काममा फर्किए आईसीपी वीरगन्जका कर्मचारी

शंकर आचार्य

पर्सा — तीन सुत्रीय माग राखी आइतबार बिहानैदेखि हड्तालमा उत्रिएका वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी)मा कार्यरत नेपाल इन्टर मोडल यातायात विकास समितिका करार कर्मचारी काममा फर्किएका छन् । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलको उपस्थितिमा कर्मचारीसँग भएको पहिलो चरणको छलफलपछि काममा फर्किएका हुन् । उनीहरु आइतबार साँझबाट नै काममा फर्किएका हुन् । 

समितिका कार्यकारी निर्देशक गजुरेलले भने, ‘आइतबार साँझ र सोमबार बिहान पनि आन्दोलनरत कर्मचारीसँग दुई चरणमा भएको छलफल सार्थक रह्यो, उनीहरु काममा फर्किसके ।’ उनका अनुसार झण्डै ५ वर्ष काम गरिसकेका समितिका करारका कर्मचारीलाई आगामी दिनमा पनि काममा निरन्तरता दिन आईसीपी सञ्चालनको ठेक्का पाएको कैलाश टर्मिनल्स जेभीको व्यवस्थापन सहमत भएको छ । कर्मचारीको माग बमोजिमा उपदान भने करारका कर्मचारीलाई दिन नमिल्ने उनले बताए । औषधोपचारको सुविधा नियमअनुसार कर्मचारीहरुले पाउने उनले बताए ।

चैत १८ देखि आईसीपी वीरगन्जको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रको कम्पनी कैलाश टर्मिनल्स जेभीले लिँदैछ । कैलाश टर्मिनल्स जेभीले ५ वर्षका लागि १ अर्ब ८० करोड ९० लाख रुपैयाँमा आईसीपी सञ्चालनको ठेक्का पाएको हो । आफू थप केही दिन वीरगन्जमै बसेर आईसीपी वीरगन्जको व्यवस्थापन हस्तान्तरण लगायतका प्रकृयामा सहजीकरण गर्ने गजुरेलले बताए । कर्मचारीको हड्तालका कारण मुलुकको प्रमुख स्थल भन्सार नाका आइतबार दिनभरजसो ठप्प रहृयो ।


प्रकाशित : चैत्र १३, २०७९ १८:१४
प्रतिक्रिया
पठाउनुहोस्

चैते छठ मनाइँदै

श्यामसुन्दर शशि

जनकपुर — चैते छठको तेस्रो दिन सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य प्रदान गरिएको छ । मंगलबार उदाउँदो सूर्यलाई अर्घ्य प्रदान गरी चारदिने छठ महापर्व सम्पन्न हुनेछ ।

छठ मान्न जनकुपरको गंगासागर र अंगराजसरमा श्रद्धालु भेला भएका थिए । दुवै पोखरीको डिललाई सिँगारिएको छ । छठ मान्नेहरुको सख्यामा निरन्तर वृद्धि हुँदै गएकाले विगत केही वर्षदेखि अंगराजसरमा पनि चैते छठ मान्न थालिएको हो ।

कात्तिक र चैतमा गरी वर्षमा दुई पटक छठ र दशैं मान्ने धार्मिक मान्यता छ । कात्तिकमा मनाइने छठलाई शारदीय छठ तथा ननरात्रा भनिन्छ भन्ने चैतमा मान्नेलाई वासन्ती छठ र नवरात्रा भनिन्छ ।

पर्वको पहिलो दिन शनिबार व्रतालु पवित्र जलाशयमा स्नान गरी अरवा—अरवाईन अर्थात् चोखो खानेकुरा मात्र खाएका थिए । आइतबार दिनभरि उपवास बसी साॅझ गुलियो पुरी,खीरलगायतका प्रसाद ग्रहण गरेका थिए । यस उपक्रमलाई स्थानीय भाषामा षडना भनिन्छ । षडनापछि निराहार व्रत बसेका व्रतालुले सोमबार अस्ताउँदो सूर्यलाई अर्घ्य प्रदान गरेका छन् ।

प्रकाशित : चैत्र १३, २०७९ १८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×