कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कहाँ हराए ढक–तराजु ?

अहिले बजारमा डिजिटल तराजुको प्रयोग गरिन्छ तर, तानसेनका पुराना घरहरूमा भने अहिले पनि त्यस्ता ढक, तराजु र घिउ तताउने कराई पाइन्छन्
माधव अर्याल

पाल्पा — तानसेन–३ भगवतीटोलका पुराना व्यापारी हरिप्रसाद श्रेष्ठको घरमा अझै पनि बुबाका पालामा प्रयोग भएका घिउ तताउने कराई, सामान तौलिने ढक र तराजु सुरक्षित छन् । नयाँ प्रविधिले फड्को नमार्दासम्म परम्परागत ढक र तराजु नै श्रेष्ठका बुबाले प्रयोग गर्थे । हजुरबुबाले भने माना, पाथी, धार्नी, बिसौनी नै प्रयोग गरेका हुन् ।

कहाँ हराए ढक–तराजु ?

२०४५ सालतिरबाट नयाँ प्रविधिका ढक र तराजु भित्रिन थालेको हरिप्रसादको अनुभव छ । उनका बुबा टीकाबहादुर तानसेन बजारमा त्यसबेलाका नामुद व्यापारी थिए । बुबाको मृत्युपछि भने केही समय मात्र गल्लाको व्यापार गरे । २०४८ पछिबाट भने लत्ताकपडाको व्यापार सुरु गरेका हुन् ।

त्यसअघिका वर्षमा गल्लाकै व्यापार हुन्थ्यो । तानसेनका बसपार्क, नारायणस्थान, सिल्खाटोल, भगवतीटोल, मखनटोल, असनटोल, कैलाशनगर, वसन्तपुरमा नेवार समुदायको गल्ला पसल थिए । अधिकांशले गल्ला पसल मात्र होइन, लत्ताकपडादेखि नुन, मसला, चामल पनि राख्थे । प्रायः सबैले घिउ तताउने कराई, ढक, तराजु पनि राख्ने गरेको श्रेष्ठले बताए । भगवतीटोलका टीकाबहादुर, बिर्खबहादुर पनि नामुद व्यापारी थिए । यी बाहेक जुठेप्रसाद श्रेष्ठ पनि व्यापारी नै हुन् ।

‘त्यतिबेला भारतबाट ल्याइएका ढक र तराजु प्रयोग गरिन्थ्यो,’ भगवती टोलका पुराना व्यापारी हरिले भने, ‘त्यसबेला भारतमा बनेका मात्र भित्रिन्थे, पछि भने नेपालमै बन्न थाले ।’ हेर्दा नै फरक खालका भएकाले त्यस्ता ढक र तराजु कतिपय अहिले पनि छन् । तर, प्रयोगमा नआएपछि खिया लागेर प्रयोग गर्न मिल्ने खालका छैनन् । त्यसबेला घिउको अधिक व्यापार हुन्थ्यो । घिउ तताउने ठुल्ठूला कराई हुन्थे । कालो फलामको करार्ईमा घिउ तताउने गरिन्थ्यो । ‘घिउ तताएको हेर्दै आकर्षक हुन्थ्यो,’ उनले भने, ‘ड्रममा घिउ राख्ने र तताएर बुटवल पठाउने गरिन्थ्यो ।’ कतिपय भारतीय व्यापारी पनि आउँथे । एक टिनमा ३० किलो घिउ हुन्थ्यो । त्यतिबेला माना–पाथीकै बढी प्रचलन थियो । पाल्पाको घिउलाई एक नम्बर ट्याक लगाएर भारत निकासी गरिन्थ्यो । घिउका लागि माना, पाथी, चौथी, धार्नी, छटाक, तोला, करुवाको प्रचलन थियो । तर किलोमा पनि हिसाब गरिने तानसेन नगरपालिका–५, कैलाशनगरका पुराना व्यापारी चन्द्रिकाप्रसाद सिमांगैडाले बताए । अहिले भने विज्ञान र आधुनिकताले धेरै पुराना चलन हराउँदै गएका छन् ।

