ठेक्का भएको २२ महिना बित्दा फास्ट ट्रयाकमा १.३३ किलोमिटर मात्रै सुरुङ खनियो 

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा ठेक्का भएको २२ महिनामा १.३३८ किलोमिटर मात्र सुरुङ खनिएको छ । पहिलो खण्डअन्तर्गत छोक्रेडाँडादेखि धेद्रेसम्म ३.३५५ किलोमिट सुरुङमध्ये ६७६ मिटर सुरुङ खनिएको छ । दोस्रो खण्ड अन्तर्गत ३.०३ किलोमिटर दूरी रहेको धेद्रेदेखि लेनडाँडासम्म ६६२ मिटर सुरुङ खनिएको नेपाली सेनाले जनाएको छ ।

सैनिक प्रवक्ता एवम् सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार फागुनसम्म पहिलो खण्डमा ६६० मिटर सुरुङ खन्ने लक्ष्य थियो । ‘यो खण्डमा लक्ष्य भन्दा बढी नै सुरुङ खन्ने काम भएको छ,’ भण्डारीले भने, ‘समग्रमा सुरुङ निर्माणको कामले गति लिँदै गएको छ ।’ यो आयोजनाकै सबैभन्दा लामो सुरुङ रहेको उनको भनाइ छ । ‘दोस्रो खण्डमा फागुनसम्म ८ सय मिटर सुरुङ खन्ने लक्ष्य थियो, तर पोर्टल (भित्र पस्ने द्वार) बनाउन समय लागेकाले प्रगति कम भएको हो,’ प्रवक्ता भण्डारीले भने, ‘यसमा पनि विस्तारै प्रगति देखिँदै जाने छ ।’

दुवै प्याकेजका निर्माणको ठेक्का चाइनिज कम्पनीले लिएका छन् । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले छोक्रेडाँडादेखि धेद्रेसम्म सुरुङ निर्माणको ठेक्का पाएको हो । जसको ठेक्का रकम २१ अर्ब ६१ करोड रुपैयाँ छ  । चाइनिज निर्माण कम्पनी पोली च्याङ्दाले धेद्रेदेखि लेनडाँडासम्म सुरुङ निर्माण गर्ने ठेक्का पाएको हो । जुन खण्डको ठेक्का रकम २८ अर्ब ५३ करोड रुपैयाँ छ । दुवैको ठेक्का २०७८ वैशाख ३१ गते तीन वर्षभित्र सक्नेगरी भएको हो । अबको १४ महिना भित्रमा ठेक्का लिने कम्पनीले सुरुङ निर्माणको काम सकिसक्नुपर्ने छ ।

सुरुङ खन्नु अघि तयारी गर्नुपर्ने भएकाले केही ढिलाइ भएको प्रवक्ता भण्डारीको भनाइ छ । ‘समग्र आयोजनाको भौतिक प्रगति २१.१८ प्रतिशत छ, तर सुरुङ निर्माणमा २०.३८ प्रतिशत प्रगति छ,’ उनले भने, ‘अहिले ठेक्का सम्झौता भएको खण्डहरुमा रफ्तारमा काम भइरहेको छ ।’ समग्र आयोजनाको निर्माण समयावधि २०८१ मंसिर मसान्तसम्म मात्र छ । अझै केही खण्डमा ठेक्का व्यवस्थापन हुन नसकेकाले उक्त समय भित्र निर्माणको काम सकिने अवस्था देखिँदैन ।


प्रकाशित : चैत्र १२, २०७९ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

सम्हाल्न सक्ने मान्छेलाई अर्थमन्त्री बनाउनुस् भनेको छु : अध्यक्ष नेपाल

कान्तिपुर संवाददाता

काठमाडौँ — एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको बिग्रिँदो अवस्थालाई सम्हाल्न सक्ने व्यक्तिहरूलाई मन्त्री बनाउन सुझाव दिएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले मन्त्रिपरिषद् विस्तारमा आफूहरूले कुनै अड्को नथापेको दाबी गरे ।

‘मन्त्रिपरिषद् विस्तारमा हामीले कुनै अड्को थापेको छैन । हामीले गृह वा अर्थ वा ठुलै भाग चाहिन्छ पनि भनेको छैन । मैले कहिल्यै पनि त्यस्तो शब्द बोलेको छैन,’ उनले अघि भने, ‘मैले भनेको के हो भने अहिलेको जुन बिग्रिँदो अवस्था छ त्यसलाई सुल्झाउने सक्ने, अर्थमन्त्रीको कुरा गर्नुहुन्छ भने बिग्रिएको अर्थतन्त्र सम्हाल्न सक्ने, सबै कुरा बुझेको व्यक्तिलाई अर्थ मन्त्रालय दिऔँ भनेको छु । काबिल मान्छेको खोजी हुनुपर्छ भनेको छु ।’

उनले मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनभित्रका दलहरूसँग छलफल गरिरहेको बताए । ‘अहिले हामी सरकारको साझा न्यूनतम कार्यक्रमबारे छलफलमा छौँ, पहिले त्यो तयार हुन्छ । हामी त्यहाँ हस्ताक्षर गर्छौ,’ उनले भने, ‘त्यही वैचारिक एकता र मान्यताका आधारमा नयाँ सरकारले पूर्ण आकार पाउने हो ।’

उनकाअनुसार न्यूनतम साझा कार्यक्रम तय भइसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । ‘अहिले प्रधानमन्त्रीजीले प्रत्येक पार्टीसँग छुट्टा–छुट्टै छलफल गरिरहनुभएको छ । न्यूनतम साझा कार्यक्रम र मन्त्रालयको बाँडफाँडको विषयमा त्यसपछि मात्रै गठबन्धनमा छलफल हुन्छ,’ उनले भने ।

प्रकाशित : चैत्र १२, २०७९ १७:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×