कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

परिमाणमा सुनको आयात घट्यो, रकममा बढ्यो

काठमाडौँ — साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा २ हजार ६१२ किलो सुन आयात भएको छ । भन्सार विभागका अनुसार यो आयातित परिमाण गत वर्षको यसै अवधिको तुलनामा कम हो । गत वर्ष सोही अवधिमा ४ हजार ३४५ किलो सुन आयात भएको थियो ।

परिमाणमा सुनको आयात घट्यो, रकममा बढ्यो

परिमाणमा सुनको आयात ३९ प्रतिशत घटे पनि रकमका आधारमा भने बढेको छ । विभागका अनुसार गत वर्षको यो ८ महिनामा सुन आयात गर्दा ३२ अर्ब ६२ करोड रुपैयाँ बाहिरिएको थियो भने यो वर्ष सोही अवधिमा ३५ अर्ब ८६ करोड रुपैयाँ बाहिरिएको छ । सुनको मूल्यले उच्च रेकर्ड बनाउँदा चैत महिनामा कारोबार सुस्त भएको व्यवसायी बताउँछन् । सर्वसाधारण यतिबेला गहना खरिदभन्दा बिक्री गर्नतर्फ लागेको व्यवसायीको भनाइ छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष पवनकुमार सोमानीले न्यूरोड, असर लगायतका क्षेत्रमा सुनको सामान्य कारोबार भए पनि अन्यन्त्र बजार सुनसान भएको बताए । ‘सुन पसल सुनसान छन्, केही पसलमा ग्राहक देखिएपनि अहिले किन्नेभन्दा बेच्न आउन थाले,’ उनले भने, ‘व्यवसायीको अवस्था नाजुक बनेको छ ।’ सोमानीका अनुसार चैत बिहेको सिजन नभएकाले पनि कारोबार कम भएको हो । ‘वैशाखलाई बिहेको सिजनका रुपमा लिइन्छ’ उनले भने ‘त्यसबेला सुन बिक्री हुने अपेक्षा गरिएको छ ।’

मूल्यमा देखिएको अनिश्चितताले सुनको अर्डर हुन नसकेको उनको भनाइ छ । ‘विगतमा बिहेको सिजन सुरु हुनुभन्दा १०/१५ दिन अगाडि नै गहनाको बुकिङ सुरु हुन्थ्यो, तर अहिले मूल्यकै कारण अर्डर आएको छैन, मूल्य घट्ने आश पनि हुन सक्छ’ उनले भने ।व्यवसायीका अनुसार अमेरिकाका दुई बैंक बन्द भएयता सुनमा लगानीकर्ताको विश्वास बढेको थियो । सुरक्षित लगानीको रुपमा रहेको सुनमा लगानी बढ्दा मूल्य पनि बढेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘विश्वमा आर्थिक मन्दीजस्तै देखिएको छ’ उनले भने ‘अन्तर्राष्ट्रिय बजारमा देखिएको आर्थिक अन्योलतासँगै सुनको मूल्य आकासिएको छ ।’ चैत ५ गते सुनको मूल्यले हालसम्मकै उच्च प्रतितोला १ लाख १० हजार रुपैयाँको रेकर्ड बनाएको छ । आज बिहीबार (चैत १६ गते) भने १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : चैत्र १६, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?