कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

कालीमार्सीको बीउ भिजाउँदै किसान

तुलाराम पाण्डे

कालीकोट — हिमा गाउँपालिका–५ जुम्लाका नमराज रोकाया गत मंगलबार १ सय ४० भेडाको बथानसहित घर फर्किन दैलेखको भेल्तडीमा भेटिए । उनीसहितका १३ जनाको समूह गत मंसिर ७ मा जाडो सुरु भएपछि जुम्लाबाट तातो ठाउँको खोजीमा अछामको जैगढ झरेका थिए ।

कालीमार्सीको बीउ भिजाउँदै किसान

भेडासँगै कुकुर र जहान परिवार लिएर कर्णाली राजमार्ग हुँदै फर्किंदै गरेका रोकाया चैत १२ मा बीउ रुझाउने (भिजाउने) दिन नजिकिएकाले घर जान हतार गर्दै थिए । ‘बीउ रुझाउने दिनसम्म त घर पुग्नैपर्छ,’ उनले भने, ‘अघिपछि जता गए पनि चैत १२ मा बीउ रुझाउने दिनसम्म घर नपुगे हरिखबरी (खोजखबर) गर्ने चलन छ ।’

हिउँदको सिजनमा जुम्लामा जाडो अत्यधिक हुने भएकाले न्यानो ठाउँ र भेडाका लागि चरनको खोजीमा अछाम, दैलेख, डोटी, कैलालीलगायतका ठाउँमा झर्ने भेडापालक किसान चैत लागेपछि फर्किने परम्परा जस्तै छ । ‘चिसो (जाडो) पनि बाइगो (भाग्यो), ताता दिन लाइगयो (गर्मी सुरु भयो), अब त फर्किनै पर्‍यो,’ पिठ्युँमा डोको र काखीमा १८ दिनको भेडाको पाठो च्यापेकी नन्दकली रोकायाले स्थानीय लवजमा भनिन्, ‘केटाकेटी (बच्चाबच्ची) पनि स्कुल भर्ना गर्ने दिन आइगयो ।’ उनको समूहका सबैजसोले हिउँदमा भेडाबाख्राको गुवालो (गोठालो) सँगै बुनेका राडीपाखी पनि सँगै ल्याएका थिए ।

‘केही त उतै (अछामको मंगलसेन, कमलबजार) बेच्यो,’ पाखी बुन्न सिपालु धनवीर शाहीले भने, ‘बिक्री नभएका मात्र ल्याएका हौं ।’ आफूले मात्र ३५ हजारको राडीपाखी बेचेको उनले जनाए । जुम्लाका हिमा मात्र नभएर सिंजा, कनकासुन्दरी, तिला तातोपानी, गुठीचौर पातारासी, कालीकोटको चिल्खाया, रुरु, रतडा, मुगुको सोरु, खत्याड, रारा छायानाथलगायत ठाउँबाट जाडो छल्न औल झरेका भेडी गोठाला लेक उक्लिन थालेका छन् । जाडो कम हुने कालीकोटका बेंसीतिरका खर्कबाट किसानले गाईभैंसी, भेडा, बाख्रा पनि लेकतिर सार्न थालेका छन् ।

चैतमा धानको बीउ रुझाएर सुरु हुने धानको मौसमी पात्रो कात्तिक पहिलो साता भित्र्याएपछि अन्त्य हुन्छ । मंसिरमा यहाँका स्थानीय ज्याला–मजदुरी, व्यापार, कृषि कामका लागि घर छाडेर अन्यत्र जाने चलन रहेको नागरिक समाज जुम्लाका अगुवा धनबहादुर गौतमले बताए । साविकको कर्णालीका जुम्ला, कालीकोट, मुगु र हुम्लाका लेकाली भेगमा चैत १२ मा धानको बीउ रुझाउने परम्परा छ । मार्सी धानको लेभलिङ र प्याकेजिङका लागि मूल्यवान लोगो दिने काम भइरहेको कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए ।

प्रकाशित : चैत्र १३, २०७९ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?