माथिल्लो सोलुखोलाको १९.८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जाेडिँदै

काठमाडौँ — बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले निर्माण गरेको सोलुखोला जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ । आयोजनाको १९.८ मेगावाट बिजुली शनिबारदेखि राष्ट्रिय प्रसारणमा जोडिने भएको छ । आयोजनाको सम्पूर्ण परीक्षण सकिएको र नेपाल विद्युत् प्राधिकरणको टोली शुक्रबार प्रसारण लाइन परीक्षणको लागि जाने तयारी गरेको बेनी हाइड्रोपावरका प्रबन्ध निर्देशक गणेश कार्कीले जानकारी दिए ।

माथिल्लो सोलुखोलाको १९.८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जाेडिँदै

प्राधिकरणको टोलीले परीक्षण गरेपछि राष्ट्रिय प्रसारणमा जोडिने उनको भनाइ छ । ‘प्राधिकरणको टोली शुक्रबार परीक्षणमा जाने र भ्याएसम्म शनिबार वा आइतबार राष्ट्रिय प्रसारणमा जोड्ने तयारी छ ’ कार्कीले भने । आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएपछि १४ दिन परीक्षण उत्पादन पश्चात व्यावसायिक उत्पादनमा जाने कार्कीले जानकारी दिए । कुल १९.८ मेगावाट जडित क्षमताको आयोजनामा तीनवटा युनिट छ । आयोजनादेखि सोलु करिडोरसम्म १२ किलोमिटरको १३२ केभीको प्रसारणलाइन समेत बनिसकेको छ ।

ताप्लेजुङको दूधकुण्ड नगरपालिका भएर बग्ने सोलुखोलामा आयोजना निर्माण भएको हो । २४०० मिटर सुरुङमार्ग निर्माण गरिएको छ । कोरोना संक्रमणका कारण काम प्रभावित हुँदा ढिला गरी आयोजना पूरा भएको हो । हेडवर्क्सको आउट लेटमा पहिरो जाँदा समेत केही ढिलाइ भएको थियो । सुरुमा २०७६ पुसबाट उत्पादन थाल्ने योजना थियो । त्यसपछि २०७७ पुससम्म समय थपियो । आयोजना निर्माण सुपर शेर्पा/वैभव जेभीले गरेको हो । ३ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ । यो नदी प्रवाही आयोजना हो ।आयोजनामा एनएमबी बैंकको अगुवाइमा चारवटा बैंकले ७० प्रतिशत लगानी गरेका छन् भने ३० प्रतिशत स्वःपुँजी रहेको छ ।


प्रकाशित : चैत्र १६, २०७९ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?