१७ अंक बढ्यो सेयर बजार

यी हुन् धेरै मूल्य बढेका १० कम्पनी 
कान्तिपुर संवाददाता

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्से १७.७० अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९ सय ६ अंकमा पुगेको छ । कुल १ अर्ब ३८ करोडको कारोबार भयो । १६७ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ४ को स्थिर रहृयो । समग्र बजार बढ्दा पनि अधिकांश लघुवित्त कम्पनीहरुको मूल्य घट्यो ।

बैंकिङ ३, विकास बैंक ७६, फाइनान्स ३२, होटल तथा पर्यटन ४७, जलविद्युत् ४३, जीवन बीमा १९४, उत्पादन ९९, निर्जीवन बीमा १२६, अन्य १४ र ब्यापार उपसमूह २६ अंक बढे । माइक्रोफाइनान्स उपसमूह भने १७ अंक घट्यो ।

सुपर मादी, एसियन हाइड्रो र कालिन्चोक दर्शनको मूल्य १० प्रतिशत बढ्यो । अजोड इन्स्योरेन्सको ८.३, लक्ष्मी लघुवित्तको ५.५, अपर सोलुको ५.२, ग्रीन डेभलपमेन्ट बैंकको ४.८, युनाइनेट मोदीको ४.८, बेस्ट फाइनान्सको ४.७ र तेह्रथुम पावरको मूल्य ४.५ प्रतिशत बढ्यो । नेसनल माइक्रोफाइनान्सको मूल्य १० प्रतिशत घट्यो । जल्पा सामुदायिकको ८.३ र जनउत्थान सामुदायिक लघुवित्तको मूल्य ६.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, जीवन विकास लघुवित्त, नबिल बैंक, एनआईसी एसिया बैंक र शिवश्री हाइड्रोपावर क्रमशः अगाडि रहे ।


प्रकाशित : चैत्र १३, २०७९ १५:४३
प्रतिक्रिया
पठाउनुहोस्

खालिस्तानी नेता अमृतपाल सिंह नेपालमा लुकेर बसेको भारतीय दूतावासको दाबी

कान्तिपुर संवाददाता

काठमाडौँ — खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह नेपालमा लुकेर बसेको काठमाडौंस्थित भारतीय दूतावासले दाबी गरेको छ । भारतीय सुरक्षा एजेन्सीको सर्वाधिक खोजीको सूचीमा रहेका सिंह पछिल्लो समय पञ्जाबबाट भागेर नेपाल आएको दूतावासको दाबी छ ।

शिखहरूका लागि पञ्जाबमा छुट्टै देश 'खालिस्तान' बनाउने अभियानमा रहेका सिंहलाई पक्राउ गर्ने भारतमा खोजी अभियान गरेपछि उनी लुक्दै आएका छन् ।

भारतीय दूतावासले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा पञ्जाबबाट फरार भएका सिंहलाई नेपाल हुँदै तेस्रो मुलुक यात्रा गर्न सक्ने भन्दै अनुमति नदिन आग्रह गरेको हो । पत्रमा सिंह नेपालमा लुकेर बसेको भन्दै नेपालबाट भाग्न खोजे पक्राउ गर्न आग्रह गरिएको छ ।

'सम्मानित मन्त्रालयलाई अमृतपाल सिंहलाई नेपाल हुँदै कुनै पनि तेस्रो मुलुकको यात्रा गर्ने अनुमति नदिन र नेपाल हुँदै भारतीय राहदानी वा नक्कली राहदानीमा भाग्न उनीले कोसिस गरे उनलाई पक्राउ गरिदिन अध्यागमन विभागलाई जानकारी गराइदिन हुन आग्रह गरिन्छ,' दूतावासले लेखेको पत्रमा भनिएको छ । भारतीय आग्रहपछि विमान कम्पनी र होटलसहित सम्बन्धित निकायहरुलाई उनको व्यक्तिगत विवरण दिइएको छ ।

पञ्जाब प्रहरीका साथै भारतीय केन्द्रीय जाँच एजेन्सीहरूले नेपालसँगको सीमामा अलर्ट जारी गरेको पनि भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । भारतीय अनलाइन मिन्टका अनुसार अन्तिम पटक मार्च २३ मा अमृतपाल सिंह उत्तर प्रदेशको लखिमपुर खिरीमा देखिएका थिए । भारतीय सशस्त्र सीमा बलले रुपैडिया सीमामा जाँच एजेन्सीहरू खटिइसकेको र अमृतपालको तस्बिर टाँसिएको जनाएको छ । केही भारतीय सञ्चारमाध्यमले सिंह नेपालको बाटो हुँदै थाइल्यान्ड जाने तयारीमा रहेको समेत दाबी गरेका छन् ।

सन् १९८० को दशकको अन्तिम र ९० को दशकको सुरुमा खालिस्तान पृथकतावादी आन्दोलन चरम रहेको थियो । भारतीय सुरक्षा निकायले दमन गरेपछि भारतभित्र उनीहरुको गतिविधि थिएन । विभिन्न देशमा भने पृथकतावादी अभियानका समर्थन रहेका थिए ।

३० वर्षीय सिंहले भारतभित्र खालिस्तानी पृथकतावादी अभियान पुन: जगाउने अभियान सुरु गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ । त्यसलगत्तै विभिन्न देशमा खलिस्तान समर्थकहरुको गतिविधि पनि बढेको छ । यसै साता बेलायतस्थित भारतीय दूतावासमा खालिस्तान समर्थकहरुले भारतीय झण्डा निकाले खालिस्तानको झण्डा फहराएका थिए ।

प्रकाशित : चैत्र १३, २०७९ १५:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×