परम्परागत ढक र तराजु अहिले देख्न पाइँदैन । गाउँबाट माना–पाथीमा ल्याउनेलाई किलोमा हिसाब गरेर नै दिने चलन रहेको उनले बताए । ‘हाम्रो बुबाले ५ रुपैयाँ मानामा खरिद गरेको सम्झन्छु,’ उनले भने, ‘मैले किलोमै खरिद गरेको हुँ । त्यसबेला २० रुपैयाँ किलो खरिद गरेको थिएँ ।’ अहिले बजारमा अधिकांश व्यापारी, व्यवसायीले डिजिटल तराजु प्रयोग गर्न थालेका छन् । तर, तानसेनका पुराना घरहरूमा भने अहिले पनि त्यस्ता ढक, तराजु, घिउ तताउने कराई सुरक्षित रहेको उनले बताए । अझै पनि पुराना व्यापारीको घरमा त्यस्ता ढक, तराजु छन् । ‘हामी पनि पहिले व्यापार गरिन्थ्यो,’ लेखक तथा इतिहासविद् निर्मल श्रेष्ठले भने, ‘उहिलेका ढक, तराजु, कराई कतिपयको घरमा अझै पनि सुरक्षित देखेको छु ।’ २०१८ सालतिरका ढक र तराजु अझै भएको भगवतीटोलका हरिप्रसादले बताए । कतिपयले भने पुराना घर भत्काउँदा कबाडीमा पनि बिक्री गरिसकेका छन् । पछिल्लो २० वर्षयता विद्युतीय तथा डिजिटल तराजुको प्रयोग बढेको छ ।

परम्परागत ढक र तराजु अहिले प्रयोगमै ल्याउन चाहँदैनन् । डिजिटल तराजुले दैनिक कामकाजमा सहजता ल्याएको छ । जसले गर्दा परम्परागत ढक र तराजु विस्थापित भएका हुन् । तानसेन पुरानो व्यापारिक केन्द्र हो । यहाँ बुटवलबाट मान्छेलाई बोकाएर चामल, नुन, मसला, साबुन ल्याउने चलन थियो । कतिपय व्यापारीले खच्चडलाई बोकाएर ल्याउँथे । २०२३/२४ सालपछि भारतीय बजारमा पहुँच राख्ने बटौली (बुटवल) बाट यातायातका साधन चले । पुराना व्यापारी चन्द्रिकाप्रसादका अनुसार गाउँमा मानापाथी र बजारमा ढक र तराजुमा जोखेर लिने चलन थियो । बजारमा चामल, जडीबुटी संकलन, अदुवाका लागि तराजु राख्नुपर्थ्यो ।

‘पाल्पा दरबार संग्रहालयमा घुम्न जाँदा एउटा कराई देखें,’ चन्द्रिकाप्रसादले भने, ‘त्यसले हामीलाई पुरानो व्यापार गर्दाको सम्झना दिलायो ।’ त्यो कराई बटौलीबाट ल्याएर राखिएको हो । उनका अनुसार त्यस्ता कराई तानसेनका टोलटोलमा २०२०/२२ सालसम्मै प्रशस्त हुन्थे । अहिले ती कराई कहाँ लोप भए भन्ने कसैलाई थाहा छैन । गाडी नचल्दै नै त्यस्ता ढक, तराजु बोकाएर ल्याएका हुन् । पछि बाटो जेनतेन चलेपछि गाडीमा ल्याउन थालियो । बजार क्षेत्रमा मानापाथी, धार्नी विस्थापित हुने क्रममा किलोको प्रचलन आयो । ढक, तराजु पनि व्यापारीका लागि आवश्यक नै भयो । राणाकालपछि किलोको प्रचलन बढी भयो । इतिहासविद् श्रेष्ठका अनुसार बजारमा किलोको प्रचलन आइसक्दा गाउँमा भने अझै केही वर्ष बाँकी नै रह्यो ।

‘बजार क्षेत्रमा किलोको प्रचलन आएको धेरै वर्षसम्म पनि ग्रामीण भेगबाट आउनेहरूले हिसाबकिताब नै नजान्ने समस्या थियो,’ उनले भने, ‘उनीहरूले ल्याएका सामग्रीलाई सोही अनुसार अर्थ्याएर लिनुपर्ने हुन्थ्यो ।’ २०२२ देखि २०४० सालसम्म पुरानो व्यापारिक केन्द्र तानसेन बजार गुल्जार नै थियो । त्यसबेला पहाडी जिल्लाका बासिन्दा खरिदारीका लागि तानसेन आउनै पर्ने हुन्थ्यो । बिस्तारै बजार फैलिंदै गएपछि भने गुल्मीको रिडी, खर्ज्याङ, रुद्रवेणीमा कतिपय स्थानमा बजार बस्यो । सवारी साधन नचल्ने भएकाले तानसेनबाट खच्चडमा बोकाएर सामान लग्नुपर्ने बाध्यता थियो ।

