राजनीतिक दलकै कारण ठेक्कामा समस्या : अख्तियार आयुक्त अमात्य

काठमाडौँ — राजनीतिक दलकै कारण ठेक्कामा समस्या हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी आयुक्त  सुमित्रा अमात्यले बताएकी छन् । कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको इकोनमिक समिट अन्तर्गत तेस्रो सत्रको 'अर्थतन्त्रमा अवरोधः नियत कि नियति ?' कार्यक्रममा बोल्दै उनले आफ्नो क्षेत्रमा आयोजना लैजान राजनीतिक दलका नेता हतारिने गरेका कारण निर्माण क्षेत्रले गति लिन नसकेको बताइन् ।

राजनीतिक दलकै कारण ठेक्कामा समस्या : अख्तियार आयुक्त अमात्य

'धेरैजसो ठेक्काहरु पूर्व तयारीबिना गर्ने गरेको पाइएको छ,' उनले भनिन्, 'त्यसमा पनि ठेक्का लगाउने विकासे मन्त्रालय तथा निकायबीच नै समन्वय भएको पाइँदैन, जसले गर्दा आयोजनाहरु समयमै सम्पन्न हुने गरेका छैनन् ।'

ठेक्का सम्झौता हुनासाथ पेश्की रकम पाइने भएकाले ठेकेदार तत्काल रमाएपनि आयोजनामा भने काम नहुने गरेको उनले बताइन् । 'किनभने त्यहाँ जग्गा अधिग्रहण भएको हुँदैन, विस्तृत परियोजना रिपोर्ट (डीपीआर) बनिसकेको हुँदैन,' उनले भनिन्, 'कतिपय योजनामा बजेटको सुनिश्चितता नै नहुँदा नियमित काम गर्न समस्या छ ।'

राष्ट्रसेवक भएपछि जनताको पैसाबाट बनेको राज्यको ढुकुटी खर्च गर्न १० पटक सोच्नु पर्ने उनले बताइन् । 'हामी सबैले कमाएको पैसाको अंश जाने राज्यकै ढुकुटीमा हो, किनभने हामी कर तिर्छौं,' उनले भनिन्, 'कर, राजश्व र जनताकै पैसाबाट राज्य चल्ने हो । तर हामीमा खाने भनेको राज्यकै हो भन्ने सोच छ ।'

प्रकाशित : वैशाख १३, २०८० १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?