नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर  

काठमाडौँ — चालु आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर पुगेको छ । नेपाली रुपैयाँमा यो १ लाख ८२ हजार ६ सय ८३ रुपैयाँ बराबर हो । राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७९/८० को वार्षिक राष्ट्रिय लेखा तथ्यांक सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो ।

नेपालीको प्रतिव्यक्ति आय वार्षिक १ हजार ३ सय ९९ अमेरिकी डलर  

कार्यालयले गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने प्रारम्भिक अनुमान गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष थोरैले भएपनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को आकार बढेकाले प्रतिव्यक्ति आय नेपाली रुपैयाँमा सोही दरले बढेको छ । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय १ लाख ६९ हजार ३८ रुपैयाँ थियो । यसरी नेपाली रुपैयाँमा प्रतिव्यक्ति आय बढेको देखिए पनि अमेरिकी डलरमा गत वर्षकै बराबर छ ।

यो अवधिमा अमेरिकी डलरको विनिमय दर पनि बढेकाले त्यसलाई समायोजन गर्दा डलरमा प्रतिव्यक्ति आय १ हजार ३ सय ९९ नै कायम भएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक इश्वरीप्रसाद भण्डारीले बताए । कार्यालयका अनुसार गत आर्थिक वर्षको संशोधित प्रतिव्यक्ति आय पनि १ हजार ३ सय ९९ अमेरिकी डलर रहेको छ । यसरी हेर्दा गत आर्थिक वर्षको संशोधन र यो आर्थिक वर्षको प्रारम्भिक प्रतिव्यक्ति आय बराबर देखिन गएको हो ।

प्रकाशित : वैशाख १९, २०८० १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?