किसानसित कृषि अनुदानमा कर्मचारीको मोलमोलाइ

गगनशिला खड्का

गुल्मी — जिल्लाको मुसिकोट नगरपालिका–६ मालारानीको सालिमे मौरीपालन समूहलाई स्मार्ट कृषि कार्यक्रमअन्तर्गत गत वर्ष ७ लाख रुपैयाँ बजेट पर्‍यो । कृषि ज्ञान केन्द्रसँग सम्झौता गरेर समूहले तोकिएको काम पूरा गर्‍यो । उक्त समूहले गत वर्ष विनियोजित रकमको भुक्तानी भने अहिलेसम्म पाएको छैन । ‘हामीले सम्झौताअनुसारको रकम अझै पाएका छैनौं,’ समूहका अध्यक्ष चुमा गुरुङले गुनासो पोखे, ‘ऋणको भारी बोकेर बस्नुपरिरहेको छ ।’

स्मार्ट कृषि कार्यक्रमअन्तर्गत नै बंगुरपालनका लागि २ लाख रुपैयाँ अनुदानका लागि सम्झौता गरेका छत्रकोट गाउँपालिका–१ का दानबहादुर पल्लीको पीडा पनि उस्तै छ । कार्यक्रमको प्रकृतिअनुसार २ लाख सरकारले दिने र २ लाख किसान आफैंले लगानी गर्नुपर्ने थियो । सम्झौताअनुसारको रकम पाइने आसमा उनले ऋण खोजेर खोर निर्माण गरे तर भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीले अहिलेसम्म भुक्तानी नदिएपछि उनी ४ लाख रुपैयाँ ऋणमा डुबे । ‘यस्तै हो भने यो कार्यक्रम अरू किसानका सामु लगेर थप डुबाउने काम बन्द गरौं,’ उनले भने ।

किसानले यो पीडा गत शुक्रबार कृषि ज्ञान केन्द्र गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको स्मार्ट कृषि गाउँ कार्यक्रमको समीक्षा गोष्ठीमा पोखेका हुन् । किसानलाई सरकारी राहत, अनुदान र सहजीकरण गर्नुपर्ने कृषि ज्ञान केन्द्र गुल्मी र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले नै किसानलाई पीडा दिएको उनीहरूको गुनासो छ । स्मार्ट कृषि कार्यक्रम तथा अन्य योजनाअन्तर्गत अनुदानका लागि सम्झौता गरेर किसानले काम सकेपछि भुक्तानी रोक्ने र दुःख दिने गरेको गुनासो धेरै किसानको रहेको जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले बताए । ‘भेटेरिनरी अस्पतालबाट गत वर्ष धेरै किसानको भुक्तानी नभएको गुनासो आएपछि मैले नै प्रक्रिया पुर्‍याएर किसानलाई भुक्तानी गर्नुस् भनेपछि गत माघमा भुक्तानी गरेको मलाई जानकारी दिइएको छ,’ उनले भने, ‘यस्तो आगामी दिनमा नदोहोरियोस् ।’

किसानले सम्झौताअनुसारको काम गरेपछि कृषि ज्ञान केन्द्रले अनुगमनका नाममा पुगेर विभिन्न मापदण्ड पुगेन भन्दै भुक्तानी दिन नमान्ने र बार्गेनिङसमेत गर्ने गरेको किसानको गुनासो छ ।

‘अनुगमनका नाममा आएर बार्गेनिङ गर्छन् अनि उनीहरूले तोकेको रकम दिन्छु भन्यो भने रकम भुक्तानी हुन्छ, नत्र हामीलाई ऋणको भारी बोकाइन्छ,’ इस्माका एक किसानले भने, ‘हामीले त काम नै गरियो, कसरी कमिसन दिन सकिन्छ र ?’

