कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
बेथितिको हद 

७ किलोमिटर सडक ५ वर्षमा पनि कालोपत्र गरिएन  

समयमै रकम विनियोजन नगर्दा ढिलाइ भएको ठेकेदारको भनाइ
शंकर आचार्य

पर्सा — ५ वर्षमा ७ किलोमिटर सडक कालोपत्रे गर्ने योजना सम्पन्न नहुँदा वीरगन्ज महानगरपालिका वडा नम्वर २७ स्थित ७ गाउँका करिब १५ हजार बासिन्दालाई आवागमनमा सास्ती भएको छ ।

७ किलोमिटर सडक ५ वर्षमा पनि कालोपत्र गरिएन  

ज्वाइन्ट भेन्चरका रुपमा स्वच्छन्द/पप्पु/युनाइटेड बिल्डर्स ठेकेदार कम्पनीले ६ हजार ७ सय ९५ मिटर लामो हरपतगन्ज–कलावती–कुहडी–रामपुर सडक खण्ड नालासहितस्तरोन्नति तथा कालोपत्रे गर्ने ठेक्का सम्झौता २०७५ जेठ ९ गते गरेका थिए । ७५ करोड २० लाख ८२ हजार ५ सय ५ रुपैयाँमा कम्पनीले ठेक्का पाएको हो ।

तर तेस्रो पटक म्याद थप्दा पनि निर्माण सम्पन्न गर्ने अन्तिम म्याद २०७९ चैत ३० सम्म काम सम्पन्न नगरी अलपत्र पारेर छोडेका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जले योसहित वीरगन्जका ग्रामिण भेगमा पर्ने अन्य १७ वटा सडक खण्ड निर्माणको ठेक्का लगाएको थियो । तीमध्ये अधिकांश ठेक्काको काम सम्पन्न भइसक्दा यो सडक खण्डको ठेक्काको काम २० प्रतिशत पनि सम्पन्न हुन सकेको छैन ।

स्थानीय शम्भु यादवले ५ वर्षदेखि ठेकेदार कम्पनीले थोरै थोरै काम गर्ने र अल्झाएर राख्ने गरेको गुनासो गरे । ‘बर्सेनि ठेकेदार कम्पनीले थोरै काम गरेर छोड्ने गरेका छन्,’ उनले भने, ‘जसौली, रामपुर, घुर्मी, कुहडी, अपौनी, हरपतगंज, गधैया टोला गरी ७ गाउँका करिब १५ हजार बासिन्दालाई आवागमनमा समस्या भइरहेको छ । बर्षायाममा यो बाटो हिँडनै सकिँदैन ।’

आफूहरुले यो समस्या लिएर पटक पटक सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्ज र जिल्ला प्रशासन कार्यालय धाउँदा पनि कतैबाट सुनुवाई नभएको उनले बताए । ‘एक साताअघि हामीले प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई समेत भेटेर आफ्नो पिडा पोख्यौं,’ उनले भने, ‘ठेकेदारलाई कारबाही गर्ने अधिकार छैन तर काम छिटो गर्नका लागि भन्न सक्छौं भनेर सीडीओ साबले जवाफ दिनुभयो ।’

सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जका प्रमुख, इन्जिनियर विनोद सिंहले आफूले भर्खरै कार्यालयको जिम्मेवारी सम्हालेको र डेढ साताअघि आफूले जिम्मेवारी सम्हाले लगत्तै पप्पु कन्स्ट्रक्सनका व्यवस्थापन पक्षसँग अधुरो राखिएका आयोजनाहरु समयमै सम्पन्न गर्न आवश्यक छलफल गरेको बताए । ‘बैठकमा पप्पु कन्स्ट्रक्सनको व्यवस्थापन पक्षले डेढ साताभित्र काम सुरु गर्ने प्रतिबद्धता जनाएको थियो,’ उनले भने, ‘म दैनिकजसो ताकेता गरिरहेको छु ।’

पप्पु कन्स्ट्रक्सनका ओभरसियर सुजित कुशवाहाले यसै सातादेखि हरपतगन्ज तर्फबाट काम सुरु गरिएको बताए । ‘समयमा काम सम्पन्न नहुनमा सघन सहरी तथा भवन निर्माण आयोजना वीरगन्जबाट रकम नपाउनु मुख्य कारण हो,’ उनले भने, ‘समयमै कार्यालयबाट रकम बिनियोजन भइरहेको भए कामले गति लिने थियो । अहिले कामले गति लिएको छ । तर वर्षाअघि काम सम्पन्न भने हुन सक्दैन ।’

प्रकाशित : वैशाख २०, २०८० १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?