कैलाशनगरका पुराना व्यापारी सिमांगैडाका अनुसार गुल्मी, अर्घाखाँची, बाग्लुङ, पर्वत, स्याङ्जाको पश्चिम, बेनी, मुस्ताङसम्मका स्थानीय व्यापारीले घिउ, जडीबुटी, अदुवा लिएर आउने गर्थे । ‘घरलाई आवश्यक सामान र गाउँका लागि थप सामग्री लैजाने छोटे व्यापारी धेरै थिए,’ उनले भने, ‘हामीले कपडादेखि लिएर खाद्यान्न, नुन, मसला राखिन्थ्यो । उनीहरूले ल्याएका सामान तौलेर सोहीअनुसारको सामान दिएर पठाइन्थ्यो ।’ माना, पाथी, धार्नी हुँदै पछि किलोको चलन आएको हो । घिउका लागि कराई, टिन हुन्थे । चार पाथी जाने टिनमा बोकेर घिउ ल्याउने चलन थियो । २०२८ सालपछि नेपालकै ढक, तराजु प्रयोग गरिन्थ्यो । त्यसअघि भारतबाट ल्याइन्थ्यो । गोलो गोलो ढक हुन्थ्यो । तराजु पनि अलि फरक खालको हुन्थ्यो । पछि अग्लो खालको आउन थाल्यो । कतिपयले ढकअनुसारको ढुंगा तौलेर पनि राखेको पाइन्थ्यो । पछिल्ला दिनमा भने डिजिटल तराजु प्रयोग हुन थालेको पुराना व्यापारी सिंमागैडाले बताए । त्यसबेलामा तानसेनमा नेवार समुदायको बाहुल्य थियो । तानसेनका कैलाशनगर र नारायणटोल नेवारी व्यापारीका मुख्य नाका हुन् । अधिकांश ग्राहक र छोटे व्यापारी भने अन्य समुदायका हुन्थे । ‘धेरै भरिया भनेको मगर समुदायका हुन्थे,’ इतिहासविद् निर्मलले भने, ‘त्यसबेलाका व्यापारीले व्यापार गरेको हेर्दा गजब थियो ।’

२०२० सालदेखि ढक, तराजु, मानापाथी प्रयोग गरेको देखेको व्यापारी उत्तममान बज्राचार्यले बताए । ‘त्यसबेलामा अधिकांश नेवारी समुदाय व्यापारी थिए,’ उनले भने, ‘अर्को पक्ष के भने ती ढक, तराजु, मानापाथी, धार्नीलाई हरेक वर्ष पूजा गर्ने चलन थियो । त्यस्ता सामानलाई व्यापारीले भगवान्जस्तै मान्ने चलन थियो ।’ पछिल्ला दिनमा भने त्यस्ता ढक, तराजुलाई परम्परागतको तुलनामा डिजिटल तराजुबाट नापतौल गर्न सजिलो र छिटो हुन्छ । नापतौल भइरहँदा उपभोक्ताले प्रस्ट अंक देख्ने भएकाले ठगी हुने सम्भावना पनि हुन्न । ‘पछिल्ला वर्षमा पुराना ढक, तराजु देख्नै छाडियो,’ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले भने, ‘त्यस बेलाका सामानहरू अब इतिहासजस्तै भएको छ ।’ उनका अनुसार त्यस्ता ढक, तराजु, मानापाथी, धार्नीहरू संग्रहालयमा राख्नुपर्ने र नयाँ पुस्तालाई जानकारी दिनुपर्छ ।

