१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हिमपातले आधारशिविरमै रोकिए आरोही

सगरमाथाका लागि ४३ आरोहण समूहका ४ सय ६६ जनाले अनुमति लिएका छन्
लगातार बाक्लो हिउँ परिरहेकाले दोस्रो शिविरबाट माथि जान सक्ने सम्भावना नरहेको दाबी 
भानुभक्त निरौला

सोलुखुम्बु — निरन्तरको हिमपातले वसन्तयामको हिमाल आरोहण प्रभावित बनेको छ । हिमाल आरोहणको सिजन सुरु भए पनि बेमौसममा हिमपात हुँदा आरोहण अवरुद्ध हुन पुगेको हो । ७० वर्षको इतिहासमा सबैभन्दा बढीले सगरमाथा आरोहणको अनुमति लिए पनि मौसम प्रतिकूल हुँदा उनीहरू आधारशिविरमै रोकिएका छन् । 

हिमपातले आधारशिविरमै रोकिए आरोही

सगरमाथाका लागि ४३ आरोहण समूहका ४ सय ६६ जनाले अनुमति लिएका छन् । अहिले विभिन्न हिमाल आरोहणका लागि गएका १ हजार ३ सय स्वदेशी तथा विदेशी आधारशिविरमा रहेको सगरमाथा प्रदूषण नियन्त्रण समितिले जनाएको छ ।

आधारशिविरमा यतिका आरोहीको ओइरो लागेको यो पहिलो पटक हो । ‘निरन्तरको हिमपातले हिमाल चढ्न सक्ने अवस्था छैन,’ समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने । पाँच दिनदेखि खुम्बु क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । ‘नाम्चेभन्दा माथि दिनैपिच्छे बाक्लो हिउँ परिरहेको छ, चिसो पनि त्यत्तिकै बढिरहेको छ,’ सगरमाथा राष्ट्रिय निकुञ्जका वार्डेन भूमिराज उपाध्यायले भने । बाक्लो हिउँ लगातार परिरहेकाले दोस्रो शिविरबाट माथि जान सक्ने सम्भावना नरहेको समितिका अध्यक्ष शेर्पाले जनाए । ‘त्यसैले अहिले आरोहीहरू पहिलो र दोस्रो शिविरमा अभ्यास गर्दै बसिरहेका छन्,’ उनले भने ।

शेर्पाहरूले आरोहणका लागि सामान ओसार्ने कामलाई भने निरन्तरता दिएका छन् । केही आरोही भने अनुकूल मौसमको पर्खाइमा नाम्चे झर्न थालेका छन् । ‘बेस क्याम्पबाट हेलिकोप्टर चढेर बिहीबार पनि एक दर्जनभन्दा बढी आरोही नाम्चे आएका छन्,’ पर्यटन व्यवसायी छिमिकाल्देन शेर्पाले भने । अहिले दिनको ३ सय विदेशी हवाई मार्गमार्फत खुम्बु क्षेत्र प्रवेश गर्ने गरेकाले पनि स्थानीय होटल भरिभराउ छन् ।

मौसममा सुधार आउन भने अझै समय लाग्ने बताइएको छ । अझै केही दिन हिमाली भेगमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले जनाइन् । ‘शुक्रबारबाट हिमपात कम हुँदै जानेछ । तर पूरै हिमाली भेगको मौसममा सुधार आउन केही दिन लाग्छ,’ उनले भनिन् ।

प्रकाशित : वैशाख २२, २०८० ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?