वार्षिक १ लाखसम्म कारोबार गर्ने मर्चेन्टलाई सरल केवाईसी लागू गर्न निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — वार्षिक एक लाख रुपैयाँसम्म कारोबार गर्ने मर्चेण्टलाई सरलिकृत ग्राहक पहिचान (सरल केवाईसी) लागू गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायकलाई राष्ट्र बैंकले परिपत्र जारी गर्दै मंगलबार उक्त निर्देशन दिएको हो । 

राष्ट्र बैंकको भुक्तानी विभागले परिपत्र जारी गरेर बैंक तथा वित्तीय संस्था बाहेकका संस्थालाई जारी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था परिमार्जन गर्दै नयाँ निर्देशन जारी गरेको हो ।

‘अनुमति प्राप्त संस्थाले सम्पत्ति शुद्धीकारण निवारण ऐन २०६४ को दफा ७ च तथा सम्पत्ति शुद्धीकरण नियमावली ०७३को नियम ९ बमोजिम वार्षिक एक लाख रुपयाँसम्मको कारोबार गर्ने मर्चेण्टलाई आवद्ध गर्दा सरलीकृत ग्राहक पहिचानको प्रक्रिया अबलम्बन गर्न सक्नेछन्,’ परिपत्रमा भनिएको छ, ‘सरलीकृत ग्राहक पहिचान र सोको सम्पुष्टि गर्दा राष्ट्र बैंकले तोकेको मापदण्ड भने पुरा गर्नुपर्नेछ ।’ राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन २०६४ र भुक्तानी तथा फर्स्यौट ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्देशन जारी गरेको हो ।

प्रकाशित : चैत्र १४, २०७९ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — अफगानिस्तानमा महिला शिक्षाको क्षेत्रमा अभियान चलाइरहेका एक अभियन्तालाई तालिबानी सरकारले पक्राउ गरेको छ । ३० वर्षीय मातिउल्लाह वेसालाई तालिबानी सरकारले पक्राउ गरेको हो ।

उनले केही समयदेखि अफगानिस्तानका ग्रामीण भेगमा पुगेर महिला शिक्षाका लागि अभियान चलाइरहेका छन् । उनी 'पेनपथ' नामक मानव अधिकार तथा महिला शिक्षा अभियान चलाइरहेको संस्थाका संस्थापक तथा अध्यक्षसमेत हुन् ।

अफगानिस्तानमा महिलाका साथै किशोरीहरूलाई समेत विश्वविद्यालय तथा विद्यालय प्रवेशमा निषेध गरिएको छ ।

गत फेब्रुअरीमा प्राध्यापक इस्माइल मशाललाई पनि राजधानी काबुलबाट पक्राउ गरिएको थियो । उनी शिक्षामा महिलाको अधिकारमाथि लगाइएको बन्देजको खरो आलोचकसमेत हुन् । उनलाई पुस्तक वितरण गर्दैगर्दा पक्राउ गरिएको थियो । उनलाई मार्च ५ मा छाडिएको थियो । त्यसयता उनी सार्वजनिक रूपमा केही बोलेका छैनन् ।

प्रकाशित : चैत्र १४, २०७९ १३:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×