारीपछि अमेरिका र चीनबीच सेमिकन्डक्टर चिपहरूको उत्पादन, विकास र आपूर्तिलाई लिएर विवाद सुरू भएको थियो । प्रविधिको विकाससँगै विद्युतीय, चिकित्सा, रक्षा र आर्टिफिसियल इन्टेलिजेन्ससमेत कैयौं क्षेत्रमा सेमिकन्डक्टर चिपको माग बढेको छ भने रूस-युक्रेन युद्ध र चीन-ताइवानबीच बढ्दो तनावसँगै विश्वका दुई ठूला अर्थतन्त्र खुला रूपमै प्रविधिको लडाइँमा उत्रिएपछि चिप बजार र विश्व अर्थतन्त्रमा यसले पार्ने प्रभाव अझै अनिश्चित बनेको विश्लेषकहरूको राय छ ।

अमेरिकाको प्रतिबन्धको प्रत्युत्तरमा चीनले आफ्ना चिप निर्माता कम्पनीहरूलाई आगामी दशकमा १४३ अर्ब अमेरिकी डलर बराबरको सहायता उपलब्ध गराउने घोषणा गरिसकेको छ । साथै, चिनियाँ अधिकारीहरू चिप निर्माण र उत्पादनमा आत्मनिर्भर बन्ने प्रयास निरन्तर रहेको बताउँदै आएका छन् । चिप बजारको अनिश्चितता हेरेर जापानले आफ्नै प्रविधि विकासका लागि २० अर्ब र युरोपेली संघले सेमिकन्डक्टर चिपको उत्पादनमा ४३ अर्ब अमेरिकी डलरको सुरुवाती लगानी गर्ने घोषणा गरिसकेका छन् । अमेरिकी चिप निर्माता कम्पनीलाई प्रतिबन्ध नै लगाउने कदममा चीन उत्रिएको भने यो पहिलो पटक हो ।

चीनले विश्वको सेमिकन्डक्टर उत्पादनको लगभग १६ प्रतिशत हिस्सा ओगटेको छ । माइक्रोनमाथि प्रतिबन्धको घोषणा गर्नुअघि चीनले अमेरिकाद्वारा प्रतिबन्धित याङ्जेलाई झन्डै २ अर्ब अमेरिकी डलर बराबरको तत्काल आर्थिक सहयोग उपलब्ध गराएको थियो । यो सहयोगले सो कम्पनीलाई अमेरिकाको प्रतिबन्धबाट तत्काललाई जोगिन र विस्तारै सामसङ वा एस हाइनिक्सको हाराहारीमा पुग्न सघाउने चीनको अनुमान छ । शेन्जेन विशेष आर्थिक क्षेत्रबाट प्रकाशित हुने एक दैनिकका अनुसार शेन्जेनको एक कम्पनी पावेभ इलेक्ट्रोनिक टेक्नोलोजीले केही प्रकारका चिपहरूको ठूलो संख्यामा उत्पादन सुरू गरिसकेको छ ।

ताइवानी प्राध्यापक लिना सु नान भूराजनीतिक चालबाजीमा आधारित पछिल्लो प्रतिबन्धले चीनलाई नै नोक्सान हुने तर यो कदम राष्ट्रपति सीले राष्ट्रियताको भावना बढाउन र जी-सेभेनको अघिल्तिर आफू बलियो रहेको जनाउन उठाएको दाबी गर्छन् । भ्वाइस अफ अमेरिकासँगको कुराकानीमा उनले भनेका छन्, 'यो चर्चित मार्शल आर्टस् मुभमा जस्तो देखिने कदम हो जसले चीन र माइक्रोन दुवैलाई घाटा पुर्‍याउनेछ । तर चीनले लेखाजोखा गरेकै हुनुपर्छ, आफैंले आफूलाई पुर्‍याएको चोट घातक भने हुँदैन ।'

(एजेन्सीको सहयोगमा)

प्रकाशित : जेष्ठ १०, २०८० ११:५४
प्रतिक्रिया
पठाउनुहोस्

पब्जीका ‘पेनकिलर’

पब्जीको दुनियाँमा हराइरहेका सञ्जन गौतम (सीआर सेभेन हो र) एक दिन लाइभमा देखा परेनन् भने के भयो र कहाँ हरायौ भनेर सोसल मिडियाभरि म्यासेज भरिन्छन् । उनलाई लाइभमा नदेख्दा कतिलाई निद्रै लाग्दैन । त्यसैले त उनको उपनाम बनेको छ, ‘पेनकिलर’ र ‘स्लिपिङ ट्याबलेट’ । 
सजना बराल

काठमाडौँ — करिब दुई वर्ष भयो, सञ्जन गौतमले युट्युब र पब्जीबाट बिरलै छुट्टी लिएका छन् । हरेक रात ९/१० बजेदेखि बिहानसम्म युट्युबमा लाइभ आएर उनी कोठामा एक्लै खासखुस वा कहिलेकाहीं त चिच्याइरहेका हुन्छन् ।

