कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

काभ्रेको आलु कपिलवस्तुमा भण्डारण

मनोज पौडेल

कपिलवस्तु — मुलुककै अत्याधुनिक चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणपछि काभ्रेपलाञ्चोकको आलु यहाँ ल्याएर भण्डारण गर्न थालिएको छ । बुद्धभूमि नगरपालिका–१० जनकपुरमा मुलुककै अत्याधुनिक चिस्यान केन्द्र निर्माण गरिएपछि काभ्रेको आलु यहाँ ल्याएर भण्डारण गर्न थालिएको हो । अब काभ्रेको स्वादिष्ट आलु लुम्बिनी प्रदेशका बासिन्दाले पनि खान पाउने भएका छन् ।

काभ्रेको आलु कपिलवस्तुमा भण्डारण

युवा व्यवसायी आशिष शर्माले आधुनिक चिस्यानको सुविधा भएको एग्रिवस्तु कोल्ड स्टोर यहाँ सञ्चालनमा ल्याएका हुन् । कपिलवस्तुको पहिचानलाई पनि जोड्दै उनले कोल्ड स्टोरको नाम एग्रिवस्तु राखेको बताए । नेपालकै पहिलो अत्याधुनिक प्रविधियुक्त मोडिफाइड एटमोसफेयर कोल्ड स्टोर २ हजार ५ सय टन क्षमताको छ । अन्य कोल्ड स्टोरमा तापक्रम मात्रै व्यवस्थापन हुँदै आए पनि यो कोल्ड स्टोरमा तापक्रम, आर्द्रता, अक्सिजन, कार्बनडाइअक्साइड र इथेलिन व्यवस्थापन गर्ने क्षमताको रहेको सञ्चालक शर्माको दाबी छ ।

स्टोरेज गरिएका कृषि उपज कसलाई के चाहिन्छ ? त्यसैअनुसारको कक्ष बनाइएको छ । ‘कागतीका लागि इथेलिन र फलफूलका लागि आर्द्रता, अक्सिजन एवं कार्बनडाइअक्साइड व्यवस्थापन गर्ने कक्ष चाहिन्छ,’ उनले भने, ‘त्यसैले प्रविधियुक्त अत्याधुनिक भण्डारण केन्द्र निर्माण गरिएको हो ।’ यस्तो सीप र प्रविधि भएको भण्डारण कक्ष मुलुकमै अन्त कतै नभएको उनको दाबी छ । कोरोना संक्रमण र लकडाउनको समयमा सबै घरमा बसेका बेला आफू भने कृषिमै नयाँ के गर्न सकिन्छ भनेर घोत्लिएर अध्ययनमा लागेको उनले सुनाए । भारतका ठूलठूला सहरमा घुमेर अत्याधुनिक प्रविधियुक्त भण्डारण केन्द्र खोल्ने निधो गरी काम थालेको र अहिले सञ्चालनमा ल्याएको उनले बताए ।

कोल्ड स्टोरमा ८ वटा चेम्बर छन् । तरकारी, फलफूल, कृषि उपज र फ्रुजन (स्विट कोर्न, मटर कोसा र फिंगर चिप्स) लाई लामो समयसम्म उपभोग्य हुनयोग्य बनाइराख्ने गरी तयार पारिएको छ । उपभोग्य सामग्रीलाई अटोमेटिक मेसिनद्वारा फ्रुजन चेम्बरको प्रविधिसहित शून्यदेखि माइनस २५ डिग्रीसम्मको तापक्रम व्यवस्थापन गरिएको छ । स्टोरमा चाँडै बिग्रिने तरकारी र फलफूल भण्डारण गर्न सक्ने सुविधा पनि छ ।

आलु भण्डार गर्दा टुसा नपलाउने र गुलियोपना आउन नदिने सीवाईपीसी प्रविधि प्रयोग गरी स्टोरमा १ सय ५० टन काभ्रेको पाँचखालको आलु भण्डारण गरिएको छ । चितवनको गाजर पनि भण्डारण गरिएको छ । भण्डारण गरिएको आलुलाई निश्चित समय राखेर बेमौसममा मूल्य बढेका बेला ब्रान्डिङ गरी बजारमा लैजाने योजना छ ।

अहिले मुस्ताङ थकाली र पाँचखाल आलुकै नाममा ब्रान्डिङ दर्ता गरिएको सञ्चालक शर्माले जनाए । अहिले स्टोरमा ५ सय ७० टन आलु, १ सय २५ टन चितवनको गाजर र ३० टन कपिलवस्तुको बन्दागोभी राखिएको छ । प्याज, अंगुर र फ्रुजन पनि भण्डारण गरिएको छ । अदुवा, लसुन, भिन्डी, गोलभेंडा, खुर्सानी, मुला र भेडे खुर्सानी पनि भण्डारण गरिएको छ ।

करिब डेढ बिघा क्षेत्रफलमा २५ करोड रुपैयाँ लागतमा स्टोर स्थापना गरिएको हो । तरकारी र फलफूललाई कसरी व्यवस्थित किसिमले भण्डारण गर्न सकिन्छ भनेर भारतका १८/२० वटा कोल्ड स्टोरमा पुगेको शर्माले बताए । त्यहाँबाट सुझाव र सल्लाह लिएर लकडाउनका बेला योजना बनाएर काम सुरु गरेको करिब डेढ वर्षको अवधिमा कोल्ड स्टोर निर्माण पूरा गरी सञ्चालनमा ल्याएको उनले जनाए । आफूले सञ्चालन गरेको कोल्ड स्टोरमा आलुको भण्डारणसँगै प्रोसेसिङको कामसमेत सँगै अघि बढाइएको शर्माले जनाए । त्यसका लागि सीआईबीसी प्रविधि प्रयोग गरी हब्रिसाइड स्प्रे गरेर टुसा पलाउन र गुलियोपना आउन नदिने बनाइन्छ ।

चाउरी नपर्ने, टुसा नपलाउने र उत्पादनकै अवस्थाको स्वाद कायम हुने पाइएपछि काभ्रेबाट ३ सय ५० किमि पर रहेको कपिलवस्तु लगेर आलु भण्डारण गरिएको पाँचखाल नगरपालिका–७ का किसान रामशरण दंगालको भनाइ छ ।

प्रकाशित : वैशाख १७, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?