हुन त पम्परगत ढक, तराजुबाट नापतौल गर्ने क्रममा मापदण्डभन्दा बढी या कम देखिनु यसको अवगुणका रूपमा लिइएको छ । प्रत्येक वर्ष ढक, तराजुको फलाम खिइँदै जान्छ । ‘त्यसैले पनि डिजिटल तराजु प्रयोग बढी भएको हो,’ व्यापारी हरि थापाले भने, ‘पछिल्ला वर्षमा आधुनिकताका कारण पनि यसलाई प्रयोग गरिएको हो ।’ पछिल्लो समयमा डिजिटल तथा विद्युतीय ढक, तराजु प्रयोगका कारण नापतौलको उजुरी पनि पर्न छाडेको छ । उपभोक्ता मञ्चका अगुवा माधव नेपाल पछिल्ला वर्षमा डिजिटलका कारण त्यस्ता गुनासामा कमी भएको हो । ‘पहिलेका ढक र तराजुबाट ग्राहकले ठगिएको महसुस गर्थे,’ उनले भने, ‘त्यसपछि धेरै गुनासा सुन्नुपर्ने हुन्थ्यो ।’ बाँकी पृष्ठ १०

बजारमा किनबेच हुने विभिन्न बस्तु तथा उपभोग्य सामानको सही नाप हुन थालेको उनले बताए । ‘उहिलेका ढक, तराजु, मानापाथीलाई अहिलेको पुस्तामा जानकारी दिनुपर्ने बेला भइसकेको छ,’ उनले भने, ‘विद्युतीय तराजु प्रयोग बढेपछि भने उपभोक्ताले पनि सहज महसुस गरेका छन् ।’

संस्कृतिविद् मदन देउरालीका अनुसार पुराना सामग्री देख्न पनि मुस्किल परेको छ । अब संग्रहालयमा राख्ने हो भने मात्र नयाँ पुस्ताले थाहा पाउने उनले बताए । २०२५ सालमा स्टान्डर्ड नाप र तौल ऐन सरकारले ल्यायो । नेपालभर मेट्रिक पद्धतिमा आधारित नाप र तौलको स्टान्डर्ड कायम गरेको थियो । यस ऐनलाई विभिन्न समयमा संशोधन गरेको छ । तानसेनका इतिहासका जानकार राजेन्द्र गोपाल सिंह अबका दिनमा पुराना त्यस्ता सामग्री संकलन गरेर यसको संरक्षण गर्नुपर्ने अवस्था आएको बताउँछन् । ‘तानसेन बजारका पसलमा देखिने ढक, तराजु, धार्नी अहिले कतै देख्न नपाइने भएकाले यस्ता सामग्री संकलनमा सरोकारवाला निकायको ध्यान दिनुपर्छ,’ उनले भने । सिंहले पनि पुराना सामग्री संकलन अभियान थालेका हुन् । २०७१ सालमा सिंहले सम्पदा प्रतिष्ठानमार्फत ‘पाल्पा संग्रहालय’ स्थापना गरेका थिए ।

उनले सेनकालीन, राणाकालीन उपभोग सामग्री, हस्तलिखित दस्तावेज, पुस्तकदेखि दैनिक जीवनमा प्रयोग भएका पुराना सिक्का, ढक, तराजु, घडी, क्यामेरा आदि थुप्रै सामग्री संकलन गरेका छन् । ‘हजारौं वर्षदेखि प्रयोग हुँदै आएका कैयौं उपभोग्य सामग्री छन्,’ उनले भने, ‘हामीले पित्तल, फलाम, स्टिल, गिल्टी वा प्लास्टिकका सामग्री कसरी परिणत हुँदै गए भन्ने हेर्न सकिने व्यवस्था मिलाएको छु ।’ विगतको हाम्रो समाज वा इतिहास बुझ्न ऐतिहासिक मानिने यस्ता सामग्री उत्तिकै महत्त्वपूर्ण हुने इतिहासका जानकार सिंहले बताए । प्रविधिमा कसरी परिवर्तित भयो भन्ने विषय बुझ्न पनि यस्ता सामग्रीबाट नै सकिने उनले बताए । ‘हामीले हाम्रो दैनिक जीवनमा के त्याग्दै गयौं, कसरी के के रोज्यौं भन्ने कुरा पनि थाहा पाउने अवस्था हुनुपर्छ,’ उनले भने, ‘विगतका त्यस्ता सामग्री वर्तमानमा बिस्तारै लोप हुँदै छ भन्ने जानकारी लिन पनि सहज हुनेछ ।’

प्रकाशित : जेष्ठ ४, २०८० ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?