१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रसुवागढी नाका पूर्ण सञ्चालनमा

बलराम घिमिरे

रसुवा — रसुवागढी नाका दुईतर्फी रूपमा सञ्चालनमा आउन लागेको छ । रसुवागढी नाकाबाट आंशिक रूपमा आयात–निर्यात भए पनि ३८ महिनादेखि मानिसको आवतजावत ठप्प थियो । चीनको ल्हासामा गत बुधबार बसेको नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रले आयात–निर्यात खोल्ने सहमति गरेपछि शनिबारदेखि रसुवागढी नाका दुईतर्फी रूपमा मानिसको आवतजावतसहित पूर्ण सञ्चालनमा आउन लागेको हो । 

रसुवागढी नाका पूर्ण सञ्चालनमा

रसुवागढी नाका निकासी पैठारी र मानिसको आवतजावतसहित शनिबारदेखि पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत नभराज ढकालले बताए । बैठकमा नेपाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

रसुवागढी नाका पूर्ण रूपमा सञ्चालनमा आउने भएपछि व्यवसायी, व्यापारीलगायत सरोकारवाला उत्साहित छन् । निकास पैठारी र मानिसको आवतजावतका लागि नाकामा तयारी तीव्र पारिएको छ । कन्टेनर चालक, कामदार, व्यापारी तथा व्यवसायीको एन्टिजेन परीक्षण गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए ।

शनिबार २५ देखि ३० कन्टेनर सामान पैठारी हुन सक्ने भण्डारीले जनाए । केरुङ जान नेपाल–चीन सीमा पास नवीकरण तथा नयाँ बनाउन शनिबार बिहान ६ बजेदेखि नै अध्यागमन कार्यालय खुला रहने अध्यागमन कार्यालय रसुवागढी रसुवाका अध्यागमन अधिकृत कृष्णप्रसाद पौडेलले बताए ।

०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात प्रभावित थियो । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात–निर्यात बन्द थियो । पछि कोभिड देखिएपछि रसुवागढी नाका भएर हुने आयात–निर्यात थप प्रभावित बन्यो । पछि ०७७ असार २२ बाट भने पुनः सामान आयात थालिएको थियो, निर्यात भने ठप्प थियो ।

कोभिडका कारण रोकिएको सामान निर्यात ३५ महिनापछि गत पुस १२ देखि खुलेको हो । मानिसको आवतजावत भने ३८ महिनादेखि नै ठप्प थियो । आंशिक रूपमा आयात–निर्यात भइरहे पनि ३८ महिनादेखि मानिसको आवतजावत ठप्प थियो

प्रकाशित : चैत्र १८, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?