एप्पल प्रमुख टिम कुकले बेइजिङ पुगेर गरे चिनियाँ प्रविधिको प्रशंसा

एजेन्सी

काठमाडौँ — सन् २०१९ पछिको आफ्नो पहिलो चीन भ्रमणका लागि बेइजिङ आइपुगेका एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले शनिबार चीनको नविनतम प्रविधि र एप्पलसँग लामो समयदेखिको सहकार्यको प्रसंशा गरेका छन् । कुकले चीनको एक एप्पल स्टोर भ्रमण गरेका तस्बिरहरू अहिले चिनियाँ सामाजिक सञ्जालमा भाइरल भएका छन् । उनले आफैंले पनि चिनियाँ सामाजिक सञ्जाल विबोमा सेल्फी पोस्ट गरेका छन् ।

एप्पल प्रमुख टिम कुकले बेइजिङ पुगेर गरे चिनियाँ प्रविधिको प्रशंसा

गत वर्षको अन्त्यमा आफ्नो शून्य कोभिड नीति हटाएपछि आक्रामक रूपमा व्यवसायिक सामान्यीकरणको लागि जुटेको चीन सरकारद्वारा आयोजित 'चीन विकास मञ्च' नामक कार्यक्रममा सहभागी हुन केही अन्य व्यवसायिक नेतृत्वकर्तासँगै कुक बेइजिङ पुगेका हुन् ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकका प्रमुख शाउ झी चीउलाई अमेरिकी सांसदहरूले एक सुनुवाइका क्रममा घण्टौंसम्म प्रश्न सोधेर बयान लिएकै पृष्‍ठभूमिमा संसारकै मूल्यवान कम्पनीमध्ये एक एप्पलका प्रमुखको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पछिल्ला दिनमा चीन र अमेरिकाबीचको व्यापारिक र अन्य तनाव बढ्दै जाँदा आफ्ना ९० प्रतिशत उत्पादन (९८ प्रतिशत आइफोन) चिनियाँ उत्पादकहरूबाट बनाउने गरेको एप्पलले भारत लगायत अन्य देशलाई उत्पादन गर्ने स्थानको विकल्पको रूपमा हेर्न सुरू गरेको चर्चा चल्दै आएको छ । एप्पलका उत्पादन निर्माण गर्ने मात्रै नभएर चीन एप्पलको लागि एक आकर्षक बजार पनि हो । एप्पलले अमेरिकी क्षेत्र र युरोपेली क्षेत्रपछि सबैभन्दा धेरै आम्दानी चीनबाट गर्छ । गत वर्ष यो आम्दानी ७५ अर्ब अमेरिकी डलरको हाराहारीमा थियो ।

एप्पल र चीनको विकास सँगसँगैजसो भएको भन्दै आफ्नो सम्बोधनका क्रममा कुकले चीनसँगको आफ्नो कम्पनीको ३० वर्ष लामो सम्बन्ध स्मरण गरेका थिए । चीनलाई एक प्रविधि केन्द्र र बलियो बजारका रूपमा उनले प्रसंशा पनि गरेका थिए । 'चीनमा हाम्रो आपूर्तिको अत्यन्तै ठूलो हिस्सा तयार हुन्छ र यहाँ हाम्रो अत्यन्तै द्रुत गतिमा प्रगति गरिरहेको एपस्टोर पनि छ,' कुकलाई उदृत गर्दै चिनियाँ सरकारी सञ्चार माध्यमले लेखेका छन्, 'नविनतम प्रविधिको विकासमा चीन अत्यन्तै तीब्र रूपले अघि बढेको छ र यो अझै बढ्नेछ भन्ने मलाई लाग्छ ।'

चिनियाँ समाचार माध्यमहरूले दुई चर्चित व्यापारिक प्रमुखहरूको भ्रमणको तुलना गर्ने अवसरको रूपमा यो भ्रमणलाई प्रयोग गरेका छन् । 'चिनियाँ कम्पनीका प्रमुखलाई वासिङ्टनमा घण्टौं केरकार गरिएको समयमा एप्पलका प्रमुखले चीनमा न्यानो स्वागत र आफ्नो बजार प्रवर्द्धनको अवसर पाएका छन्,' चीन सरकारको स्वामित्वमा रहेको ग्लोबल टाइम्सले लेखेको छ, 'यसले के देखाउँछ भने खुला र उदार व्यापारको प्रवर्द्धन गर्ने देश चीन पनि हो ।'

विश्लेषकहरू कुकको यो उदारताको पछाडि एप्पलको आफ्नै बाध्यता रहेको बताउँछन् । वर्ष २०२२ को अन्त्यतिर चीनबाहिर ५ प्रतिशत हाराहारीमा रहेको एप्पलको उत्पादन क्षमता अहिलेकै गतिमा बढाए वर्ष २०२५ मा बल्ल २५ प्रतिशत हाराहारीमा पुग्ने अनुमान गरिएको छ । झन्डै २० वर्ष लगाएर चीनमा अहिलेको उत्पादन प्रविधि र पूर्वाधार निर्माण गरेको एप्पललाई आफ्ना बहुसंख्यक उत्पादनलाई भारतसमेत अन्य भागमा सार्न पनि लगभग त्यति नै समय लाग्नसक्ने अनुमान ब्लुमबर्ग इन्टेलिजेन्सले उल्लेख गरेको छ । भारतका विभिन्न भागमा ताइवानी कम्पनी तथा एप्पल साझेदार फक्सकनले उत्पादन प्लान्ट निर्माण गर्न सुरू गरेको समाचारहरू हालसालै सार्वजनिक भएका थिए ।

एप्पल र अमेरिकाका लागि व्यवसायिक सन्तुलन त्यति सहज नहुने बजार विश्लेषकहरूको अनुमान छ । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार अमेरिका र चीनबीचको द्विदेशीय वस्तु व्यापार बढेर लगभग ७०० अर्ब डलर हाराहारीमा पुगेको छ । त्यसमध्ये अमेरिकाले चीनमा गर्ने निर्यात १५५ अर्ब अमेरिकी डलर र चीनबाट गर्ने आयात ५३७ अर्ब डलरको हाराहारीमा छ । एप्पलले एक्लै चीनमा वार्षिक लगभग ४६ लाख कामको अवसर सिर्जना गर्ने गरेको देखिएको छ । केही समयअघि कुकले भारतलाई 'एकदमै उत्साहपूर्ण बजार' र 'आगामी प्रमुख केन्द्र' भन्दै भारतको बजार र उत्पादन क्षमता दुबैमा आफ्नो जोड रहेको जनाउ दिएका थिए ।

प्रकाशित : चैत्र १३, २०७९ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?