कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विराटनगरको तुलसी सहकारीबाट ६७ करोड ८६ लाख हिनामिना, अध्यक्षसहित ५ सञ्चालक फरार  

अध्यक्षसहित नौ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता
विनोद भण्डारी

विराटनगर — विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको ६७ करोड ८६ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अध्यक्षसहित ९ जनाविरुद्ध जिल्ला अदालत मोरङमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको छ ।  विराटनगरका मात्र १ हजार २ सय ९७ जना बचतकर्ताले ५० करोड ६३ लाख भन्दा बढी आफ्नो बचत हिनामिना भएको भन्दै मोरङ प्रहरीमा उजुरी दिएका थिए ।

विराटनगरको तुलसी सहकारीबाट ६७ करोड ८६ लाख हिनामिना, अध्यक्षसहित ५ सञ्चालक फरार  

बचतकर्ताको उजुरीपछि अनुसन्धान सकेर प्रहरीले बुझाएको अभियोग पत्रका आधारमा सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासहित नौ जना सञ्चालक, कर्मचारी र लेखापरीक्षक विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मोरङले मंगलबार ६७ करोड ८६ लाख रुपैयाँ विगो दावी गर्दै जिल्ला अदालत मोरङमा ठगीको मुद्दा दर्ता गरेको जिल्ला न्यायाधिवक्ता रामहरी शर्मा काफ्लेले जानकारी दिए । सहकारी संस्थाको झापाको दमक, उदयपुरको गाइघाट र सिरहाको गोलबजारमा रहेका शाखाको अनुसन्धान हुन बाँकी छ । डेढ महिनादेखि ती सबै शाखा पनि बन्द छन् ।

संस्थाका अध्यक्ष शर्मासहित पाँचजना सञ्चालक भने अझै फरार छन् । मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलका अनुसार संस्थाका क्षेत्रीय प्रवन्धक मन्दिप खवास, लेखापरीक्षक शितल चन्द, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । यो प्रकरणमा जिल्ला प्रहरी मोरङसहित प्रहरीको सीबीआई र प्रदेश प्रहरी कार्यालयले अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार अभियोग पत्र बुझाइएको थियो । संस्थाका अध्यक्ष शर्मासहित सञ्चालक समितिका सदस्य छविलाल विक, निर्मला पोखरेल, आदित्यराज भट्टराई र बन्टी अधिकारी फरार रहेको प्रहरीले जनाएको छ ।

सबै शाखामा गरेर १ अर्ब ४८ करोड ५५ लाख भन्दा बढी बचत रहेको प्रहरीले जनाएको छ । सहकारीका सदस्य संख्या २१ हजार ७ सय १३ जना छन् । सहकारीमा विराटनगरका मात्र करिब ६ हजार सर्वसाधारणको ६५ करोड बचत छ । सहकारीले सञ्चालककै लगानी रहेका कम्पनीहरु नटराज एग्रोमा ६ करोड, तुलसी मोटर पम्पमा ३२ करोड, झापाको गौरदह स्थित तुलसी राइस तथा चिउरा मिलमा ३५ करोड, तुलसी अनुसन्धान केन्द्रमा १० करोड ऋण प्रवाह गरे पनि संस्थाको लेखा परीक्षण रिपोर्टमा ४० लाख मात्रै लगानी रहेको देखाइएको स्रोतको दावी छ ।

शिखर अर्गनाइजेसन ग्रुपका अध्यक्ष पनि शर्मा नै हुन् । उक्त ग्रुपले विभिन्न ३२ वटा कम्पनी खोलेको छ । ग्रुपका उपाध्यक्ष शर्माकै छोरा काल्स शर्मा छन् । प्रहरी स्रोतका अनुसार लेखापरीक्षक चन्दले गरेको सहकारीको विराटनगर शाखाको २०७८ असारको लेखा परीक्षण विवरणमा बैंक तथा वित्तीय संस्थामा ३३ करोड २४ लाख ६७ हजार १४४ रुपैयााँ नगद तथा ३ करोड ७४ लाखको अन्य सम्पत्ति रहेको उल्लेख छ । संस्थाको कुल सम्पत्ति तथा दायित्व १ अर्ब ४६ करोड ५ लाख १९ हजार ५ सय ७० रुपैयाँ रहेको र नाफा मात्रै ७३ लाख १० हजार ९६९ रहेको देखाइएको छ । लगानी भने विभिन्न चारवटा संस्थामा ४० लाख ११ हजार रुपैयाँ मात्रै रहेको उल्लेख छ भने कर्जा तथा सापटी रकम ३१ करोड २३ लाख ६० हजार १ सय ८० रुपैयाँ रहेको उक्त लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : चैत्र २१, २०७९ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?