पब्जी र युट्युबको भर्चुअल दुनियाँमा भने उनीसँग ‘हो र’ ग्याङका तीन टोली र सयौं दर्शकसमेत मध्यरातको लाइभ अवधिभर मस्त बात मारिरहेका हुन्छन् । जात, धर्म, राजनीतिसँग नजोडिएका र बेटिङजस्ता प्रतिबन्धित विषयमा बाहेक सञ्जनहरू चिकेन डिनर लक्ष्य नभेट्टाउन्जेल विशेषतः दैनिक जीवनका सामान्य भलाकुसारी र गेमभित्रका गतिविधिमा टिप्पणी गर्दै आफू र अरूलाई हँसाउन तल्लीन हुन्छन् । बातका विषय र बोलीचालीका शब्दहरू कहिलेकाहीं कतिलाई अपाच्य नलाग्ला भन्न सकिन्न ।

‘एक दिन लाइभ आएन भने के भयो, कहाँ हरायौ भनेर सोसल मिडियाका इनबक्स म्यासेजै म्यासेजले भरिन्छन्,’ सञ्जन भन्छन्, ‘हामी लाइभ नआएसम्म कतिलाई निद्रै लाग्दैन रे ! मलाई त भ्युअरहरूले पेनकिलर, स्लिपिङ ट्याबलेट के–के नाम दिएका छन् । हाम्रो लाइभ हेरेपछि आनन्द आउँछ रे, दिनभरिको थकाइ भुल्छन् रे, यसले मेडिसिनको काम गर्छ रे ।’ सञ्जन र उनको टोलीले गर्ने पब्जी मोबाइल युट्युब लाइभ हरेक दिन औसतमा ४ देखि ६ हजार दर्शकले हेर्ने गरेका छन् । कुनै बेला १२ हजारसम्म भ्युअर्स पुग्ने गरेको उनले बताए । उनको युट्युब च्यानललाई झन्डै ४ लाखले सब्स्क्राइब गरेका छन् । पछिल्लो समय टिकटकबाट पनि लाइभस्ट्रिम गर्ने गरेको बताए । टिकटकमा जथाभावी फेक एकाउन्ट बनेकामा झ्याउ मानिरहेका उनी एकाउन्ट भेरिफिकेसनका लागि प्रक्रिया पुर्‍याउन कसरत गर्दै छन् ।

सञ्जन नेपालका चर्चित अनलाइन भिडियो गेम स्ट्रिमरमध्ये एक हुन् । तर यत्तिका लामो पृष्ठभूमिसहित यो औपचारिक नामले चिनाउँदा कतिपयलाई दुविधा हुन सक्छ किनभने उनी सञ्जनभन्दा पनि ‘सीआर सेभेन हो र’ का रूपमा गेमिङ सर्कल र युवापुस्तामा बढी लोकप्रिय छन् । उनीसँग लाइभ पब्जी खेल्ने सेक्री, मामा, लिम्बे, साँढे र विस्नेसहितको टोलीलाई ‘हो र ग्याङ’ भन्ने गरिन्छ । ग्याङका सदस्यलाई सीआर सेभेनले मासिक तलबै दिएर पब्जी लाइभ स्ट्रिमिङमा खटाएका छन् । बेलाबखत उनी विभिन्न विधाका सेलेब्रिटीहरूलाई पनि आफ्नो प्लेटफर्ममा बोलाएर पब्जी खेलाउँछन् । काठमाडौं महानगरका मेयर बालेन शाह, फुटबल खेलाडी अञ्जन विष्ट, गायक स्वप्निल शर्मालगायतले हो र ग्याङसँग पब्जी खेलेका छन् ।

सीआर सेभेनको लोकप्रियता कतिसम्म छ भने प्रशंसकहरूको टोली कहिलेकाहीं उनलाई भेट्न उनको घरमै आइपुग्छन् । घरबाहिर ढुकेर बस्नेहरूलाई उनले केही पटक ‘सम्झाइवरी’ पठाउनुपरेको छ । पब्जीमा रुचि राख्ने नेपालको सानो जमातमाझ हरेक दिन ४/५ हजार युट्युब भ्युअर्स अटुट रूपमा आउनुलाई पनि उनको लोकप्रियतासँग दाँज्न मिल्छ । पब्जी लाइभ स्ट्रिमिङको सफलताकै कारण उनले हालसम्म २०/२५ लाख रुपैयाँ त चन्दा नै वितरणसमेत गरिसकेको बताए । ‘के आफू मात्रै कमाउनु’ भन्ने लागेर उनी समाज सेवामा उदार बन्ने गरेका छन् । ‘अस्ति भर्खर एउटा अनाथ आश्रमलाई सहयोग गर्न ३ लाख रुपैयाँ संकलन गर्न खोजेका थियौं,’ उनी भन्छन्, ‘लाइभ आएको ४०/४५ मिनेटमै पैसा उठ्यो । सय/सय रुपैयाँ गरेर लाखौं जम्मा हुन्छ । हामीले पब्जीको माध्यमबाट सहयोग गरेको देख्दा यो गेम र लाइभ स्ट्रिमिङलाई लिएर मान्छेहरू पोजिटिभ भइरहेका छन् ।’

