कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कर्मचारी हड्तालले मुलुकको प्रमुख भन्सार नाकाको काम ठप्प, राजस्व प्रभावित

शंकर आचार्य

पर्सा — वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी)मा कार्यरत नेपाल इन्टर मोडल यातायात विकास समितिका करार कर्मचारी हड्तालमा उत्रिएका छन् । कामकाज ठप्प पारेर उनीहरु हड्तालमा उत्रिँदा भारतबाट भित्रिने र नेपालबाट बाहिरिने मालबाहक सवारी साधन ठूलो संख्यामा रोकिएका छन् ।

कर्मचारी हड्तालले मुलुकको प्रमुख भन्सार नाकाको काम ठप्प, राजस्व प्रभावित

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले कर्मचारी हड्तालले भन्सारको कामकाज प्रभावित भएको बताए । ‘हड्तालले कामकाज मात्रै नभई राजस्व असूली समेत प्रभावित भएको छ’ उनले भने । वीरगन्जको आईसीपी सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी निजी क्षेत्रको कम्पनी कैलाश टर्मिनल्सलाई दिन लागिएकोमा कर्मचारीले रोजगारीको सुनिश्चितता तथा सेवा सुविधाको माग गर्दै हड्तालमा उत्रिएका हुन् । समिति अन्तर्गतको आईसीपी वीरगन्जमा कार्यरत ३४ जना कर्मचारी तथा ४० सुरक्षा गार्डले एकसाथ काम ठप्प पारेका हुन् । करारका कर्मचारीले ३ सूत्रीय माग अघि सारेका छन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिबाट बर्सेनि १ महिना बराबरको प्रोत्साहन भत्ता दिनुपर्ने, समिति र टर्मिनल्स व्यवस्थापक कम्पनीबीच करार गर्दा अन्य शर्तहरुजस्तै आईसीपीमा कार्यरत सबै कर्मचारीलाई रोजगारी सुरक्षित गर्न पहिलो चरणमा नै न्यूनतम १ वर्ष करार सम्झौता गरिनुपर्ने कर्मचारीको माग छ । हाल नेपाल सरकारबाट लागू भई खाईपाई आएको सेवा सुविधा तथा तलब भत्ता नघटने गरी ठेक्का लिने कम्पनीसँग सम्झौता गराइनुपर्ने उनीहरुको माग छ ।

वीरगन्जस्थित इन्टर मोडल यातायात विकास समिति कार्यालयका प्रमुख कमल ज्ञवालीले आफूले समिति केन्द्रीय कार्यालयमा करारका कर्मचारीहरुको मागबारे समितिका कार्यकारी निर्देशक आशिष गजुरेल लगायत सरोकारवालालाई जानकारी गराइसकेको बताए । उनले समस्या समाधान तथा आन्दोनलमा उत्रिएका कर्मचारीहरुसँग छलफल हुने पनि बताए । चैत १८ देखि वीरगन्ज आईसीपी सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी लिन लागेको समिति र कैलाश टर्मिनल्स जेभीका अध्यक्ष माधव प्रसाद बरालले कम्पनीले हाल कार्यरत कर्मचारी तथा सुरक्षा गार्डलाई हटाउनेबारे केही पनि नबोलेकोमा उनीहरुले अनावश्यक काम ठप्प पारेको बताए ।

‘हामीले कुनै पनि कर्मचारी हटाउने वा नयाँराख्ने बिषयमा बोलेकै छैनौं,’ उनले भने, ‘हामीलाई आफै अनुभवी, मेहनती र इमान्दार कर्मचारीको आवश्यकता छ, सक्दो हालकै कर्मचारीलाई हामी निरन्तरता दिने मनस्थितिमा छौं ।’ कैलाश टर्मिनल्स जेभीले ५ वर्षका लागि १ अर्ब ८० करोड ९० लाख १ हजार २ सय रुपैयाँमा आईसीपी सञ्चालनको ठेक्का पाएको छ ।


प्रकाशित : चैत्र १२, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?