प्रकाशशरण महतलाई संकटोन्मुख अर्थतन्त्र सम्हाल्ने जिम्मेवारी

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकको अर्थतन्त्र संकटोन्मुख देखिएका बेला त्यसलाई सम्हाल्ने जिम्मेवारी लिएर नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत पुष्पकमल दाहाल नेतृत्व सरकारको अर्थमन्त्री बनेका छन् । आर्थिक मामिलामा जानकार भएपनि विगतमा अरू मन्त्रालयमा काम गरेका महतले यसपटक अर्थकै जिम्मेवारी पाएका हुन् ।

योसहित उनी चौथो पटक मन्त्री बनेका छन् । यसअघि २०६१ सालमा परराष्ट्र राज्य मन्त्री बनेका थिए भने २०६६ सालमा ऊर्जा र २०७३ मा परराष्ट्र मन्त्री बनेका थिए ।

उनी कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र मध्ये एक हुन् । यसपटक उनलाई अर्थमन्त्री बनाउन कांग्रेसका अन्य नेताहरुले पनि जोडबल गरेका थिए । सभापति देउवाले पनि आफ्ना विश्वाव पात्रलाई नै अर्थको चाबी सुम्पिने निर्णय गरे । उनको दाजु रामशरण महत विगतमा पटक पटक अर्थमन्त्री बनेका थिए । सहोदर दाजु भाइ भएपनि कांग्रेस भित्रको राजनीतिक लाइनमा प्रकाशशरण देउवा र रामशरण कोइराला समूहमा बसे । अहिले रामशरण राजनीतिक रुपमा निष्क्रिय रहेका बेला दाजुले पटक पटक सम्हालेको मन्त्रालयको विरासत थाम्न भाइ प्रकाशशरण आइपुगेका छन् ।

विद्यार्थी संगठनबाटै राजनीतिमा लागेका महत २०४२ सालमा नेपाल विद्यार्थी संघको महासचिव थिए । २०५९ देखि उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्य रहँदै आएका छन् । अमेरिकाको साउदर्न इलिनोई युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका उनले नीति अर्थशास्त्र (पोलिसी इकोनोमिक्स)मा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । वि.सं. २०१६ साल कात्तिक १९ गते नुवाकोटमा जन्मिएका महतले आर्थिक, विकास, शान्ति र राजनीतिक मामिलासम्बन्धी विषयमा नीतिपत्र, लेख तथा प्रतिवेदन बनाउँदै आएका छन् ।

यतिबेला महत अर्थमन्त्री हुँदा मुलुकका आर्थिक सूचक भने संकटोन्मुख छन् । संकलित राजस्वभन्दा चालु खर्च बढी हुनु, मूल्यवृद्धि र ब्याजदर उच्च हुनु, अर्थतन्त्रमा मन्दी देखिनुजस्ता चुनौती छन् । महतलाई आर्थिक सूचक सुधार गर्दै अर्थतन्त्र चलायमान बनाउनुपर्ने चुनौती छ । यसअघि जनार्दन शर्मा अर्थमन्त्री हुँदा उनले गरेका कतिपय क्रियाकलाप विवादास्पद बनेका थिए । त्यस्ता विवादास्पद क्रियाकलापभन्दा माथि उठेर मुलुकको अर्थतन्त्रलाई उनले सही दिशामा लैजाने भूमिकामा कसरी उत्रिन्छन् ? आगामी दिनले नै देखाउनेछन् ।

प्रकाशित : चैत्र १७, २०७९ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्

पूर्णबहादुर खड्का : देउवाका राजनीतिक कमान्डरको उपप्रधानमन्त्रीमा बढुवा

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गर्दै उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री बनेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाका राजनीतिक कमान्डरको रुपमा चिनिने खड्का छैठौंपटक मन्त्री बन्दा उपप्रधानमन्त्रीको रुपमा बढुवा भएका छन् । खड्का गत पुस १० मा कांग्रेस र माओवादीबीच भड्किएको सम्बन्ध सुधार्दै एमालेलाई विपक्षी कित्तामा पुर्‍याएर पुरानो गठबन्धन ब्युँत्याउने डिजाइनर मध्येका एक हुन् ।

