सरकारले २२ अर्ब आन्तरिक ऋण उठाउँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले २२ अर्ब १० करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् २२ अर्ब १० करोड रुपैयाँ उठाउन लागेको हो । जसअनुसार १७ अर्ब १० करोड रुपैयाँ बराबरको परिपक्व अवधि पूरा भएको पुरानो ट्रेजरी बिलको नवीकरण रहेको छ भने बाँकी ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागिएको छ ।

ट्रेजरी बिलका लागि सोमबार बोलकबोल गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी (वितरण) गरिनेछ । सरकारले गत बुधबार पनि ट्रेजरी बिलमार्फत पौने २४ अर्ब रुपैयाँ आन्तरिक ऋण संकलन गरेको थियो । पछिल्लो पटकको बोलकबोलमा ९.५९ प्रतिशत भारित औसत ब्याजदर तय भएको छ । बैंकले सबैभन्दा बढी १०.७४ प्रतिशत र सबैभन्दा कम ९ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ । यो आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाउन लागेको हो । सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा गरेर उठाउन लागेको हो । सरकारले आर्थिक वर्षको पहिलो त्रैमासमा आन्तरिक ऋण उठाएको थिएन । दोस्रो त्रैमासबाट मात्र आन्तरिक ऋण उठाउन लागेको हो । जसअनुसार चौथो त्रैमासमा सरकारले १ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना राखेको छ ।

तेस्रो त्रैमासमा ट्रेजरी विलमार्फत् ६० अर्ब, विकास ऋणपत्र मार्फत् २५ अर्ब, नागरिक बचतपत्र मार्फत् २ अर्ब ५० करोड र वैदेशिक रोजगार बचतपत्र मार्फत ५० करोड गरेर कुल ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागिएको हो । ट्रेजरी विल र विकास ऋणपत्रको ब्याजदर बोलकबोलका आधारमा तय हुने राष्ट्र बैंकले बताएको छ ।

प्रकाशित : चैत्र १३, २०७९ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्

बुटवल पावर कम्पनीले विद्युत् महशुल दोब्बर बनाएपछि पाल्पाका उपभोक्ता आक्रोशित 

माधव अर्याल

पाल्पा — विद्युत् महशुल प्रतियुनिट ५ रुपैयाँ ८० पैसाबाट ११ रुपैयाँ बनाउने बुटवल पावर कम्पनी (बीपीसी) को निर्णयविरुद्ध उपभोक्ता आक्रोशित भएका छन् । अहिले तिर्दै आएको विद्यत् महशुल दोब्बर बनाइएपछि उपभोक्ता बीपीसीप्रति आक्रोशित भएका हुन् ।महशुल वृद्धि गर्ने कम्पनीको निर्णय विरुद्ध उपभोक्ता एकजुट भएका छन् ।

कम्पनीले विद्युत् नियमन आयोगमा ११ रुपैयाँ युनिट प्रस्ताव पेश गरेको छ । चैत १० गते काठमाडौंमा सार्वजनिक सुनुवाइ गरेपछि पाल्पा रम्भा गाउँपालिका र रामपुर नगरपालिका क्षेत्रका उपभोक्ताले असन्तुष्टि जनाएका छन् । ‘एक दुई रुपैयाँ होइन दोब्बर नै वृद्धि गर्नेगरी प्रस्ताव लगेको छ,’ रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले भने, ‘त्यसले उपभोक्ताको ढाड सेक्ने भएको छ ।’

नगर प्रमुख थापाले विज्ञप्ति नै निकालेर विद्युत् महशुल दोब्बर बनाउने कम्पनीको निर्णय स्वीकार्य नहुने बताएका छन् । स्थानीय सरकार, लाभग्राही सरोकारवालासँग कुनै किसिमको छलफल, अन्तर्क्रिया नगरी गरिएको विद्युत् महशुल वृद्धिप्रति नगरपालिका पूर्ण रुपमा असहमत रहेको उनले बताए । बीपीसीले बढेको मूल्य फिर्ता नलिए उपभोक्ता आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए । ‘नगरपालिकाले वडा–वडामा विद्युत् विस्तारको लागि झण्डै ६० लाख रुपैयाँको पोल खरिद गरी बुटवल पावर कम्पनीलाई सहयोग गरेको छ,’ नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । रामपुर नगरपालिकाको नगरभित्रका प्रायः सबै वडामा बुटवल पावर कम्पनीले सिधा विद्युत् वितरण गर्दै आएको छ ।

रामपुर नगरपालिकामा मात्र झण्डै ६ हजार घरपरिवारले बीपीसीको विद्युत् उपभोग गर्छन् । रम्भा गाउँपालिकाको वडा नम्बर १ हुँगी र वडा नम्बर २ फोक्सिङकोटमा बीपीसीको विद्युत् वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । रम्भा गाउँपालिकाको दुई वटै वडामा १ हजार ६ सय घरधुरी ग्राहक छन् । ग्रामीण भेगका उपभोक्ताले थेग्ने नसक्ने गरी बीपीसीले गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने उनले बताए । बुटवल पावर कम्पनीका पाल्पा र स्याङ्जामा गरी झण्डै ३९ हजार प्रत्येक्ष ग्राहक छन् । स्याङजाको आँधीखोलामा ड्याम बाँधेर गल्याङमा विद्युत् निकालिएको छ ।

प्रकाशित : चैत्र १३, २०७९ ११:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×