१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वीरगन्ज भन्सारबाट उठ्यो ६० प्रतिशत मात्रै राजस्व

शंकर आचार्य

पर्सा — आयात निर्यात व्यापारमा आएको गिरावटसँगै प्रमुख भन्सार कार्यालय वीरगन्जको राजस्व असुलीमा पनि व्यापक कमी आएको छ । सामान्य अवस्थामा देशकै सर्वाधिक राजस्व संकलन गर्ने यो भन्सार कार्यालयले पछिल्ला केही महिनायता लक्ष्यको ६० प्रतिशत हाराहारीमा मात्र राजस्व संकलन गर्न सकिरहेको छ । 

वीरगन्ज भन्सारबाट उठ्यो ६० प्रतिशत मात्रै राजस्व

चैत महिनामा २२ अर्ब ७९ करोड ७७ लाख २६ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको कार्यालयले जम्मा १३ अर्ब ५५ करोड ८६ लाख ७३ हजार रुपैयाँ मात्रै संकलन गर्‍यो । जुन मासिक लक्ष्यको ५९ दशमलव ४७ प्रतिशत मात्र हो । त्यसैगरी, चालु आर्थिक वर्षको चैत महिनासम्म १ खर्ब ९१ अर्ब ३ करोड ६४ लाख ११ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य पाएको यो भन्सारले १ खर्ब १५ अर्ब ९ करोड ६७ लाख ४८ हजार रुपैयाँ मात्रै संकलन गर्न सकेको छ । जुन लक्ष्यको ६० दशमलव २५ प्रतिशत मात्र हो ।

चालु आर्थिक वर्षभरमा यो भन्सारले २ खर्ब ६० अर्ब ९७ करोड रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको छ । तर चैत महिनासम्ममा वार्षिक लक्ष्यको ४४ दशमलव १ प्रतिशत मात्र राजस्व असुली भएको छ । चालु आर्थिक वर्षमा रहेको बाँकी ३ महिनामा यो भन्सारले राजस्व असुली लक्ष्य भेटाउन असम्भव देखिएको छ । असार मसान्तसम्ममा यो भन्सारले वार्षिक लक्ष्यको ५० प्रतिशत हाराहारीमा मात्र राजस्व असुली गर्न सक्ने सम्भावना छ ।

भन्सार कार्यालय प्रमुख अधिकृत धनबहादुर बरुवालले चालु आर्थिक वर्षमा यो नाका हुँदै आयात निर्यात व्यापारमा अत्यन्त कमी आएकाले राजस्व असुली पनि सोही अनुरुप घट्न गएको बताए । ‘समग्रमै आयात निर्यात व्यापार घटेको छ, अब चालु आर्थिक वर्षको तीन महिनामा सुधार आउने सम्भावना पनि कम छ,’ उनले भने, ‘राजस्व असुलीमा सर्वाधिक योगदान गर्ने वस्तु नयाँ सवारी साधनको आयात अझै पूर्ववत रुपमा हुन सकेको छैन, भन्सार परिसरमा झण्डै २ हजारको संख्यामा नयाँ सवारी साधन लामो समयदेखि थन्किएका छन् ।’ सवारी साधनपछि राजस्वमा बढी योगदान गर्ने वस्तु इन्धन हो । इन्धनको आयातमा भने खासै कमी आएको छैन ।


प्रकाशित : वैशाख ७, २०८० १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?