कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सानो पोखरीमा धेरै माछा पाल्न मिल्ने प्राविधिक अनुसन्धानको नतिजा उत्साहजनक 

शंकर आचार्य

पर्सा — नेपाल कृषि अनुसन्धान परिषद्, कृषि अनुसन्धान निर्देशनालय परवानीपुरमा सघन मत्स्य पालन प्रविधिबारे भइरहेको अनुसन्धानको प्रारम्भिक नतिजा उत्साहजनक देखिएको छ । कम जमिनमा ठूलो पोखरीमा भन्दा बढी माछा पालेर राम्रो आम्दानी गर्न सकिने (बायोफ्लक) प्रविधिको निर्देशनालयमा गत वर्षदेखि अनुसन्धान जारी छ ।

सानो पोखरीमा धेरै माछा पाल्न मिल्ने प्राविधिक अनुसन्धानको नतिजा उत्साहजनक 

निर्देशनालयका निर्देशक विशेश्वरप्रसाद यादवले १ वर्षदेखि जारी अनुसन्धानको नतिजा उत्साहजक रहेको बताए । ‘भारतमा व्यावसायिक माछा पालन बढी हुने राज्य पश्चिम बंगाल र आन्ध्र प्रदेशमा यो प्रविधिबाट सफलतापूर्वक माछा पालन हुँदै आएको छ,’ उनले भने, ‘नेपालमा पनि यो प्रविधिबाट व्यावसायिक माछा पालन हुन सक्छ कि सक्दैन भनी निर्देशनालयमा गम्भीर अनुसन्धान भइरहेको छ, प्रारम्भिक नतिजाले हामी उत्साहित छौं ।’

उनले यो प्रविधिबाट धान खेत नमासेर १ कठ्ठा वा त्यो भन्दा पनि कम जग्गामा समेत माछा पालन गर्न सकिने बताए । यसका लागि पोखरी नै नखनेर प्लाष्टिकको पोखरी बनाएर माछा पालन गर्न सकिने उनले बताए । ‘यो अत्यन्त सस्तो प्रविधि पनि हो,’ उनले भने, ‘यसका लागि सानो क्षेत्रफलको पोखरीमा पनि ब्याक्टेरिया वा अन्य जीवित प्राणी सृजना गरेर पोखरीको पानीमा घुलित अक्सिजनको मात्रा आवश्यकता अनुसार बढाउन सके सानो पोखरीमा पनि एकैसाथ धेरै माछा पाल्न सकिन्छ ।’

निर्देशनालय मत्स्य विभागका प्राविधिक अधिकृत शिवनारायण मेहताले सामान्यतया एक लिटर पानीमा ६ मिलिग्रामको दरले घुलित अक्सिजन व्यवस्थापन गर्न सकेको खण्डमा माछाले पानीमा पर्याप्त अक्सिजन पाउन सक्ने बताए । यस्तो पोखरीमा पङ्गास, मुङग्री, सिंही जस्ता शरीरमा कत्ला नहुने माछा पाल्न सकिने उनले बताए । यस बाहेक टिलापिया र कमनकार्प जातिका माछा पनि सहजै पाल्न सकिने उनले बताए ।

‘सहर बजारमा र कम क्षेत्रफलमा माछा पाल्न इच्छुक किसानले पनि यो प्रविधिबाट माछा पाल्न सक्छन्,’ उनले भने, ‘निर्देशनालयमा एक चरणमा टिलापिया जातको माछाको अनुसन्धान गरी सकेका छौं, अन्य जातका माछामा पनि अनुसन्धान भइरहेको छ, ५ वर्ष नियमित अनुसन्धान गरेपछि हामीले यो प्रविधि किसानमाझ सिफारिस गर्ने छौं ।’

मेहताका अनुसार यो प्रविधिले माछामालन गर्न पोखरीमा नियमित अक्सिजन उत्पादन गर्ने उपकरण ब्लोवर पनि राख्नुपर्ने हुन्छ । पोखरीमा माछाको बिउ हाल्नु भन्दा ४/५ दिन अघि पोखरीमा मोलासिस, चुना, नुन र बेसिलस समूहको व्याक्टेरिया घोलेर पानीमा हाल्नुपर्छ । माछाको दिशा पिसावबाट एमोनिया ग्यास उत्पादन हुने र पानीमा बढी एमोनिया ग्यास भए माछा मर्न पनि सक्ने भएकाले बेला बेलामा पोखरीको पानी फालेर नयाँ पानी हाल्ने व्यवस्था मिलाउनु पर्छ । पोखरीको पानी फाल्न सहजताका लागि पोखरीलाई ‘स्लोप’ विधिले निर्माण गर्नु पर्छ ।


प्रकाशित : वैशाख ११, २०८० १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?