गाईगोरुमा ‘लम्पी स्किन’ रोगको महामारी, २८ मरे, किसानले पाएनन् औषधोपचार

विप्लव महर्जन

सल्यान — तीन साताअघि कालिमाटी गाउँपालिकाको केही वडामा गाईगोरुमा देखिएको ‘लम्पी’ छाला (स्किन) रोग जिल्लाका बन्गाड कुपिण्डे नगरपालिका, शारदा नगरपालिका र त्रिवेणी गाउँपालिकामा समेत महामारीको रुपमा फैलिएको छ । महामारीका कारण एक महिना नबित्दै २८ गाईगोरु मरिसकेका छन् भने किसानले पालेका धेरै पशु बिरामी परेका छन् । 


किसानले रोगको पहिचान समेत गर्न नसक्दा र रोग सर्ने बारेमा थाहा नपाउँदा गाईगोरुमा लम्पी स्किन रोगले महामारीको रुप लिएको हो । लम्पी स्किन रोगका कारण जिल्लाको चार पालिकाका झन्डै १ हजार ५ सय किसान प्रभावित भएका छन् । रोग निको हुनुको साटो थप पशु बिरामी पर्न थालेपछि किसान चिन्तित भएका छन् । रोग अन्य पशु हुँदै मान्छेमा सर्ने डरले उनीहरु त्रसित भएका छन् ।

कालिमाटी गाउँपालिका ५ का किसान ईन्द्रबहादुर गाहाले झन्डै एक महिनादेखि देखिएको लम्पी स्किन रोग अहिलेपनि पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको र रोगको महामारीले गर्दा आफ्नो १० हजार बराबरको दुई गोरु मरेको बताए । उनले छिमेकी लगायत अन्यका पनि मरेका र धेरै विरामी परेको जानकारी गराए । ‘सुरुमा गाईगोरुमा के रोग लागेको हो भन्ने थाहा भएन र उपचार गराइएन । थप समस्या देखिएपछि पालिकाको पशु शाखामा जानकारी गराइयो तर बिरामी पशु बचाउन सकिएन’ उनले भने ‘रोगबाट पशु मर्ने भन्दा मान्छेमा फैलने डर लाग्न थालेको छ ।’ रोगको महामारी फैलिएपनि सम्बन्धित निकायबाट उपचार पाउन नसकेको उनको गुनासो छ ।

बन्गाड कुपिण्डे नगरपालिकाका किसान नन्दराम बुढाले रोगको पहिचान गर्न नसकेकै कारण उपचार सम्भव नभएपछि आफूले पालेको दुई गाईगोरु मरेको बताए । उनले आफ्नो मात्र नभई छिमेकीले पालेका धेरै गाईगोरु बिरामी भएको जानकारी गराए । सम्बन्धित निकाय समक्ष उपचारमा सहयोग गर्न उनले आग्रह गरे ।

यता शारदा नगरपालिका– ९ का किसान कर्णबहादुर खत्रीका अनुसार गाईगोरुका छालामा फोका देखिने, ज्वरो आउने, अण्डकोष सुन्निने, नाभी सुन्निनेजस्ता समस्या देखिएको बताए । पशु अस्पताल तथा पशु शाखा कार्यालय सल्यानका प्रमुख गोबिन्दबहादुर महतले लम्पी स्किन रोगका कारण कालिमाटीमा १०, बन्गाड कुपिण्डे नगरपालिकामा ८ र त्रिबेणी गाउँपालिकामा १० गाईगोरु मरिसकेको बताए । यी पालिकामा किसानले ४४ हजार ८ सय ३३ गाईगोरु पालेकामा ७५ प्रतिशत रोगबाट प्रभावित भएको उनको भनाइ छ ।

भ्याक्सिन नभएकाले अहिले भ्याक्सिन माग गरिएको उनले बताए । ‘रोगबाट अन्य पशुलाई बिरामी पशुबाट अलग राख्ने नै हो । चेतनाको अभावले किसानले बिरामी पशुलाई छुट्टै नराखी सामुहिक रुपमा राख्दै आएका छन् । यसले गर्दा रोग बढ्दै गएको छ’ उनले भने ।

रोगको महामारी फैलिएपछि अहिले पशु कार्यालयका डाक्टर सहितको प्राविधिक टोली रोग फैलिएको स्थानमा पुगेर पुगेरसामान्य उपचार गरिरहेको र किसानलाई सचेतना गराइरहेको उनले जानकारी गराए । किसानले सचेतना नअपनाए चार पालिकामा मात्र नभई यो रोग जिल्लाभरका पालिकामा फैलिनसक्ने उनको भनाइ छ ।


प्रकाशित : चैत्र १९, २०७९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्

वैशाख १८ बाट हिल्सा नाका खुल्ने

जनकबहादुर शाही

हुम्ला — आगामी वैशाख १८ गतेबाट हुम्लाको हिल्सा नाका खुल्ने भएको छ । शनिबारबाट चीनले रसुवागढीस्थित केरूङ नाका पूर्णरूपमा सञ्चालनमा ल्याएसँगै हुम्लाका व्यवसायी हिल्सा नाका खोल्ने आशमा रहेका छन् ।

नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङछीले आ–आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २०२३ मार्च २९ मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको बैठकमा चिनको स्वशासित क्षेत्र तिब्बतसँग नाका जोडिएका नाका पूर्णरुपमा खोल्ने सहमति भएको हो ।

सोही अनुसार शनिबारबाट सुवागढी–केरुङ नाका पूर्णरुपमा सञ्चालनमा आएको छ भने सन् २०२३ मे १ (२०८० वैशाख १८ गते) बाट तातोपानी–झाङ्मु र हिल्सा–पुराङ (ताक्लाकोट) नाका पूर्णरूपमा सञ्चालन गर्ने भएपछि हुम्लाका व्यवसायीले यसलाई सकारात्मक रुपमा लिएका छन् ।

कोभिड संक्रमण फैलिएसँगै चीनसँग सीमा जोडिएका सबै नाका बन्द गरेको थियो । बीचबीचमा सामान पठाउन केही समय आंशिक रुपमा खोल्ने बन्द गर्ने हुँदै आएकोमा अबदेखि भने सीमा नाका पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको हुम्लाका पर्यटन व्यवसायी विजय लामाले बताए । सीमा नाकामा दुईतर्फी व्यापार र मानिसको आवतजावत पूर्णरूपमा सञ्चालन गर्ने सहमति भएको भए पनि नेपाली बाहेक अन्य विदेशी पर्यटकहरुका लागि नाका नखोलेको लामाले बताए ।

२०२३ अप्रिल १ (चैत १८ गते) देखि रसुवागढी–केरुङ निकास र प्रवेशद्वारलाई दुईतर्फी व्यापार र मानव आवतजावतका लागि नाका खोल्ने दुई देशको सहमति अनुसार शनिबारबाट सो नाका पूर्णरूपमा सञ्चालनमा आएको छ भने तातोपानी–झाङ्मु र हिल्सा–पुराङ (ताक्लाकोट) नाका सन् २०२३ मे १ (२०८० वैशाख १८ गते) देखि खुला गर्ने सहमति भएको हो ।

२०७६ मंसिरबाट बन्द भएको हिल्सा नाका आगामी वैशाख १८ गते खोल्ने भने पछि हुम्ली व्यवसायीको ध्यान अहिले चीनको ताक्लाकोटतर्फ मोडिएको छ । चीनले नेपालसँग सीमा जोडिएका नाका खोल्ने भने पछि हुम्लाबाट तिब्बतका विभिन्न स्थानमा गएर व्यापार व्यवसाय गर्ने हुम्ली व्यवसायीहरु कोरोनाले थिलोथिलो बनाएको व्यापार व्यवसाय केही हदसम्म माथि उठ्नेमा आशावादी देखिएका छन् ।

'यसरी नाका खोल्नु चीनबाट राम्रो संकेत देखिएको छ, अब हुम्लाको पर्यटन र व्यापार, व्यवसाय राम्रो होला कि ? आशा पलाएको होटेल व्यवसायी महासंघ हुम्लाका अध्यक्ष मिन लामाले बताए । कारोना महामारीयता हुम्लाका २ सय हाराहारी होटेल र ४ सयभन्दा बढी व्यापारिक नाकाबन्दीका कारण यस पेशाबाट पलायन भएकाले अब सबै आ–आफ्नो काममा फर्कनेमा आफू आशावादी रहेको उनले बताए ।

नेपालीका लागि मात्र सीमा नाका खोल्ने चीनको निर्णयले कैलाश मानसरोवरको दर्शनका लागि तीर्थस्थल भ्रमण गर्न आउने भारतीय तीर्थयात्रीलाई असर परेको छ । हुम्लाको बाटो भएर कैलाश मानसरोवर दर्शनका लागि सबैभन्दा बढी भारतीय नागरिक आउने हुँदा हुम्लाका पर्यटन व्यवसायीलाई मर्का पर्ने लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका विनोद लामाले बताए । 'यसरी हुम्लामा बाह्य पर्यटक आउँदा ससाना कामदार, भरिया, कृषकदेखि लिएर ठूल्ठूला व्यवसायीले समेत काम पाउँथे, होटल, रिसोर्ट उद्योग चल्थे । तर विदेशी पर्यटक नआए पछि हुम्लाका होटल आन्तरिक पर्यटकको भरमा सातामा एक दिन बिदामा चल्छन् । बाँकी दिन खुम्चिएर बस्नु पर्ने अवस्था आएको छ,' लामाले भने ।

कोरोनाका कारण हुम्लामा पर्यटक आगमन सुस्त हुँदा होटल उद्योग सञ्चालन खर्चसमेत धान्नै नसक्ने गरी थला परेको छ । कोभिडले झन्डै तीन वर्ष थला पारेको होटल उद्योगलाई राज्यबाट आउने नीति नियमले कुनै सरोकार नदेखाएको आरोप लगाउँदै हुम्लामा होटल सञ्चालन गर्न कठिन भइरहेको र बजारमा अकासिएको मूल्यवृद्धि, तरलताको अभाव र हरेक व्यवसायीले पहिलेको तुलनामा अहिले व्यावसायिक लाभ लिन सक्ने अवस्था रहेको विजय होटेलका सञ्चालक एवं पर्यटन व्यवसायी विजय लामाले बताए ।

प्रकाशित : चैत्र १९, २०७९ १३:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×