नयाँ सत्ता समीकरण निर्माणमा सक्रिय भूमिका खेलेका खड्का अहिले दाहाल सरकारमा कांग्रेसको नेतृत्व गर्दै सहभागी भएका हुन् ।

विगतमा उनी गृहमन्त्री भएकाले यसपटक पनि उनको त्यही चाहना थियो । तर कांग्रेस र माओवादी भागबन्डामा गृह मन्त्रालय माओवादीको भागमा परेपछि खड्का रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेर सरकारमा सामेल भएका हुन् । खड्काले विगतमा गृह, सूचना तथा सञ्चार, युवा, खेलकुद तथा संस्कृति, वातावरण र उद्योग वाणिज्यमन्त्री भएर काम गरेका थिए । यसपटक रक्षा मन्त्रालयको जिम्मेवारी लिएर छठौंपटक मन्त्री बनेका हुन् ।

कांग्रेसको तत्कालीन नेता खुमबहादुर खड्काको समूहबाट कांग्रेसको केन्द्रीय राजनीतिमा उदाएका उनी सहमहामन्त्री, महामन्त्री अहिले उपसभापति छन् । ०७४ मा खुमबहादुरको निधनपछि देउवाले उनलाई २१ वैशाख, ०७५ मा महामन्त्री मनोनीत गरेका थिए । अब पार्टीको उपसभापतिमा निर्वाचित भएपछि खड्का कांग्रेसमा झन् शक्तिशाली बनेका छन् ।

कांग्रेसबाट १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका खड्कालाई देउवाले पार्टीको महामन्त्री मनोनित गरेका थिए । त्यसपछि उनको राजनीतिक भूमिका बढ्दै गयो । देउवाका विश्वास पात्र मध्येका एक विमलेन्द्र निधिले देउवालाई नै चुनौती दिँदै १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि त देउवा समूहमा खड्काको प्रभाव झन् बढ्यो । त्यसैले अहिले देउवाले लिने सबैजसो राजनीतिक निर्णयमा खड्काको भूमिका रहन्छ । खड्का नै देउवाका रणनीतिक योजनाकार जस्ता मध्येका हुन् ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई आदर्श मान्ने उनी अहिले पनि घरि–घरि ललितपुरको बाडेगाउँस्थित किसुनजीको कुटीमा पुगेर पूजाआजा गर्छन् ।

०१० सालमा सुर्खेतमा जन्मिएका खड्का ०४५ सालदेखि नै सक्रिय राजनीतिमा छन् । गाउँमा जन्मिए पनि खड्काको परिवार सबल र राजनीतिक नै थियो, उनका बुवा जिल्ला पञ्चायतको उपसभापति थिए । माध्यमिक शिक्षापछि नेपालगन्ज र काठमाडौंबाटै उच्च शिक्षा हासिल गरेका खड्काले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । नेपाल विद्यार्थी संघमा आबद्ध भएका उनी केन्द्रीय सदस्य हुँदै उपसभापतिसम्म पनि भए । ०३६ सालको जनमतसंग्रह र ०४६ सालको आन्दोलनमा उनको सक्रिय भूमिका रह्यो ।

त्यसबीचमा उनी दलमाथि प्रतिबन्ध भएकै बेला जनपक्षीय उम्मेदवारको रुपमा स्थानीय चुनावमा प्रतिस्पर्धा गरे, र जिते पनि । तर छोटो समयमै उनी पञ्चायतबाट निलम्बित भए । राजनीतिक आन्दोलनकै क्रममा पटकपटक गरेर ५ महिना हिरासतमा परेका खड्का बहुदल स्थापनापछि तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको नजिक भएर काम गरे ।

भट्टराईकै स्नेहमा उनी ०४५ सालमा सुर्खेत सभापति भए । ०४८ को आमनिर्वाचनमा उनी सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित भए । ०५१ को मध्यावधि चुनाव जितेका उनी राज्य व्यवस्था समितिको सभापति बने । त्यही बेला उनले पार्टीमा थप पकड बढ्यो ।

प्रकाशित : चैत्र १७, २०७९ १६:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×