रकम रोक्ने मात्र होइन, किसानलाई वितरण गर्ने कृषि औजार र उपकरण पनि आवश्यकताभन्दा पहुँचका आधारमा वितरण गर्ने गरेको नेकपा (माओवादी केन्द्र) गुल्मीका सचिव अशोक थापाले बताए । ‘कृषि औजारहरू सोर्सफोर्सका भरमा वितरण हुन्छन् । तर आवश्यक परेर आवेदन दिने किसान वञ्चित भएको मैले देखेको छु,’ उनले भने, ‘कागजमा हिसाब चुस्तदुरुस्त पार्ने, कार्यक्रम आयोजना गरेर रहरलाग्दो प्रस्तुति दिने तर व्यवहारमा किसानलाई हैरान पार्ने काम भइरहेको छ ।’

प्रकाशित : चैत्र १४, २०७९ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्

नक्कली शरणार्थी बनाउने धन्दाको छानबिन होस्

सम्पादकीय

भुटानको शासकीय जालझेल र जाति–खेदाइको मारमा परेर भारतीय बाटो हुँदै नेपाल आइपुगेका भुटानी शरणार्थीको समाचार विस्तारै ओझेलमा पर्न थालेको छ । करिब तीन दशकअघि सुरु भएको भुटानी शरणार्थी समस्या सुल्झाउने उपायस्वरूप १ लाख १३ हजार जति शरणार्थी पुनर्बसोबासका क्रममा अमेरिका तथा युरोपका विभिन्न देश पुगिसकेका छन् । पूर्वी नेपालका झापा–मोरङमा अहिले पनि रहेका दुई शिविरमा बस्ने झन्डै ६ हजार ५ सय शरणार्थीको भने वर्तमान र भविष्य अन्योलग्रस्त रहेकै बेला उनीहरूलाई सहयोग गर्ने राष्ट्रसंघीय निकाय तथा विदेशी दातृ संघसंस्थाहरू शिविर छाडेर हिँडिसकेका छन् ।

यसैबीच, एक प्रकारले सरोकार र सुनुवाइमा सीमान्तकृत तहमा पुगेका यिनै भुटानी शरणार्थीका नाममा भइरहेको मानवतस्करीसहितको चलखेल सतहमा आएको छ, जुन निकै गम्भीर छ ।

भुटानी शरणार्थीको स्थायी समाधानको उपाय खोज्दै गृह मन्त्रालयले २०७६ जेठमा गठन गरेको पछिल्लो प्रतिवेदनलाई आधार बनाएर एउटा गिरोहले ठूलो आर्थिक चलखेलसहित मानवतस्करीको प्रपञ्च तयार गरेको समाचार बाहिरिएको छ । सधैंको राजनीतिक अस्थिरता र अन्योलमाझ हरेक मुद्दामा ‘छिद्र खोज्ने’ समूहका निम्ति भुटानी शरणार्थीको समस्या सधैं चलखेलको विषय बन्दै आएको छ । गैरशरणार्थीलाई शरणार्थी बनाउने अर्थात् नक्कली शरणार्थी बनाएर बाहिर लैजाने वा राजनीतिक पहुँचका आडमा नक्कली सबुत–प्रमाण देखाएर अनेक तहमा धन्दा चलाउने यस्तो गिरोहका बारेमा राज्य संयन्त्र स्वयं पनि जानकार छ । भुटानी शरणार्थी समन्वयको केन्द्रमा रहेको झापा जिल्ला प्रशासन कार्यालयमा कहिले नक्कली ‘ट्राभल डकुमेन्ट’ त कहिले देखावटी शरणार्थी परिचय–पत्र पुष्टि गर्नुपर्ने अर्को जिम्मेवारी थपिएको छ ।

