कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

निकासीमा नगद अनुदानको व्यवस्थाले नेपाली 'प्लाइउड' भारत निकासी बढ्यो

विनोद भण्डारी

विराटनगर — सरकारले निकासीमा नगद अनुदानको व्यवस्था गरेपछि नेपाली प्लाइउड भारत निकासी बढेको छ । चालु आर्थिक वर्षको आठ महिनामा तीन अर्ब मूल्य बराबरका नेपाली प्लाइउड भारत निकासी भएको तथ्याङ्क छ । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुको कार्यकालमा नेपाली प्लाइउड निकासीमा स्वदेशी कच्चा पदार्थ प्रयोगका आधारमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने निर्णय भएको थियो ।

निकासीमा नगद अनुदानको व्यवस्थाले नेपाली 'प्लाइउड' भारत निकासी बढ्यो

त्यही निर्णयपछि प्लाइउड निकासीले फड्को मारेको प्लाइ उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले बताए । निकासीमा नगद अनुदानको व्यवस्था नहुँदा गत आर्थिक वर्ष २०७८/७९ मा ३५ करोड २३ लाख र २०७८/८८ मा १ करोड ४६ लाख मूल्यको नेपाली प्लाइउड भारत निकासी भएको भन्सार विभागको तथ्याङक छ । निकासीमा अनुदान पाउँदा आठ महिनामै दशगुणा बढेको घिमिरेले बताए ।

पूर्वको झापादेखि नेपालगञ्जसम्म करिव २५ अर्बको लगानीमा ८४ वटा प्लाइउड उद्योग सञ्चालनमा रहेकोमा हाल ९ वटा बन्द छन् । ‘कोशी प्रदेशमा ३४ सहित मुलुकभर अहिले ७५ वटा प्लाइउड उद्योग सञ्चालनमा छन्’ नमस्ते प्लाइउड उद्योग झापाका सञ्चालक समेत रहेका घिमिरेले भने ‘ती उद्योगबाट चालु वर्ष करिब ५ अर्बको प्लाइउड निकासी गर्ने लक्ष्य राखिएको छ ।’ सहज रुपमा कच्चा पदार्थ उपलब्ध हुने हो भने नेपालवाट वार्षिक १० अर्ब भन्दा बढीको प्लाइउड भारत निकासी हुने उनको भनाइ छ ।

‘नेपाली प्लाइउड उद्योगले ७० देखि ८० प्रतिशतसम्म स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्दै आएका छन्’ घिमिरेले भने ‘कच्चा पदार्थको अभाव छैन तर आपूर्तिमा समस्या भएकै कारण उद्योगले क्षमता अनुसार उत्पादन गर्न नसकेको अवस्था छ ।’ काठको उपलब्धता पनि सहज नभएको उनको भनाइ छ । ‘खरिद अनुमति पाउन सरकारी प्रक्रिया अत्यन्तै झन्झटिलो छ’ घिमिरेले भने ‘एउटा रुख खरिद गर्न वन कार्यालयका कर्मचारीलाई चार पटकसम्म लगेर स्थलगत निरीक्षण गराउनु पर्ने बाध्यता छ ।’

नेपाली प्लाइउडको मुख्य बजार भारत हो । भारतका किसानले आफ्नो खेतबारीमा भएको नरम प्रजातिका रुख सहजै बिक्री गर्न पाउने भए पनि नेपालमा भने आफ्नै बारीको भए पनि वन कार्यालयमा निवदेन अनिवार्य दिनुपर्ने र त्यसपछि वनको झन्झटिलो प्रावधानले उद्योग प्रभावित हुँदै आएको मोरङस्थित ग्रिन प्लाइउड उद्योगका सञ्चालक दिवाकर राठीको गुनासो छ । प्लाइउडन उद्योगको मुख्य कच्चा पदार्थ पहाडको उत्तिस, मलाँतो र सउरका रुख हुन् । त्यसैगरी तराईमा पाइने नरम र छिटो बढ्ने प्रजातीका कदम, आँप र लहरे पिपल हुन् ।

प्लाइउड निकासीपछि कच्चा पदार्थ खरिद गर्दा तिरिएको मूल्य अभिवृद्धि कर (भ्याट) को रकम आन्तरिक राजश्व कार्यालयले समयमा समायोजन नगर्दा उद्योगको ठूलो रकम सरकारी कार्यालयमा रोकिने गरेको छ । त्यसैगरी बीमा कम्पनीले प्लाइउड उद्योगलाई बढी प्रज्वलनशीलका रुपमा राखेर प्रिमियम लिँदा उत्पादन लागत बढेको उद्योगीको गुनासो छ । उनीहरुका अनुसार एक करोड मूल्य बराबरको प्लाइउडको बीमा गर्दा बीमा कम्पनीले ९ लाख प्रिमियर तोकेको छ । तर एक करोड मूल्यको पेट्रोलियम पदार्थको प्रिमियर रकम ७ लाख ५० हजार रुपैयाँ मात्र रहेको उद्योगीको गुनासो छ ।


प्रकाशित : चैत्र २४, २०७९ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?