भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य 

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतबाट पेट्रोलियम पदार्थको मूल्य फेरि घटेर आएको छ । नेपाल आयल निगमका अनुसार यसअघिको तुलनामा पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा तथा डिजेल ६ रुपैयाँ ८२ पैसा घटेर आएको छ । यसअघि पनि पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेल प्रतिलिटर १ रुपैयाँ ५० पैसा घटेर आएको थियो ।

दुई पटकसम्म पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि नेपाल आयल निगमले भने उपभोक्तालाई पुरानै मूल्य कायम राखेको छ । भारतीय आयल कर्पोरेसनलाई बुझाउनुपर्ने पुरानो बक्यौतालाई देखाउँदै निगमले मूल्य घटेर आउँदा पनि पटक पटक समायोजनमा बेवास्ता गर्ने गरेको छ । हरेक १५–१५ दिनमा भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्यसूची पठाउँछ । सो अनुरुप शनिबार पठाएको मूल्य घटेर आएको हो । आयल निगमले हाल उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७८ तथा डिजेल १७५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।


प्रकाशित : चैत्र १९, २०७९ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्

नैकापबाट चोरिएको लिच्छविकालीन सरस्वती मूर्ति न्यूयोर्कमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् ८० दशकको सुरुवातमा विष्णुदेवी मन्दिर(नैकाप)बाट चोरिएको सातौं शताब्दीको सरस्वती मूर्ति अमेरिकाको न्यूयोर्कस्थित एक निजी संग्रहकर्ताको संकलनमा भेटिएको छ ।

न्यूयोर्कस्थित प्रसिद्ध कला संग्रहकर्ता रोबर्ट हटफिल्ड एल्सबर्थको संकलनमा पाइएको नेपाली सम्पदाको टाउको र दुवै हात भने चुँडिएको अवस्थामा देख्न सकिन्छ । नेपाली कला–सम्पदाको खोजी तथा घरफिर्ती अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, यो मूर्ति चोरीकै क्रममा टुटफुट भएको र यसको खुट्टाको अंश भने मन्दिरमै रहेको छ । तर मूर्तिको टाउको, हातहरु कहाँ छन् भन्ने अझै थाहा हुन सकेको छैन ।

‘यो चोरिएको मूर्ति देवी सरस्वतीको थियो, बाहिर चर्चामा आएजस्तो पार्वती वा लक्ष्मीको होइन’,नैकाप/तीनथाना क्षेत्र समेटिने चन्द्रागिरी नगरपालिका—१५ का पूर्ववडाध्यक्ष उत्तम राउतले कान्तिपुरसँग भने—‘चोरिएको मूर्तिको बाँकी खुट्टा(कमलाकृति)को अंशमा उभ्याएर अहिले सरस्वतीको प्रतिमूर्ति प्रतिस्थापन गरेका छौं । हरेक वर्ष यहाँ सरस्वती पूजाका दिन ठूलो मेलासहित पूजाआजा हुने गरेको छ ।’

राउतका अनुसार, यस्तै लिच्छविकालीन केही मूर्तिहरु अंगभंग अवस्थामै विष्णुदेवी मन्दिर परिसरमा रहेकै छन् । सम्भवत तेहृौं शताब्दीमा काठमाडौं उपत्यकामा भएको मुस्लिम समुदायको आक्रमणका बेलामा यी मूर्तिहरु अंगभंग पारिएका हुन सक्छन् । यही परिसरमा तीनवटा मात्रिका, उमामहेश्वर, महादेव र विष्णुदेवीका मूर्तिको सम्पदा वैभव यथावत छ ।

काठमाडौंमा नैकापबाट मच्छेगाउँ जाँदा बाटैमा भेटिने विष्णुदेवी मन्दिरबाट सरस्वतीको प्रस्तर मूर्ति चोरएपछि यहाँ अहिले प्रतिलिपि राखेर पूजा–प्राथना हुँदै आएको छ । यो मूर्ति सम्पदाको तस्बिर अस्ट्रियन वास्तुविद् कार्ल प्रुस्चले सन् १९७५ र नेपाली अन्वेषक शुक्रसागर श्रेष्ठले सन् १९८१ मा लिएका थिए । स्विस अध्येता उल्रिच भोन स्क्रोडरको ‘नेप्लिज स्टोन स्कल्प्चर्स, भोल्युम १ (प्लेट २२४)’ मा पनि नैकापको यो मूर्ति तस्बिर तथा विवरण उल्लेखित छ ।

सरस्वती मूर्तिका संकलक एल्सबर्थको ८५ वर्षको उमेरमा सन् २०१४ अगस्टमा न्यूयोर्क निवासमै निधन भइसकेको छ । तर उनले कहाँबाट कसरी यो सम्पदा हात पारे भन्ने उल्लेख गरिएको छैन । विशेषत चिनियाँ कला–सम्पदामा रुचि राख्ने एल्सबर्थले भारतीयसहित एसियाली पुरातात्विक सम्पदाको संग्रह गर्दै आएका थिए । उनले आफू जीवित छँदै कतिपय मूर्ति/सम्पदा न्यूयोर्कको मेट्रोपोलिटान म्युजियम, फिलाडेल्फिया, बोस्टन र ओहियो(क्लेभलेन्ड)का म्युजियमहरुमा बिक्री गरेका थिए ।

यसैगरी, लस्ट आर्टस् अफ नेपालका अनुसार पन्ध्रौं शताब्दीको अर्को नेपाली सम्पदा पनि अमेरिकाको भर्जिनिया म्युजियम अफ आर्टस्‌मा फेला परेको छ । ललितपुरको थेचो गाउँमा चल्ने जात्रामा प्रयोग हुने हड्डीबाट बनेको एप्रोन (सम्भवत नवदुर्गा नर्तकको गहना) भर्जिनियामा फेला परेको हो ।

प्रकाशित : चैत्र १९, २०७९ १३:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×