बैंकिङ क्षेत्रको सुरक्षाका लागि राष्ट्र बैंकले सहजीकरण गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)का पदाधिकारीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेका छन् । गभर्नरकै कार्यकक्षमा भएको भेटघाटका क्रममा सिबिफिनका पदाधिकारीले पछिल्लो समय बैंकिङ क्षेत्रमाथि भइरहेको आक्रमणका घटनाका विषयमा छलफल भएको थियो ।

बैंकिङ सेवालाई नेपाल सरकारले आवश्यक सेवा क्षेत्रको रुपमा परिभाषित गरी राजपत्रमा प्रकाशित गरिसकेकाले यो क्षेत्र निर्वाधरुपमा संचालन हुने वातावरण बनाउन र सुरक्षा बन्दोबस्तीका लागि सम्बन्धित निकायसमक्ष आवश्यक सहजीकरण भइरहेको गभर्नर अधिकारीले बताए । बैंकिङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशीलताप्रति आफू गम्भीर रहेको उनको भनाइ छ ।बैंकहरूले पनि जोखिमपूर्ण देखिएका कर्जाप्रति सावधानी अपनाइ आवश्यक कार्य अगाडि बढाउनुपर्नेमा गभर्नरले जोड दिए ।

बैंकिङ क्षेत्रमा हाल देखिएका कतिपय समस्या प्रणालीसँग जोडिएकोले प्रणालीगत सुधारमै जोड दिनुपर्ने उनको भनाइ छ । हालको विषम् परिस्थितिलाई मध्यनजर गर्दै आम जनजीविका र उद्यम–व्यवसायलाई सामान्यीकरण बनाउँदै अर्थतन्त्र गतिशिल बनाउन सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा उनको जोड छ ।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले पछिल्लो समय बैंक तथा वित्तीय संस्था र कर्मचारीमाथि हुने गरेको सुनियोजित आक्रमणका विषयमा राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । गोल्यानले बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय मात्र नभई अभिभावकीय भूमिमा राष्ट्र बैंकले खेल्नुपर्नेमा जोड दिए । पुँजी निर्माण, कर्जा नोक्सानीको व्यवस्था, सेवा शुल्क तथा स्प्रेडदर, संस्थागत आयकर, स्थानीय निकायमा जाने सरकारी निक्षेपको गणना, ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयन, प्रिमियम सम्बन्धी व्यवस्था, कर्जा–निक्षेप अनुपात, आधार दरको गणना लगायतका विषयमा सिबिफिनले गभर्नर अधिकारीलाई विभिन्न सुझाव दिएको छ ।


प्रकाशित : चैत्र १७, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्

अर्थतन्त्र सुधार्न सम्पूर्ण राज्य संयन्त्र लाग्नेछ : नवनियुक्त अर्थमन्त्री महत

कान्तिपुर संवाददाता

काठमाडौँ — नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक समस्याको निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने बताएका छन् । शुक्रबार पद तथा गोपनीयताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अर्थतन्त्रलाई चलायमान गर्नको लागि आफू सक्रिय रुपमा लाग्ने बताए ।

अहिले राजस्वले चालु खर्च समेत नधान्ने अवस्था रहेको बताउँदै उनले राजस्व संकलनलाई उच्च प्राथमिकता दिने बताए । साधारण खर्च कटौती गर्ने, प्राथमिकीकरण गरेर मात्रै सरकारले खर्च गर्ने उनको भनाइ छ । हाल सहकारी तथा लघुवित्तमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंकसँग सहकार्य गरेर अघि बढ्ने उनले प्रतिबद्धता जनाए । अर्थतन्त्रका समस्या समाधानका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायहरु खोजेर अघि बढ्ने उनको भनाइ छ ।

‘माइक्रोफाइनान्स तथा सहकारीमा जुन समस्या देखिएका छन्, राष्ट्र बैंकसँग समन्वय गरी अघि बढ्नु आवश्यक छ’ महतले भने ‘ब्याजदर उच्च छ, सेयर बजार झरेको छ, यो निराशालाई आशामा बदल्नुपर्नेछ ।’ अर्थतन्त्रका समस्या समाधानका लागि आफू एक्लैले मात्रै नभई सम्पूर्ण रुपमा मन्त्रालयको टिमले साथ दिनुपर्ने उनले बताए । कर थपेर भन्दा पनि दायरा बढाएर राजस्व बढाउनुपर्ने उनले बताए ।

आर्थिक क्षेत्रमा क्रियाशील उद्यमी, गैरआवासीय नेपाली, व्यवसायी सबैलाई समेटेर सकारात्मक वातावरण बनाउनुपर्ने आवश्यकता रहेको उनले औंल्याए । अर्थतन्त्रलाई उकास्नेतर्फ नै आफ्नो प्रमुख ध्येय रहेको उनको भनाइ छ । मिटरब्याज पीडितको समस्या तथा उद्योगीले लागत ज्यादा भयो भन्ने गुनासा गरेकाले ती समस्या समाधानमा आफू लाग्ने उनले बताए । बजेटअगाडि सम्मान, बधाईजस्ता कार्यक्रममा आफूले भाग नलिने उनले प्रतिबद्धता जनाए ।


प्रकाशित : चैत्र १७, २०७९ १८:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×