बार्ड एआई च्याटबट अझै शक्तिशाली हुने गुगल प्रमुख पिचाइको घोषणा

कान्तिपुर संवाददाता

काठमाडौँ — माइक्रोसफ्टले आक्रामक रूपमा लगानी र प्राविधिक क्षमतासँगै एकपछि अर्को एआई प्लाटफर्म सार्वजनिक गरेपछि आर्टिफिसियल इन्टेलिजेन्सको दौडमा पछि परेको देखिएको गुगलले आगामी साता थपिने अपडेटमार्फत आफ्नो एआई च्याटबट अझै शक्तिशाली हुने घोषणा गरेको छ ।

अमेरिकी समाचार संस्था न्युयोर्क टाइम्ससँगको एक पडकास्ट कार्यक्रममा गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाइले बार्ड थप क्षमताका साथ आउने र गणित लगायतका कठीन प्रश्नहरूको समाधान सजिलोसँग गर्न सक्षम हुने बताएका थिए । कुराकानीका क्रममा पिचाइले गुगलका पछिल्ला एआई प्लाटफर्महरूको विकासका लागि संस्थापकद्वय सेर्गेइ ब्रेन र ल्यारी पेजसमेत सक्रिय रूपमा लागिरपेको बताएका थिए । साथै, उनीहरू गुगलका प्राविधिकहरूसँग पनि निरन्तर संवादमा रहेको पिचाइको भनाइ छ ।

जम्मा १७५ अर्ब प्यारामिटर रहेको प्रतिस्पर्धी च्याटजीपीटीको तुलनामा गुगलको पाल्म (पाथवे ल्या‌ंग्वेज मोडल)मा ५४० अर्ब प्यारामिटरहरू सामेल गर्ने अल्फाबेटको योजना छ । त्यो सफल भएमा बार्डले अत्यन्तै जटील प्रश्नहरूको पनि सहज समाधान दिने र अझै शक्तिशाली हुने विज्ञहरूको अनुमान छ । आफ्नो शक्तिशाली भर्जन सार्वजनिक नगरेर बार्डको कमजोर मोडेलमा किन गएको भन्ने प्रश्नमा पिचाइ भन्छन्, 'हामी पहिलो दिनमै आफ्नो सबैभन्दा प्रमुख मोडल बजारमा ल्याउने पक्षमा थिएनौं र हामी यी प्लाटफर्महरू उत्कृष्ट तवरले चलाउन सकिन्छ भन्नेमा पक्का हुन चाहन्थ्यौं ।' आगामी दिनमा नयाँ अपडेटसँगै बार्ड साधारण प्रश्नका उत्तर दिने मात्र नभइ कोडिङका समस्या पत्ता लगाउन र रिजनिङमा समेत उपयोगी हुने उनले दाबी गरेका छन् ।

यही साता गुगलले च्याटजीपीटीका पूर्व कर्मचारीहरूले स्थापना गरेको एआई स्टार्टअप एन्थ्रोपिकमा ३०० मिलियन अमेरिकी डलर लगानी गर्ने घोषणा गरिसकेको छ । बाइडिरेक्सनल इन्कोडर रेप्रिजेन्टेसन्स फ्रम ट्रान्सफर्मर्स अर्थात बार्ड भनिने एआई गुगलको सर्चसँग जोडिँदा यसले सूचना र जानकारी जम्मा गर्ने गुगलको पेज इन्डेक्समा रहेको अथाह श्रोत र वर्तमानसँगै भविष्यको बारेमा पनि बताउनसक्ने गरी डिजाइन गरिएको मोडलका कारण यो च्याटजीपीटीभन्दा अझै बलियो हुने विश्लेषकहरूको अनुमान छ । योसँगै आफ्ना ट्रेनिङ डेटाबेस र च्याटबटले अत्यन्तै जटील प्रश्नहरूको एकदमै साधारण रूपमा दिने प्रतिकृयाको सीमाको हिसाबले पनि च्याटजीपीटीभन्दा फरक र उत्कृष्ट हुने दाबी पिचाइले पडकास्टमा गरेका थिए ।

आफ्नो सर्च इन्जिन र डिजिटल विज्ञापनको प्रभुत्वका कारण लामो समय गुगलले एआई लगायतका नवीनतम प्रविधिको प्रयोग र खोजमा आफूलाई सधैं अग्रस्थानमा राख्ने गरेको थियो । अमेरिकाको क्यालिफोर्नियामा स्वचालित गाडीहरूमाथिको प्रयोगदेखि लण्डनमा औषधिको खोजमा एआईको प्रयोगसम्मका नयाँ अभ्यास गर्न रूचाउने गुगललाई अहिले पुरानो प्रतिस्पर्धी माइक्रोसफ्टले दबाबमा राखेको छ ।

च्याटजीपीटीको आश्चर्यजनक सफलताले गुगलमा 'कोड रेड अलर्ट' जारी भएको र आफ्ना प्लाटफर्मलाई कसरी माइक्रोसफ्टभन्दा अब्बल बनाउने भनेर लगभग सन्यास नै लिइसकेका गुगलका संस्थापकद्वय नै काममा फर्कनु परेकोले ओपन एआईले अल्फाबेटलाई राम्रो टक्कर दिएको अनुमान गर्न सकिन्छ ।

प्रकाशित : चैत्र १८, २०७९ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्

रास्वपाबाट लामिछाने, वाग्ले र खरेल उपनिर्वाचन लड्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन लड्ने उम्मेदवारहरू सार्वजनिक गरेको छ । रास्वपाले शनिबार पार्टी कार्यालय बसुन्धारामा पत्रकार सम्मेलन गर्दै पार्टी सभापति रवि लामिछाने, अर्थशास्त्री स्वर्णिम वाग्ले र पूर्वडीआईजी रमेश खरेल २०८० वैशाख १० मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेको हो ।

रास्वपाका सभापति लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २, वाग्ले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र खरेल बारा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने भएका छन् । शनिबार पत्रकार सम्मेलनमा नै उम्मेदवारहरूलाई टिकट वितरण गरिएको थियो ।

२०७९ मंसिर ४ को निर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछाने सर्वोच्च अदालतले नागरिकता खारेज गरिदिएपछि पद खारेज भएको थियो । कांग्रेसमा सक्रिय रहेका वाग्ले चैत १६ गते रास्वपामा जाने निर्णयमा पुगेका थिए । उनले कांग्रेस नेतृत्वलाई विभिन्न आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए ।

खरेल भने गत मंसिरको चुनावमा आफ्नै नेतृत्वमा नेपाल सुशासन पार्टी गठन गरेर काठमाडौं १ मा उम्मेदवार बनेका थिए । काठमाडौं १ मा उनी पाँचौं भएका थिए ।

प्रकाशित : चैत्र १८, २०७९ १६:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×