सञ्जनले युट्युबबाट मासिक ४ देखि ५ लाख रुपैयाँ, सिंगापुरको स्काइलाइट गेमिङको सदस्यका रूपमा मासिक तलब, वाच पार्टी सो, ब्रान्ड र प्रतियोगिताहरूको प्रचारलगायत विभिन्न स्रोत तथा माध्यमबाट आम्दानी गर्ने गरेका छन् । नेपालका केही ठूला संस्थाहरूले उनलाई आफ्नो ब्रान्ड एम्बासडर चुनेका छन् । यो सबै सफलताको पछाडि आफ्नो मिहिनेत, लगनशीलता र टिमवर्कलाई जस दिन्छन् सञ्जन । ‘आजभोलि मान्छेहरू पब्जी खेलेर वा मजस्तो कन्टेन्ट क्रिएटर बनेर दुई/चार दिनमै फेमस हुन खोज्छन्,’ सीआर सेभेन भन्छन्, ‘रातारात फेमस भइँदैन । कोही ढिलो, कोही चाँडो अघि बढ्ने हो, मान्छेले कहिल्यै हतारिनु वा हिम्मत हार्नु हुँदैन ।’

पब्जी लाइभ स्ट्रिमिङ गरेको पहिलो महिना युट्युबबाट २ लाख रुपैयाँ पारिश्रमिक प्राप्त गर्दा आफूलाई सपनाझैं लागेको सञ्जन सम्झन्छन् । ‘ममीले पनि पत्याउनुभएन,’ उनी भन्छन्, ‘सबैतिरबाट पैसा आउँदा सुरुमा त के भइरहेको छ जस्तो लाग्थ्यो । अहिले पनि उपहारहरूलेघर भरिएको छ । कुनै लुगा किन्न खोज्यो भने पसलेले पैसै लिन मान्दैनन् । बाटोमा केटाकेटीदेखि आमा/बुबाको उमेरका मान्छेले पनि चिनेर बोलाउँछन् । पब्जीले मेरो जिन्दगी नै फेरिदिएको छ ।’

झन्डै पाँच वर्षअघि कक्षा १२ को अध्ययन सकेर कोरिया भाषा परीक्षा (ईपीएस) मा एक नम्बरले अनुत्तीर्ण भएपछि सञ्जन अन्य थुप्रै आमनेपाली युवाझैं मलेसिया वा कुवेततिर जाने सोचमा थिए । एकताका दुर्व्यसनीमा समेत फसेको बताउँछन् उनी । सन् २०१८ मा साथीभाइले उनलाई पब्जी खेल्न नउक्साएका भए सम्भवतः आज उनी कुनै खाडी देशमा पसिना बगाइरहेका हुन्थे । हुन त अहिले पनि उनी खाडी देश नै जाने तरखरमा छन्, तर पहिले र अहिलेको उद्देश्य फरक छ । पहिला उनी रोजगारीका लागि जान खोजिरहेका थिए भने अहिले उनलाई आफ्ना प्रिय फुटबल खेलाडी क्रिस्टयानो रोनाल्डोसँग भेट्ने अभिलाषाले साउदी डोर्‍याउन लागेको छ । ‘म जन्मैदेखि सीआर सेभेन, क्रिस्टियानो रोनाल्डोको फ्यान हुँ,’ उनी भन्छन्, ‘यो महिनाको अन्त्यसम्ममा साउदी अरब गएर रोनाल्डोलाई भेट्ने योजना छ । हेरौं भेटिन्छ कि !’

सञ्जन अबका केही वर्ष पब्जी लाइभ स्ट्रिमिङमै आफूलाई प्रस्फुटित गर्न चाहन्छन् । थप रचनात्मक बन्नुबाहेक यो विधामा आफूलाई तत्काल अन्य चुनौती र प्रतिस्पर्धा नरहेको उनले बताए । ‘मान्छेहरू मैले पब्जी खेलेको हेर्न आउने होइनन्,’ उनी भन्छन्, ‘मभन्दा राम्रो खेल्ने र प्रतियोगितामा जानेहरू टन्नै छन् । मेरो लाइभमा आउनुको कारण म बोलेको, मेरो साथीहरूसँगको गफ सुन्न आउने हुन् । हामी हँसाउँछौं ।

हरेक दिन हँसाइरहन सजिलो छैन । यही नै हाम्रो लागि चुनौती हो । अरू त दुई/चार वर्षलाई भने ढुक्कै छ ।’

प्रकाशित : जेष्ठ ९, २०८० ११:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×