५ आयोजनालाई १ खर्ब ६७ अर्ब लगानी स्वीकृत

०८० मा आयोजना गरिने लगानी सम्मेलनको अवधारणापत्र पनि स्वीकृत

काठमाडौँ — लगानी बोर्ड नेपालले ५ जलविद्युत् आयोजनाका लागि १ खर्ब ६७ अर्ब ५९ करोड बराबर लगानी स्वीकृत गरेको छ । बोर्ड बैठकले बिहीबार १ खर्ब ४६ अर्ब २२ करोड वैदेशिक र २१ अर्ब ३७ करोड स्वदेशी गरी १ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।

५ आयोजनालाई १ खर्ब ६७ अर्ब लगानी स्वीकृत

प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतमा बसेको बोर्ड बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाका लागि ९२.६८ अर्ब बराबरको लगानी स्वीकृत गरेको हो । विकासकर्तासँग वार्ता गरी परियोजना विकास सम्झौता सहमतिको दस्ताबेज तयार पारेर बोर्डसमक्ष पेस गर्न पनि बैठकले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

१०२ मेगावाटको माथिल्लो मर्स्याङ्दी–१ जलविद्युत् परियोजनाको ३३ अर्ब १९ करोड, ७० मेगावाटको दूधकोसी–२ (जलेश्वर) जलविद्युत् परियोजनाको २० अर्ब ३५ करोड, ७०.३ मेगावाटको सिम्बुवा खोला जलविद्युत् परियोजनाको १३ अर्ब ४४ करोड र ४३ मेगावाटको अपर मादी खोला जलविद्युत् परियोजनाका लागि ७ अर्ब ९३ करोड लगानी स्वीकृत गरेको छ ।

बोर्ड बैठकको निर्णयानुसार डीआईएजी इन्ड्रस्टिज, जर्मनीले रासायनिक मल कारखाना स्थापना सम्बन्धमा अध्ययन अनुमतिका लागि पेस गरेको प्रस्तावअनुसार विकासकर्तासँग सम्पन्न गरिने समझदारीपत्र स्वीकृत गरेको छ । बोर्डले डाबर नेपालको पुँजी तथा क्षमता वृद्धि परियोजना कार्यान्वयनका लागि सम्पन्न गरिने समझदारीपत्रको मस्यौदालाई समेत स्वीकृत गरेको छ ।

ग्रिन क्याल्सियम एमोनियम नाइट्रेट मल उत्पादन गर्न अध्ययन अनुमतिका लागि मलेसियाको रिनिकोला होल्डिङ्सले पेस गरेको प्रस्ताव स्वीकृति प्रदान गरेको जनाएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाको विकासका लागि एनएचपीसी लिमिटेड भारतसँग भएको समझदारीपत्रका व्यवस्थाअनुरूप प्रारम्भिक अध्ययन प्रतिवेदनका सम्बन्धमा विकासकर्ताले गरेका कार्यहरूको जानकारी लिँदै विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न निर्देश गरिएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बोर्डले तमोर जलाशययुक्त परियोजना, लजिस्टिक परियोजना र भेहिकल म्यानुफ्याक्चरिङ एसेम्ब्ली प्लान्टको प्रगतिका सम्बन्धमा जानकारीसमेत दिएको छ । बैठकले ०८० सालमा आयोजना गर्न लागिएको लगानी सम्मेलनको अवधारणापत्र स्वीकृत गर्नुका साथै सम्मेलन सफलतापूर्वक आयोजना गर्न तयारीका लागि लगानी बोर्डको कार्यालयलाई जिम्मेवारी दिएको छ ।

प्रकाशित : वैशाख १, २०८० ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?