२०७६ जेठ ३० को गृहमन्त्रीस्तरीय निर्णयबाट पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन’ गठित कार्यदलले तोकिएको समयमा आफ्नो प्रतिवेदन बुझाएको थियो । तर, त्यो कार्यदल के–कुन प्रयोजनमा बनाइएको थियो अथवा यसमा कुनै ‘लुकेको नियत थियो कि’ भन्ने संशय बढाउने काम सरकार आफैंले गरेको छ । सार्वजनिक सरोकारको यो गम्भीर मुद्दालाई लिएर तीन वर्षअघि तयार प्रतिवेदनलाई किन गृह मन्त्रालयले ‘गोप्य’ भनेर लुकाएको हो ? र, फेरि लुकाइएकै प्रतिवेदनको प्रतिमा पनि के–कसरी र कुन छिद्रबाट एउटा गिरोहले नक्कली अनुसूची थप्न सकेको हो ? सम्बन्धित निकायबाट यी प्रश्नको जवाफ आउन जरुरी छ ।

यस सन्दर्भमा, भुटानी शरणार्थी समस्याको समाधानसँगै यो प्रतिवेदन बनाइनु तथा एकाएक लुकाइनु र यसको सूचीमा थपघट गरिनुको कारणबारे छुट्टै अनुसन्धान गर्नुपर्ने देखिन्छ । यही प्रतिवेदनका आधारलाई टेकेर ८ सयभन्दा बढी नेपालीलाई भुटानी शरणार्थी बनाउँदै अमेरिका पुर्‍याउन उद्यत गिरोहका सदस्यहरूको कांग्रेस, एमाले र माओवादी केन्द्रसहितका दलीय नेताहरूसँगको सम्बन्ध तथा गृह मन्त्रालयकै उच्चपदस्थ कर्मचारीहरूसँगको उठबसका प्रमाणहरू सतहमा देखिएका छन् । यसको अर्थ हो— यो त्यत्तिकै सजिलै बनेको ‘सञ्जाल’ होइन । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसमक्ष आएका पीडितको उजुरी र यो गिरोहको सम्पर्क–सञ्जाललाई हेर्दा यो मामिला निकै डरलाग्दो देखिन्छ । एउटा कानुनी राज्यमा कुनै गिरोहले लगातार चार–पाँच वर्षसम्म निर्बाध चलाएको यो धन्दाले हाम्रो राज्य संयन्त्रमा रहेको भ्वाङ पनि नराम्ररी देखाएको छ ।

पन्थी–कार्यदलले दिएको सुझावमा ‘छुट दर्ता भएको भन्दै बारम्बार शरणार्थी दर्ता गर्नका लागि निवेदन दिने प्रवृत्तिले यो समस्यालाई बल्झाइरहने हुँदा अब उप्रान्त दर्ता प्रक्रिया मात्र नभई शिविरको धारणा र अस्तित्वलाई नै हटाउन आवश्यक देखिन्छ’ भनिएको छ । प्रतिवेदनको अन्तर्य र सुझावमाथि फेरि अर्को उपसमितिले छानबिन गरिरहेको सन्दर्भमा उक्त कार्यदलको प्रतिवेदनलाई यत्तिकै कार्यान्वयन गर्ने स्थिति अब देखिँदैन । तर, गिरोहको सञ्जालभित्र समेत यो प्रतिवेदन मुछिएपछि अब यसमा जोडिएका सबै सरकारी संयन्त्र, पदाधिकारी र जिल्लादेखि केन्द्रसम्मका निकायमाथि आवश्यक छानबिन जरुरी देखिन्छ ।

भुल्न नहुने पक्ष, यो गोलचक्करको स्थितिमाझ बेल्डाँगी र पथरी शिविरमा रहेका र यसअघि प्रमाणित भइसकेका आधिकारिक भुटानी शरणार्थीले परिचय–पत्र तथा उचित मानवोचित सेवा पाउने अधिकारमा भने कटौती गरिनु हुन्न । अन्यथा राज्य संयन्त्रको सधैंको तरल अवस्थाका माझ धमिलो पानीमा माछा मार्ने गिरोह फस्टाइरहने र शरणार्थी वा अन्य सरोकारका समस्याको कहिल्यै सम्बोधन नहुने दुःस्थिति निरन्तर रहनेछ ।

सम्बन्धित समाचारहरू :

प्रकाशित : चैत्र १४, २०७९ ०७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×